एमाले धादिङद्वारा धादिङबेसीमा विरोध र्‍याली तथा कोणसभा सम्पन्न

538 पटक पढिएको

२९ कार्तिक २०८२, शनिबार १८:४९ सम्पादक: धादिङ न्यूज

धादिङ – नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी धादिङले आज धादिङबेसीमा र्‍यालीसहित व्यापक जनप्रदर्शन गरेको छ। विघटित प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित पुछारबजारबाट सुरु भएको विरोध र्‍याली बजार परिक्रमा गर्दै एमाले चोकमा पुगेर कोणसभामा परिणत भएको थियो।

कार्यक्रममा एमालेका पोलिट्ब्युरो सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य खेम लोहनी, जिल्ला अध्यक्ष भूमि त्रिपाठी लगायत नेताहरूले सरकारविरुद्ध धारिलो मत व्यक्त गरेका थिए।

कोणसभा सम्बोधन गर्दै पोलिट्ब्युरो सदस्य भट्टराईले पार्टी ‘जिउँदो र बलिदानका लागि सधैं तयार’ रहेको बताएका थिए। उनले भने, “एमाले जिउँदै छ, राष्ट्रका लागि बलिदान दिन तयार छ।”

भट्टराईले नेपाली जनताले बनाएको संविधानबारे निर्णय गर्ने अधिकार कुनै एक व्यक्ति वा अहिलेको सरकारलाई नभई जनताकै हातमा रहेको स्पष्ट पारे। विघटित प्रतिनिधिसभा पुनःस्थापना नभएसम्म आन्दोलन जारी रहने चेतावनी पनि उनले दिए।

सरकार र पछिल्ला राजनीतिक घटनाक्रमप्रति कडा प्रहार गर्दै उनले जेनेरेसन–जेड आन्दोलनका नाममा देशमा अशान्ति मच्चाई लोकतन्त्र कमजोर पार्ने प्रयास भइरहेको आरोप लगाए। वर्तमान सरकार गैर–संवैधानिक भएको दाबी गर्दै उनले यस्तो सरकारले गर्ने कुनै पनि प्रक्रिया वैधानिक ठहरिन नसक्ने तर्क दिए।

उनका अनुसार गैर–सांसदलाई प्रधानमन्त्री बन्न दिने व्यवस्था संविधानमा छैन, तर सरकारले संविधानकै मूलभावना बेवास्ता गर्दै संवैधानिक संकटलाई झनै जटिल बनाएको आरोप छ।

सुरक्षा चुनौतीबारे बोल्दै भट्टराईले लुटिएका हतियार प्रहरी फिर्ता नआउँदासम्म र जेलबाट फरार रहेका अपराधी नियन्त्रणमा नआएसम्म शान्तिपूर्ण निर्वाचन सम्भव नहुने बताए। भदौ २४ पछि सुरक्षाकर्मीको मनोबल कमजोर रहेको उल्लेख गर्दै उनले निर्वाचन सुरक्षाका लागि आत्मबल सुदृढ गर्न राज्यले गम्भीर कदम चाल्नुपर्ने आवश्यकता दोहोर्‍याए।

उनले सिंहदरबार र अदालतमा आगजनी गर्ने समूहबाट सुशासन वा न्यायिक सुधारको अपेक्षा गर्नु निरर्थक भएको टिप्पणी गरे। न्यायालय जलाउने प्रवृत्तिबाट न्यायको रक्षा सम्भव नहुने भन्दै उनले यस्ता गतिविधिको कडाभन्दा कडा भर्त्सना गरे।

भट्टराईले अहिलेको सरकारले गराउन लाग्ने निर्वाचनको वैधानिकतामै प्रश्न उठेको उल्लेख गर्दै यस्तो परिस्थितिमा हुने चुनाव विश्वसनीय वा शान्तिपूर्ण नहुने दाबी गरे। उनका अनुसार एमालेले ‘अनावश्यक र अविश्वसनीय’ निर्वाचनमा कुनै चासो राख्दैन।

यस्तै, उनले एमालेको सन्निकट महाधिवेशनलाई लिएर फैलाइएका संकटका हल्लाहरू बेकार रहेको बताए। नेतृत्वमा आकांक्षा देखिनु लोकतान्त्रिक पार्टीभित्र स्वाभाविक भएको भन्दै उनले महाधिवेशनले संगठनलाई सही दिशा प्रदान गर्ने विश्वास व्यक्त गरे। विचार र सिद्धान्तमा चल्ने पार्टी भएकाले महाधिवेशनमार्फत नेताहरूबीच देखिएका मनमुटाव अन्त्य भई सक्षम नेतृत्व चयन हुने उनको भनाइ थियो।

केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज खेमप्रसाद लोहनीले संविधानको रक्षा र जनताको अधिकार सुरक्षित राख्न एमाले सधैं तयार रहने बताए। “टापटिपे आवाराहरूले देश चलाइरहेका छन्, यो खराब अवस्थालाई अन्त्य गरेर जनताको शासनव्यवस्था स्थापना गर्न एमाले विद्रोहमा निस्किएको हो,” उनले भने।

त्यसैगरी, जिल्ला अध्यक्ष भूमि त्रिपाठीले संविधान संशोधन गर्ने अधिकार संसद र प्रतिनिधिसभाकै भएकोले विघटित प्रतिनिधिसभालाई पुनःस्थापना गर्नु अहिलेको पहिलो आवश्यकता रहेको धारणा राखे। प्रतिनिधिसभा पुनःस्थापना गरी वैधानिक सरकार बनाएपछि मात्र चुनावको मिति तोक्न सकिने उनको तर्क थियो।