दानबहादुर कार्की ३३ औँ प्रहरी महानिरीक्षक नियुक्त

327 पटक पढिएको

२४ कार्तिक २०८२, सोमबार २०:१५ सम्पादक: धादिङ न्यूज

 

काठमाडौं । नेपाल प्रहरीको ३३ औँ महानिरीक्षकमा दानबहादुर कार्की नियुक्त भएका छन्। प्रधानमन्त्री सुशीला कार्कीको ठाडो प्रस्तावमा बसेको सोमबारको मन्त्रिपरिषद् बैठकले कात्तिक २७ गतेदेखि लागू हुने गरी कार्कीलाई महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो।

महानिरीक्षकका लागि पहिलो दाबेदार रहेका कार्की २०२९ साउन १५ गते गुल्मीमा जन्मिएका हुन्। उनले २०५४ चैत १८ मा निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट प्रहरी सेवा प्रवेश गरेका थिए।

प्रहरी सेवाको क्रममा कार्कीले लुम्बिनी प्रदेश र काठमाडौं उपत्यकामा विभिन्न जिम्मेवारी सम्हालेका छन्। उनले काठमाडौं, कास्की र कपिलवस्तु जिल्लामा प्रहरी प्रमुखका रूपमा नेतृत्व गरेका थिए।

इन्स्पेक्टर रहँदा उनले इलाका प्रहरी कार्यालय काकडभित्ता, झापा तथा तनहुँको आबुखैरेनीमा कार्यालय प्रमुखको रूपमा कार्य गरे। डीएसपी हुँदा बुटवलस्थित इलाका प्रहरी कार्यालय तथा काठमाडौंको प्रहरी वृत्त नयाँ बानेश्वरको जिम्मेवारी सम्हाले।

उपत्यका प्रहरी प्रमुखका रूपमा जानुअघि कार्की प्रहरी प्रधान कार्यालयको मानव स्रोत विकास विभागमा विभागीय प्रमुखको रूपमा कार्यरत थिए।