इन्द्रबहादुर खड्कालाई ‘शिक्षा पुरस्कार’ र सरस्वती पाण्डेलाई ‘दुर्गा साहित्य पुरस्कार’ प्रदान

178 पटक पढिएको

१४ श्रावण २०८३, बिहीबार २१:५९ सम्पादक: धादिङ न्यूज

काठमाडौँ। गुरु पूर्णिमाको  अवसरमा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा आयोजित एक विशेष समारोहका बिच राष्ट्रियस्तरको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ र धादिङ जिल्लास्तरीय ‘दुर्गा साहित्य पुरस्कार–२०८३’ (दुर्गा रिमाल अधिकारी साहित्य पुरस्कार) समर्पण गरिएको छ। कमलादीस्थित नेपाल प्रज्ञा-प्रतिष्ठानमा बुधबार आयोजित भव्य समारोहमा ती पुरस्कार प्रदान गरिएको हो।

धादिङको पहिलो हाइस्कुल गजुरीस्थित आदर्श माध्यमिक विद्यालयका संस्थापक प्रधानाध्यापक ठाकुरप्रसाद शर्माका पूर्वविद्यार्थीहरूद्वारा स्थापित प्रतिष्ठानले शिक्षा र साहित्य क्षेत्रमा विशिष्ट योगदान पुर्‍याएका व्यक्तित्वहरूलाई सम्मानित गरेको हो।

समारोहमा प्रमुख अतिथि, नेपाल सरकारका पूर्वसचिव तथा भाषा आयोगका पूर्वअध्यक्ष डा. लवदेव अवस्थीले सम्मानपत्र प्रदान गर्नुभएको थियो भने पुरस्कार राशि प्रतिष्ठानका अध्यक्ष डा. सदानन्द कँडेल र साहित्य पुरस्कारका संस्थापक शिवप्रसाद अधिकारीले हस्तान्तरण गर्नुभएको थियो।

राष्ट्रियस्तरको ‘ठाकुरप्रसाद शर्मा शिक्षा पुरस्कार–२०८३’ बाट दोलखाको गौरीशङ्कर गाउँपालिकामा जन्मी हाल जिरी नगरपालिका–६ मा बसोबास गर्दै आउनुभएका वरिष्ठ शिक्षासेवी इन्द्रबहादुर खड्का सम्मानित हुनुभएको छ।

शिक्षा क्षेत्रमा ४५ वर्षभन्दा बढी समय समर्पित गर्नुभएका खड्काले जिरी माध्यमिक विद्यालयमा १८ वर्ष प्रधानाध्यापक, जिरी क्याम्पसमा १८ वर्ष संस्थापक क्याम्पस प्रमुख तथा जिरी बुद्धिष्ट कलेजमा ९ वर्ष क्याम्पस प्रमुखका रूपमा सेवा गर्नुभएको छ। जिरी प्राविधिक विद्यालयमा समेत अध्यापन गराउनुभएका खड्का हाल पनि स्नातकोत्तर तहमा अनलाइन कक्षा सञ्चालन गर्दै आउनुभएको छ।

शिक्षाविद् प्रा. डा. शोभाखर कँडेल संयोजकत्वको सिफारिस समितिको सिफारिसका आधारमा उहाँलाई यो पुरस्कार प्रदान गरिएको हो।

धादिङ जिल्लास्तरीय ‘दुर्गा साहित्य पुरस्कार–२०८३’ बाट धुनिवेशी नगरपालिका–९ निवासी साहित्यकार तथा शिक्षक सरस्वती पाण्डे ‘सरस’ सम्मानित हुनुभएको छ। एम.फिल. (नेपाली साहित्य) अध्ययन गर्नुभएकी पाण्डे २०७१ सालदेखि डिल्ली सावित्री माध्यमिक विद्यालयमा अध्यापनरत हुनुहुन्छ।

बालसाहित्यमा विशेष पहिचान बनाउनुभएकी पाण्डेले ७२ भन्दा बढी बालसाहित्यका पुस्तक सम्पादन गर्नुभएको छ। उहाँका ‘सरी आमा’, ‘म र मेरो परिवार’, ‘आदित्यले मोबाइल हेरेन’, ‘गुलाफ र भंगेरी’ र ‘झिँगोको दाउ’ लगायतका सचित्र बालकथा, ‘काँचो माटो’ नाटक सङ्ग्रह र करिब एक दर्जन रेडियो नाटक प्रसारण भइसकेका छन्। साथै १२ वटा व्याकरण सिकाउने बालकथा र नाटक सङ्ग्रह प्रकाशनको अन्तिम तयारीमा छन्। उहाँलाई वरिष्ठ साहित्यकार नरनाथ लुइँटेल संयोजक रहेको सिफारिस समितिले छनोट गरेको थियो।

कार्यक्रमका प्रमुख अतिथि डा.  अवस्थीले राम्रा र योग्य व्यक्तित्व छनोट गरेर प्रदान गरिने पुरस्कारले प्रतिष्ठानकै उचाइ बढाउने बताउनुभयो।

समारोहमा प्रतिष्ठानका प्रेरणा स्रोत तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्माले आफ्ना पूर्वविद्यार्थीहरूको सक्रियता र सम्मानबाट आफू शिक्षक बन्ने निर्णय जीवनकै सर्वोत्कृष्ट निर्णय भएको महसुस गरेको बताउनुभयो।

पुरस्कार ग्रहणपछि दुवै स्रष्टाले प्राप्त सम्मानले आफूहरूलाई थप जिम्मेवार बनाएको बताउँदै शिक्षा र साहित्यको विकासमा निरन्तर खट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

आदर्श माध्यमिक विद्यालयका पूर्वविद्यार्थीहरू पूर्व मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे र पूर्व अर्थमन्त्री सुरेन्द्रप्रसाद पाण्डेको विशेष उपस्थिति रहेको उक्त कार्यक्रममा नीलकण्ठ प्रज्ञा प्रतिष्ठानका अध्यक्ष बद्रीप्रसाद दाहाल, साहित्यकार दुर्गा रिमाल अधिकारी, सुमनदास श्रेष्ठ, हेमनाथ थपलियालगायत शिक्षाविद्, साहित्यकार, पूर्व राजदूत, पूर्व न्यायाधीश, वरिष्ठ अधिवक्ता, सञ्चारकर्मी तथा समाजसेवीहरूको बाक्लो उपस्थिति रहेको थियो।


The product description touches on security, which is key. Remember, UI/UX for gaming sites must prioritize trust signals. Always cross-reference before clicking any link, even if it looks official like gk222 app. Caution is your best bet here.