नेकपा एमाले धादिङको सचिवालय बैठक सम्पन्न,(एकीकृत समाजवादी)मा गएकाहरूलाई “घर फर्कन” आव्हान

417 पटक पढिएको

१८ कार्तिक २०८२, मंगलवार २०:११ सम्पादक: धादिङ न्यूज

धादिङ । नेकपा (एमाले) धादिङले महत्वपूर्ण निर्णयहरू गर्दै सचिवालय बैठक सम्पन्न गरेको छ । बैठकले पार्टी संगठन सुदृढीकरण, एकता विस्तार र आगामी राजनीतिक कार्यक्रमहरूका लागि ठोस कार्ययोजना तय गरेको छ ।

सचिवालय बैठकले कार्तिक २२ गते जिल्लाका १०४ वटै वडामा बैठक तथा भेला सम्पन्न गर्ने, २५ गते जिल्लाका १३ वटै स्थानीय तहमा जनसभा आयोजना गर्ने र २९ गते जिल्ला सदरमुकाममा भव्य जनप्रदर्शन गर्ने निर्णय गरिएको छ ।

यसैक्रममा, एमाले धादिङले नेकपा (एकीकृत समाजवादी)मा गएका कार्यकर्ताहरूलाई “घर फर्कन” आव्हान गरेको छ । पार्टीका नेताहरूले भनेका छन्

“तपाईंहरूको रगत, पसिना र उर्जाशील समय खर्च गरेर निर्माण गरिएको गौरवशाली पार्टी नेकपा (एमाले)मा गर्वका साथ शिर ठाडो बनाएर फर्किनुहोस् । पार्टीले तपाईंहरूको योग्यता, क्षमता र ऐतिहासिक योगदानका आधारमा न्यायोचित जिम्मेवारी प्रदान गर्नेछ ।”

बैठकले समाजवादीबाट फर्कने कार्यकर्ताहरूलाई सम्मानका साथ स्वागत गर्ने र आगामी महाधिवेशनको तयारीलाई गति दिने निर्णय समेत गरेको छ ।

सचिवालय बैठकले केही समय अघि एकीकृत समाजवादी छाडेर एमालेमा फर्किएका धुवाकाेटका  अब्जनाथ सापकोटा र चैनपुरका हेमराज छत्कुलीलाई   जिल्ला कमिटीमा मनाेनित गरेकाे नेकपा एमाले जिल्ला उपसचिव उर्मिला रेग्मीले जानकारी दिनुभयो ।