एमालेले धादिङ लगायत आज ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दै

326 पटक पढिएको

२९ कार्तिक २०८२, शनिबार ०६:५० सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेले आज (शनिबार) देशका ७७ वटै जिल्लामा जनप्रदर्शन र सभा गर्दैछ । एमालेले प्रतिगामी षडयन्त्रविरुद्ध र संसद पुनस्थापनाको माग गर्दै प्रदर्शन गर्न लागेको हो ।

एमालेले गत भदौ २४ गतेपछि विकसित राजनीतिक घटनाक्रम, असंवैधानिक ढंगबाट भएको संसद विघटन र भावी कार्यक्रमबारे प्रष्ट पार्न जनप्रदर्शन गर्न लागिएको जनाएको छ ।

एमालेले यसअघि गत मंगलबार देशभरका ७५३ वटै गाउँपालिकामा र कात्तिक २२ गते ६ हजार ७४३ वडामा भेला गरेको थियो ।घोषित कार्यक्रमअनुसार एमालेले आगामी मंसिर ६ गते काठमाडौँमा वृहत जनप्रदर्शन र सभा गर्ने जनाएको छ ।

यसै क्रममा  नेकपा एमाले जिल्ला कमिटी धादिङले कात्तिक २९ गते धादिङबेसीमा बृहत् जनप्रदर्शन तथा जनसभा आयोजना गर्ने भएको छ।

एमाले जिल्ला कमिटीका अनुसार जनप्रदर्शन बिहान ११ बजे धादिङबेसीस्थित एमाले पार्टी कार्यालयबाट र्‍यालीको रूपमा सुरु हुनेछ। र्‍यालीले बजार परिक्रमा गर्ने र अन्त्यमा कोणसभामा परिणत हुने कार्यक्रम छ।

पार्टीले हालको राजनीतिक परिस्थिति, लोकतान्त्रिक अभ्यासको संरक्षण तथा संसद पुनःस्थापनाको पक्षमा जनमत संकलन गर्न यो कार्यक्रम आयोजना गरिएको जनाएको छ।

  • फाईल तस्बिर