मध्यपूर्व द्वन्द्वको असर: विदेश जाने मात्र होइन, फर्कने नेपाली कामदार पनि रोकिए

323 पटक पढिएको

१ चैत्र २०८२, आईतवार ०७:१६ सम्पादक: धादिङ न्यूज

काठमाडौं ।इजरायल–अमेरिका र इरानबीच बढेको द्वन्द्वका कारण मध्यपूर्वका विभिन्न गन्तव्यमा जाने तयारीमा रहेका हजारौँ नेपाली कामदार विदेश जान नपाई स्वदेशमै रोकिएका छन्। त्यस्तै करार अवधि सकिएर फर्कने वा बिदामा स्वदेश आउने कामदारसमेत उतै अड्किएको अवस्था रहेको छ।

सरकारले हाल मध्यपूर्वका १३ देशका लागि श्रमस्वीकृति रोकेपछि पुनः श्रमस्वीकृति लिएर बसेका धेरै नेपाली विदेश जान पाएका छैनन्। सामान्य अवस्थामा नेपालबाट दैनिक औसत २ हजार २ सयभन्दा बढी नेपाली रोजगारीका लागि विदेश जाने गरेको तथ्यांक छ। तर अहिले वैदेशिक रोजगार विभागले श्रमस्वीकृति स्थगित गरेपछि हजारौँ कामदारको यात्रा रोकिएको छ।

पछिल्लो समय वैदेशिक रोजगारीका लागि जानेमध्ये करिब ८५ प्रतिशत कामदार द्वन्द्व प्रभावित गन्तव्यतर्फ जाने गरेका छन्। युद्ध सुरु भएयता करिब ३१ हजार नेपाली कामदार मध्यपूर्वका देशमा जान रोकिएको अनुमान गरिएको छ।

मेनपावर व्यवसायीहरूका अनुसार नयाँ श्रमस्वीकृति लिएर बसेकाभन्दा पुनः श्रमस्वीकृति लिएका कामदार विदेश जान नपाउँदा उनीहरूको रोजगारी नै जोखिममा पर्ने अवस्था सिर्जना भएको छ।

यता सरकारले १३ देशका लागि श्रमस्वीकृति रोके पनि बिदामा आएका कामदारलाई पुनः गन्तव्य देश फर्कने वातावरण मिलाइदिन अनुरोध गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। हवाई मार्ग सुरक्षित भई अवस्था सामान्य बनेपछि आवश्यकताअनुसार कामदार पठाउने तयारी सरकारको रहेको छ।

मध्यपूर्वमा रहेका नेपालीहरूको अद्यावधिक विवरण संकलन गर्न सञ्चालन गरिएको अनलाइन दर्ता पोर्टलमा हालसम्म ६३ हजार ५७७ जनाले विवरण दर्ता गराएका छन्। तीमध्ये ६ हजारभन्दा बढीले आफू जोखिममा रहेको बताएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार खाडी क्षेत्रका विभिन्न विमानस्थलमा रोकिएका धेरै नेपाली आफ्नो गन्तव्यतर्फ पुगिसकेका छन्। जोखिमको अवस्था रहे पनि मध्यपूर्वमा रहेका अधिकांश नेपालीले नियमित रूपमा काम गरिरहेका छन्। इजरायलजस्तो संवेदनशील क्षेत्रमा समेत नेपालीहरू काममा सक्रिय रहेको बताइएको छ।

परराष्ट्रमन्त्री बालानन्द शर्माले विदेशमा रहेका नेपालीको अवस्थाबारे निगरानी गर्न ‘सिचुएसन सेन्टर’ स्थापना गरिएको जानकारी दिँदै आवश्यक परे उद्धारका लागि सरकार तयारी अवस्थामा रहेको बताएका छन्।

पछिल्ला तीन वर्षको औसत तथ्यांकअनुसार हरेक वर्ष करिब ७ लाख ६६ हजार नेपाली रोजगारीका लागि विदेश जाने गरेका छन्। यसमध्ये ६४ प्रतिशत नयाँ कामदार हुने गरेका छन् भने ३६ प्रतिशत पुनः श्रमस्वीकृति लिएर गन्तव्य देश फर्कने कामदार हुन्। गत आर्थिक वर्षमा मात्रै ८ लाख ३९ हजारभन्दा बढी नेपाली रोजगारीका लागि विदेश गएको तथ्यांक छ।


Hey folks, just stumbled upon keowin. Anyone familiar with this spot? Looking for a reliable place to hang out. Let me know your thoughts. keowin