नेकपा एमालेले आज देशभरबाट महाधिबेशन प्रतिनिधि छान्दै

380 पटक पढिएको

१३ मंसिर २०८२, शनिबार ०७:०३ सम्पादक: धादिङ न्यूज

काठमाडौं । नेकपा एमालेको ११ औ महाधिबेशनका लागि आज देशभरबाट प्रतिनिधि चयन हुंदैछ । केही जिल्लामा भने प्रतिनिधि सर्वसम्मत रूपमा छानिसकेका छन्।

महाधिवेशनका लागि तोकिएको कोटाभन्दा बढी उम्मेदवार भएका ठाउँमा चुनावमा जानुपर्ने अवस्था बनेको छ। पार्टीको संगठन विभागले केही दिनअघि पाँच बुँदे निर्देशन जारी गर्दै कुनै बहानामा प्रतिनिधि छनोट  पछाडि नधकेल्न भनिसकेको छ। सबै जिल्ला तथा इकाइबाट प्रतिनिधिको नामावली पठाउन सोमबारसम्मको म्याद तोकिएको छ।

एमालेका ६ लाख ६७ हजार ६३० संगठित सदस्यबाट करिब २२ सय प्रतिनिधि चयन हुँदैछन्। यसपटक प्रत्येक संघीय निर्वाचन क्षेत्रबाट कम्तीमा एक जना युवा प्रतिनिधिको कोटा सुरक्षित गरिएको छ।

यसै बीच धादिङ जिल्लामा प्रतिनिधि चयनका लागि दाबी गर्नेहरूको संख्या ९३ पुगेको छ। उनीहरूबीच सर्वसम्मति कायम गर्ने जिम्मा केन्द्रीय सदस्यद्वय खेमप्रसाद लोहनी र जानुका सिम्खडा, जिल्ला अध्यक्ष भूमि त्रिपाठी, सचिव राधिका सापकोटा तथा पदाधिकारी टिमलाई दिएको छ। धादिङबाट कुल १८ प्रतिनिधि छानिनेछन्, जसमा दलित १, महिला ५, युवा २ र खुला तर्फबाट १० प्रतिनिधि रहनेछन्।