आज गणेशमान सिंहको १११औँ जन्मजयन्ती मनाइँदै

256 पटक पढिएको

२४ कार्तिक २०८२, सोमबार ०७:१९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ । विसं २०४६ को जनआन्दोलनका सर्वोच्च कमाण्डर तथा नेपाली लोकतान्त्रिक आन्दोलनका मुख्य अगुवा गणेशमान सिंहको १११औँ जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। नेपाली राजनीतिमा त्याग, साहस र निष्ठाको प्रतिमूर्तिका रूपमा चिनिने सिंह जनआन्दोलनको सफलतापछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न गरेको प्रस्ताव अस्वीकार गर्दै आफ्ना सहयात्री नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेका कारण पनि विशिष्ट व्यक्तित्वका रूपमा स्थापित भएका छन्।

विसं १९७२ कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मिएका सिंह विसं २०५४ असोज २ गते निधन भएका हुन्। खानदानी परिवारमा जन्मिए पनि उनले जनताका अधिकारका लागि कठोर संघर्ष गरेको इतिहास छ। विसं १९९७ मा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्मा सक्रिय सदस्य बनेर उनले राणा शासनविरुद्धको अभियानमा आफूलाई पूर्ण रूपले समर्पित गरेका थिए। राणा शासनविरुद्धको अभियान तीव्र भएपछि उनीसहितका नेताहरूलाई तत्कालीन सरकारले जेल हाल्यो। भद्रगोल जेल फोरेर भाग्न सफल भएका सिंह भारत पुगेपछि बिपी कोइरालासँग राजनीतिक समन्वय विस्तार गर्दै पुनः सशक्त रूपले राजनीतिमा सक्रिय भएका थिए।

विसं २००३ मा स्थापित नेपाली राष्ट्रिय कांग्रेसलाई मजबुत बनाउने काममा उनले उल्लेखनीय भूमिका खेले। विसं २००७ को क्रान्तिमा वीरगञ्ज मोर्चामा सशस्त्र संघर्षमा उत्रिएका सिंह प्रजातन्त्र स्थापनादेखि पुनर्बहालीसम्म निरन्तर सक्रिय रहे। सैद्धान्तिक रूपमा बिपी कोइरालाका अनुयायी मानिने सिंह नेपाली कांग्रेसलाई लोकप्रिय र जनमुखी बनाउन निरन्तर लागिपरे। विसं २०१५ को पहिलो आमनिर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री बनेका उनले विसं २०१७ मा प्रजातन्त्र अपहरणपछि आठ वर्षसम्म सिंहदरबार र सुन्दरीजल बन्दीगृहमै जीवन बिताए।

विसं २०२५ मा जेलमुक्त भएपछि बिपीसँगै भारत निर्वासन गएका सिंहले प्रवासमै राजनीतिक संगठन विस्तारका गतिविधि अघि बढाए। विसं २०३३ मा राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिँदै स्वदेश फर्किएका उनी पञ्चायती व्यवस्थाविरुद्ध पुनः सक्रिय भए। बिपीसँगै उठाइएका आठवटा मुद्दामा विशेष अदालतले उनीहरूलाई सफाइ दिएको थियो। त्यसपछि पनि नेपालमा भएका आन्दोलन, विशेषगरी विसं २०३६ को विद्यार्थी आन्दोलन र जनमत सङ्ग्रहमा सिंहको नेतृत्वदायी भूमिका रह्यो।

बिपी कोइरालाको निधनपछि कांग्रेसभित्र सर्वोच्च नेतृत्व सम्हाल्न पुगेका सिंहले विसं २०४२ को सत्याग्रह आन्दोलनको नेतृत्व गरे। विसं २०४६ को जनआन्दोलनमा उनले कम्युनिष्ट दलहरूसँग सहकार्य गर्दै पञ्चायती व्यवस्थाविरुद्ध सशक्त संघर्ष गरेका थिए। उनी सो आन्दोलनका सर्वोच्च कमाण्डरका रूपमा जनतामाझ अत्यन्त प्रिय बने। उनी २०१७ पुस १ गतेको कूपछि २०२५ सम्म निरन्तर बन्दी बनाइए। त्यसपछि भारत निर्वासनमा बसेका नेता बिपीसँगै विसं २०३३ पुस १६ गते स्वदेश फर्किए तर विमानस्थलमै फेरि पक्राउ गरी सुन्दरीजलमा दोस्रोपटक थुनियो। विसं २०६१ भदौ २४ मा त्यही सुन्दरीजल बन्दीगृहलाई बिपी संग्रहालयमा रूपान्तरण गरिएको हो।

गणेशमान सिंहको जन्मजयन्तीको अवसरमा नेपाली कांग्रेस र यसको भ्रातृ तथा शुभेच्छुक संगठनहरूले आज राजधानी काठमाडौँसहित देशभर विभिन्न श्रद्धाञ्जली कार्यक्रम, स्मृति सभा र सम्मान कार्यक्रम आयोजना गर्ने जनाएको छ।