प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले लिए सपथ

272 पटक पढिएको

१२ चैत्र २०८२, बिहीबार १४:५४ सम्पादक: धादिङ न्यूज

काठमाडौं, १२ चैत्र – प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। गत फागुन २१ गते सम्पन्न निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिक दुवैतर्फ विजयी भएका सांसदहरूले सिंहदरबारस्थित नयाँ संसद् भवनको बहुउद्देश्यीय हलमा आयोजित एक विशेष समारोहका बीच शपथ लिएका हुन्। प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले नवनिर्वाचित सदस्यहरूलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो। नेपालको संविधानको धारा ९९ र ९१ को उपधारा ५ तथा प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७५ बमोजिम यो कानुनी प्रक्रिया सम्पन्न भएको संघीय संसद् सचिवालयले जनाएको छ।

यस पटकको शपथ ग्रहण समारोहमा उल्लेखनीय भाषिक विविधता समेत देखिएको छ। सचिवालयका अनुसार कूल सदस्यमध्ये ४७ जना सांसदले नेपालीबाहेक आफ्नै मातृभाषामा शपथ लिएका छन्। फागुन २१ को निर्वाचन परिणाम अनुसार प्रतिनिधिसभाको शक्ति सन्तुलनमा ठूलो फेरबदल आएको छ। १८२ सिटसहित राष्ट्रिय स्वतन्त्र पार्टीले संसद्मा स्पष्ट बहुमत प्राप्त गरेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा एमालेले २५, नेपाली कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट प्राप्त गरेका छन्। शपथ ग्रहणसँगै अब नयाँ सरकार गठन र संसदीय प्रक्रिया औपचारिक रूपमा अगाडि बढ्ने मार्गप्रशस्त भएको छ।