धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच सहकार्य सम्झौता

334 पटक पढिएको

२ चैत्र २०८२, सोमबार २०:२७ सम्पादक: धादिङ न्यूज

धादिङ । धादिङ अस्पताल र त्रिपुरासुन्दरी गाउँपालिका–१ सल्यानटारस्थित प्राथमिक स्वास्थ्य केन्द्रबीच स्वास्थ्य सेवा विस्तार तथा सहकार्यका लागि सम्झौता गरिएको छ। बागमती प्रदेश अन्तर्गत रहेको धादिङ अस्पताल र सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रबीच विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै उपलब्ध गराउने उद्देश्यले सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो।

सम्झौताअनुसार धादिङ अस्पतालका विशेषज्ञ (कन्सल्टेन्ट) चिकित्सकहरू प्रत्येक महिना सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर सेवा दिने व्यवस्था गरिएको छ। कन्सल्टेन्ट सेवा भने प्राथमिक स्वास्थ्य केन्द्रको आवश्यकता र धादिङ अस्पतालको उपलब्धताका आधारमा निर्धारण गरिने जनाइएको छ।

यस्तै, प्राथमिक स्वास्थ्य केन्द्रमा उपलब्ध नभएका प्रयोगशाला परीक्षणहरू-रगत, दिसा, पिसाब तथा खकार लगायतका परीक्षण धादिङ अस्पतालमै गरिने व्यवस्था मिलाइनेछ। ती परीक्षणको रिपोर्ट इमेलमार्फत पठाइने र परीक्षण वापतको रकम प्राथमिक स्वास्थ्य केन्द्रले धादिङ अस्पताललाई उपलब्ध गराउने सहमति भएको छ।

सम्झौतापत्रमा धादिङ अस्पतालका तर्फबाट अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष राधिका सापकोटा र निमित्त अस्पताल निर्देशक डा. त्रिभुवन चन्द्र झाले हस्ताक्षर गरेका छन्। त्यसैगरी सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रका तर्फबाट सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष कृष्णबहादुर खत्री र कार्यालय प्रमुख डा. मञ्जिल श्रेष्ठले हस्ताक्षर गरेका छन्।

यस सहकार्यले सल्यानटार क्षेत्रका नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा स्थानीय स्तरमै प्राप्त हुने र स्वास्थ्य सेवामा सहज पहुँच बढ्ने अपेक्षा गरिएको छ।