नेपालका १० जिल्लामा बर्डफ्लुको प्रकोप: ४ लाख ७९ हजारभन्दा बढी पक्षी नष्ट, सुनसरी सबैभन्दा बढी प्रभावित
205 पटक पढिएको
काठमाडौं, २४ जेठ । नेपालमा पछिल्लो समय बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण तीव्र गतिमा फैलिएको छ। हालसम्म १० वटा जिल्लामा संक्रमण पुष्टि भएसँगै देशभरका ५५ वटा व्यावसायिक तथा घरेलु पक्षीपालन फार्महरू प्रभावित भएका छन्।
राष्ट्रिय पशु स्वास्थ्य सूचना प्रणाली र र्यापिड रेस्पोन्स टोलीको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ मा पहिलो पटक गत चैत ४ गते झापाको सुन्दरहरैँचा–४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु देखिएको थियो। त्यसयता संक्रमण कोशी प्रदेशबाट सुरु भई मधेश र बागमती प्रदेशका विभिन्न जिल्लामा फैलिसकेको छ।
संक्रमण नियन्त्रणका लागि चालिएका कदमहरूका क्रममा हालसम्म ४ लाख ७९ हजार १५६ वटा पक्षी, ६ लाख ९४ हजार १९३ वटा अण्डा र १ लाख ८२ हजार ७७५ किलोग्राम पशु आहार नष्ट गरिएको छ।
सबैभन्दा बढी प्रभावित जिल्लामा सुनसरी रहेको छ, जहाँ २३ वटा फार्ममा संक्रमण देखिएको छ। यहाँ २ लाख ८५ हजार ५६४ पक्षी र ४ लाख २७ हजार ५८० वटा अण्डा नष्ट गरिएका छन्। त्यसैगरी मोरङमा ११ वटा फार्म प्रभावित हुँदा १ लाख १ हजार ८६० वटा पक्षी नष्ट गरिएका छन्।
काठमाडौं उपत्यका पनि यस संक्रमणबाट अछुतो छैन। उपत्यकाका तीनै जिल्लामा गरी १३ वटा फार्म प्रभावित भएका छन्, जसमा काठमाडौंमा ८, ललितपुरमा ३ र भक्तपुरमा २ वटा रहेका छन्। काठमाडौंमा मात्रै ३९ हजार ४८१ वटा पक्षी नष्ट गरिएको छ। संक्रमण देखिएका अन्य जिल्लाहरूमा चितवन, झापा, बारा, पश्चिम नवलपरासी र महोत्तरी रहेका छन्।
पशु स्वास्थ्य विज्ञहरूले बर्डफ्लु फैलावटको मुख्य कारणमा जैविक सुरक्षा मापदण्डको कमजोर पालनालाई औंल्याएका छन्। विज्ञहरूका अनुसार जंगली चराचुरुङ्गीको आवतजावत र फार्म नजिक सिमसार क्षेत्रको उपस्थिति, फार्ममा आगन्तुक र सवारीसाधनको अनियन्त्रित प्रवेश, प्रयोग गरिएका अण्डाका क्रेटहरूलाई उचित निसंक्रमण नगरी पुनः प्रयोग गर्नु तथा जीवित वा मरेका पक्षीहरूको व्यवस्थापन गर्दा आवश्यक सुरक्षात्मक सावधानी नअपनाउनु नै मुख्य कारण हुन्।
संक्रमण थप फैलिन नदिन सम्बन्धित निकायले र्यापिड रेस्पोन्स परिचालन गरेको छ। प्रभावित क्षेत्रमा पन्छी नष्ट गर्ने, अण्डा तथा दानाको ओसारपसारमा नियन्त्रण गर्ने, र व्यापक रूपमा सरसफाइ तथा निसंक्रमण अभियान सञ्चालन गरिएको छ। साथै, पन्छी पालक किसानहरूलाई फार्ममा उच्च सतर्कता अपनाउन र कुनै पनि शंकास्पद लक्षण देखिएमा तुरुन्त नजिकको पशु सेवा कार्यालयमा जानकारी गराउन आग्रह गरिएको छ।








https://shorturl.fm/Y2mQu