आठ वाम दलबीच १८ बुँदे सहमति, कात्तिक १९ मा पार्टी एकता घोषणा

275 पटक पढिएको

१६ कार्तिक २०८२, आईतवार १९:५९ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १६ कात्तिक – नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वामपन्थी दलबीच १८ बुँदे सहमति भएको छ । अब ती दलहरूले आउँदो कात्तिक १९ गते औपचारिक रूपमा पार्टी एकता घोषणा गर्ने भएका छन् ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित आठ दलका शीर्ष नेताहरूले आइतबार काठमाडौंमा सहमति पत्रमा हस्ताक्षर गरेका हुन् ।

सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनता सुदृढीकरण, सुशासन, सामाजिक न्याय, आर्थिक तथा सामाजिक रूपान्तरण र अन्ततः समाजवादी क्रान्तिको लक्ष्य प्राप्ति गर्ने उद्देश्य राखिएको छ ।

एकतामा सहभागी दलहरूमा नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी) रहेका छन् ।

स्रोतका अनुसार, एकता घोषणा समारोह काठमाडौंमा आयोजना गरिने तयारी भइरहेको छ । सो अवसरमा नयाँ पार्टीको नाम, झण्डा र संगठनात्मक ढाँचा पनि सार्वजनिक गरिनेछ ।

दलहरूले हालको राजनीतिक अस्थिरता अन्त्य गरी वाम एकता मार्फत वैकल्पिक राजनीतिक धारा निर्माण गर्ने प्रतिबद्धता जनाएको सहमति पत्रमा उल्लेख गरिएको छ ।