इतिहास रच्दै धादिङका डीपी अर्याल निर्विरोध बने प्रतिनिधि सभाको सभामुख

236 पटक पढिएको

२० चैत्र २०८२, शुक्रबार १७:५७ सम्पादक: धादिङ न्यूज

धादिङ-धादिङ जिल्लामा जन्मिएर राष्ट्रिय राजनीतिमा सक्रिय व्यक्तित्वहरूमध्ये जिल्लाबाटै पहिलो पटक प्रतिनिधि सभाको सभामुख बन्ने ऐतिहासिक अवसर धादिङको मैदी अमराईका डोलप्रसाद (डीपी) अर्यालले पाएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति समेत रहेका अर्याल प्रतिनिधि सभाको नयाँ सभामुखमा निर्विरोध निर्वाचित भएका हुन्।

संसद् सचिवालयले शुक्रबार बिहान ११ देखि दिउँसो २ बजेसम्मका लागि उम्मेदवारी दर्ताको समय तोकेकोमा अर्यालको मात्रै एकल उम्मेदवारी परेपछि उनी निर्विरोध चयन भएका हुन्। उनको प्रस्तावकमा रास्वपा सभापति रवि लामिछाने र समर्थकमा अर्थमन्त्री स्वर्णिम वाग्ले, कानुनमन्त्री सोविता गौतम तथा भौतिक पूर्वाधार मन्त्री सुनिल लम्साल रहेका छन्। रास्वपाको संसद्मा बलियो उपस्थिति र बहुमत रहेका कारण विपक्षी दलहरूले यो पदमा उम्मेदवारी नै दर्ता गरेनन्। अर्याल सभामुख निर्वाचित भएको औपचारिक घोषणा भने आगामी आइतबार बस्ने प्रतिनिधि सभाको बैठकले गर्नेछ।

धादिङको साविक मैदी गाविस (हाल ज्वालामुखी गाउँपालिका) को अमराईमा २०३२ सालमा जन्मिएका अर्यालको जीवन यात्रा संघर्ष र सफलताको अनुपम उदाहरण हो। २०४९ सालमा सामान्य रोजगारीका लागि काठमाडौं छिरेका उनले रेस्टुरेन्टको कर्मचारीदेखि जापानमा आठ वर्षसम्म गरेको वैदेशिक रोजगारीको अनुभव सँगालेका छन्। जापानबाट फर्किएपछि उनले नेपालमा पर्यटन, शिक्षा, सहकारी र रेमिटेन्स जस्ता क्षेत्रमा सफल लगानीकर्ता र व्यवस्थापकका रूपमा आफ्नो पहिचान बनाए।

अर्याल राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक सदस्य हुन्। व्यावसायिक रूपमा इजिलिंक रेमिटेन्सको सीईओ हुँदादेखि नै रवि लामिछानेसँग नजिक रहेर काम गरेका उनले रासकोट अस्पताल निर्माणमा समेत ठूलो योगदान दिएका थिए। राजनीतिक रूपमा अत्यन्तै सुझबुझपूर्ण ढंगले अघि बढ्ने नेताका रूपमा चिनिने अर्यालले यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन्।

२०७९ को निर्वाचनमा समानुपातिक सांसद बनेका अर्याल अहिले काठमाडौं क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फ निर्वाचित सांसद हुन्। सञ्चारकर्मीहरूसँग बोल्दै उनले संविधान, कानुन र जनहितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता जनाएका छन्। राज्यका प्रमुख अंगहरूबीचको सन्तुलन कायम राख्दै व्यवस्थापिकालाई प्रभावकारी बनाउने उनको मुख्य लक्ष्य रहेको छ। धादिङको माटोमा जन्मिएर देशकै उच्च मर्यादित पद सभामुखमा पुग्ने उनी जिल्लाकै पहिलो गौरवशाली व्यक्तित्व बनेका छन्।


BTMexico is my go-to for Mexican leagues. They’ve got a good selection of games and competitive odds. If you follow Liga MX or other Mexican football, check out btmexico.