उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय धादिङको अनुरोध
114 पटक पढिएको
धादिङ, साउन २। जिल्ला प्रशासन कार्यालय धादिङले भारी वर्षाको सम्भावना र त्यसबाट हुन सक्ने बाढी, पहिरो तथा सडक अवरोधको जोखिमलाई मध्यनजर गर्दै जिल्लावासीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार साउन २ गते शनिबार र ३ गते आइतबार देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षा हुने सम्भावना रहेकाले धादिङ जिल्ला पनि उच्च जोखिममा पर्न सक्ने भन्दै प्रशासनले सार्वजनिक सूचना जारी गरेको हो।
प्रशासनले अत्यावश्यक कामबाहेक यात्रा नगर्न, यात्रा गर्नै परे मौसम र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न तथा बाढी, पहिरो वा सडक अवरुद्ध भए सुरक्षित स्थानमा आश्रय लिन आग्रह गरेको छ। यात्राका क्रममा अतिरिक्त कपडा, खानेकुरा, पिउने पानी, प्राथमिक उपचार सामग्री तथा आवश्यक औषधि साथमा राख्न पनि अनुरोध गरिएको छ।
त्यसैगरी नदी, खोला, खहरे खोला तथा पहिरोको उच्च जोखिम भएका स्थान आसपास बसोबास गर्ने नागरिकलाई वर्षाको समयमा विशेष सावधानी अपनाउन, स्थानीय तह तथा सुरक्षा निकायसँग समन्वय गरी सुरक्षित स्थानमा बस्न प्रशासनले आग्रह गरेको छ।
मौसमको प्रतिकूलता र सडकको अवस्थालाई ध्यानमा राख्दै सवारी आवागमन रोक्नुपर्ने अवस्था आउन सक्ने भएकाले अत्यन्त जरुरी काम नपरे घरबाहिर ननिस्कन तथा विशेषगरी रात्रिकालीन समयमा यात्रा नगर्न प्रशासनको सुझाव छ।
कुनै आपतकालीन अवस्था, उद्धार वा सूचना आवश्यक परे नेपाल प्रहरीको हटलाइन १००, सशस्त्र प्रहरी बल ११४९, जिल्ला आपतकालीन सञ्चालन केन्द्र (DEOC) तथा जिल्ला प्रहरी कार्यालय धादिङमा सम्पर्क गर्न पनि जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले नागरिकलाई अफवाहमा नलागी आधिकारिक सूचना मात्रै पछ्याउन तथा विपद् जोखिम न्यूनीकरणका लागि सबै पक्षसँग समन्वय र सहयोग गर्न आग्रह गरेको छ।








https://shorturl.fm/QULiZ