धादिङबाट ई–पेन्सन सेवा सुरु, पूर्व अधिकृत राममणि मिश्र बने पहिलो लाभग्राही
128 पटक पढिएको
धादिङ, २५ असार निजामती सेवाबाट निवृत्त हुने कर्मचारीहरूका लागि सरकारी प्रक्रिया र कागजी झन्झटको अन्त्य गर्दै धादिङ जिल्लाबाट पहिलो पटक अनलाइन प्रणालीमा आधारित ‘ई–पेन्सन’ सेवाको औपचारिक सुरुवात गरिएको छ । जिल्लाका निवृत्त कर्मचारी राममणि मिश्र ई–पेन्सन सेवा प्राप्त गर्ने धादिङकै पहिलो लाभग्राही बन्नुभएको छ ।
जिल्ला प्रशासन कार्यालय धादिङको प्रशासकीय अधिकृत पदमा कार्यरत रहनुभएका मिश्रले केही दिनअघि मात्रै आफ्नो पदबाट राजीनामा दिनुभएको थियो । उहाँको राजीनामा स्वीकृत भएसँगै असार २४ गते बुधबार कोष तथा लेखा नियन्त्रण कार्यालय धादिङमार्फत उहाँलाई ई–पेन्सन प्रणालीबाट सम्पूर्ण सेवा सुविधाहरू एकीकृत रूपमा उपलब्ध गराइएको हो ।कोष तथा लेखा नियन्त्रक रोशन पुनले इपेन्सनको कागजात हस्तान्तरण गरेर जिल्लाको पहिलो लाभग्राी भएकोमा बधाई तथा शुभकामना दिनु भएको थियो ।
राष्ट्रिय किताबखाना (निजामती) ले विकास गरी कार्यान्वयनमा ल्याएको ई–पेन्सन सेवा सरकारी सेवालाई प्रविधिमैत्री र पूर्ण रूपमा डिजिटल बनाउने एउटा महत्त्वपूर्ण प्रणाली हो । यस प्रणाली अन्तर्गत निजामती कर्मचारीको सेवा प्रवेशदेखि अवकाश हुनेसम्मको सम्पूर्ण विवरण राष्ट्रिय किताबखानाको कम्प्युटराइज्ड सिटरोल प्रणाली मा डिजिटल रूपमा सुरक्षित राखिन्छ । कर्मचारी अवकाश हुने उमेर पुगेपछि वा राजीनामा स्वीकृत भएपछि प्रणालीले स्वतः निवृत्तिभरणको प्रक्रिया अगाडि बढाउँछ, जसका कारण पहिले जस्तो महिनौँ लगाएर कागजात सङ्कलन गरिरहनुपर्ने अवस्था रहँदैन ।
यस प्रणालीको सबैभन्दा ठूलो विशेषता भनेकै निवृत्त कर्मचारीले पाउने विभिन्न शीर्षकका आर्थिक सुविधाहरूलाई एकै ठाउँबाट व्यवस्थापन गर्नु हो । ई–पेन्सन सेवा लागू भएसँगै अब कर्मचारीहरूले निवृत्त कर्मचारीले पाउने मासिक पेन्सनको निर्धारण तथा एकमुष्ट प्राप्त हुने उपदानको रकम अनलाइनबाटै स्वीकृत भई सिधै बैंक खातामा पुग्ने व्यवस्था गरिएको छ । त्यस्तै सेवावधिभर जम्मा भएको घर बिदा र बिरामी बिदाबापतको सञ्चित रकमको हिसाब किताब पनि यही प्रणालीमार्फत स्वचालित रूपमा भुक्तानी हुन्छ । यसका साथै अवकाशप्राप्त कर्मचारीले नियमानुसार पाउने उपचार खर्चबापतको थप आर्थिक सुविधा पनि ई–पेन्सन प्याकेजभित्रै समावेश गरिएको छ भने पेन्सन प्रयोजनका लागि सेवाग्राहीले आफूलाई पायक पर्ने र रोजेको वाणिज्य बैंकमा अनलाइनबाटै खाता खोल्ने वा लिङ्क गर्ने सुविधा समेत यसै प्रणालीमा जोडिएको छ ।
यसअघि नेपालभरिका निजामती कर्मचारीहरू अवकाश भएपछि पेन्सन पट्टा बनाउन, फाइल स्वीकृत गराउन र सञ्चित बिदाको रकम बुझ्नका लागि महिनौँसम्म काठमाडौँको हरिहरभवनस्थित राष्ट्रिय किताबखाना र सिंहदरबारका विभिन्न मन्त्रालय तथा विभागहरूमा धाउनुपर्ने बाध्यता थियो । दुर्गम जिल्लाका कर्मचारीहरूका लागि यो प्रक्रिया झन् बढी खर्चिलो र सास्तीपूर्ण हुने गरेको थियो ।
धादिङमा ई–पेन्सन सेवाको सफल कार्यान्वयनसँगै अब निवृत्त कर्मचारीहरूले यी सबै प्रशासनिक र आर्थिक सेवाहरू आफ्नै जिल्लामा रहेको कोष तथा लेखा नियन्त्रण कार्यालयमार्फत सजिलै प्राप्त गर्न सक्ने भएका छन् । यसले सेवा प्रवाहलाई थप सहज, पारदर्शी, छिटो र प्रभावकारी बनाउने निश्चित छ, जसबाट सेवाग्राहीको समय, श्रम र पैसाको ठूलो बचत हुनेछ ।
राष्ट्रिय किताबखानाले ई–पेन्सन सेवालाई अझ बढी परिष्कृत र सवल बनाउने कार्यलाई अगाडि बढाएको छ । निकट भविष्यमा कर्मचारी सञ्चय कोषमा जम्मा भएको रकमसमेत यसै ई–पेन्सन सेवा प्याकेजमा समावेश गर्ने गरी आवश्यक द्विपक्षीय सहमति भइसकेको छ ।
यसका लागि दुवै निकायबीच प्राविधिक कार्य (सिस्टम इन्टिग्रेसन) को काम तीव्र गतिमा अघि बढाइएको छ । यो प्राविधिक काम सम्पन्न भएपछि निवृत्त कर्मचारीले सञ्चय कोषको रकम भुक्तानी लिनका लागि पनि छुट्टै आवेदन दिइरहनुपर्ने छैन । ई–पेन्सन प्रणालीकै एक क्लिकमार्फत सञ्चय कोषको सम्पूर्ण रकम पनि सम्बन्धित कर्मचारीको बैंक खातामा सिधै स्थानान्तरण हुने व्यवस्था मिलाइँदै छ । नेपाल सरकारको ‘डिजिटल नेपाल फ्रेमवर्क’ अन्तर्गत सरकारी सेवालाई कागजरहित र सेवाग्राही कार्यालयमा भौतिक रूपमा उपस्थित हुनु नपर्ने बनाउने अभियानमा यो ई–पेन्सन प्रणाली एउटा ऐतिहासिक कोसेढुङ्गा साबित हुने विश्वास लिइएको छ ।








This e-pension system is a masterclass in digital transformation, proving that modernizing bureaucratic processes drastically improves the user experience. The focus on seamless, integrated service delivery-reducing paper friction-is a principle vital across all industries, whether managing retirement funds or enjoying high-tech entertainment like phwin777 games.