नाम फेरिएर यातायात कार्यालय , काम भने उद्योग तथा बाणिज्यकै मात्र
111 पटक पढिएको
धादिङ । बागमती प्रदेश सरकारले साविकको उद्योग तथा वाणिज्य कार्यालयको नाम परिवर्तन गरी ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ त बनायो, तर काम भने पुरानै गर्न कर्मचारीहरू बाध्य भएका छन्। आवश्यक दरबन्दी, पूर्वाधार र प्राविधिक तयारीबिनै हतारमा निर्णय गर्दा साउन १ गतेदेखि सुरु हुने भनिएको पर्यटन तथा यातायातसम्बन्धी सेवा भने कार्यालयले अझै दिन सकेको छैन।
साउन १ गतेदेखि कार्यालयको साइनबोर्ड फेरिएर ‘उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय’ को नयाँ पाटी त झुन्ड्याइयो, तर नयाँ नामअनुसारको सेवा लिन आउने सेवाग्राहीले कहिलेदेखि सेवा पाउँछन् भन्ने कुरा अझै खुल्न सकेको छैन।यसअघि असार महिनामै उद्योग कार्यालयहरूले जनशक्ति र पूर्वाधार अभावका कारण साउन १ देखि कसरी यातायात सेवा दिने भन्दै तीव्र अन्योल व्यक्त गरेका थिए। उतिबेला बागमती प्रदेशका यातायात मन्त्रीले स्थानीय तहको अनुरोधमा घरदैलोमै सेवा पुर्याउन र ठूला यातायात कार्यालयको चाप घटाउन यो व्यवस्था गरिएको दाबी गरेका थिए।
तथापि, साउन १ गतेदेखि घरदैलोमै ब्लुबुक नवीकरण, लाइसेन्स र पर्यटनसम्बन्धी काम हुने आशामा रहेका नागरिकका लागि साउन १३ गते जारी भएको सरकारी सूचनाले ठूलो निराशा थपिदिएको छ।
उद्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, धादिङका प्रमुख चुडामणि पुरीले जारी गरेको पत्र (चलानी नं. ३१) अनुसार मन्त्रालयबाट सङ्गठन संरचना र दरबन्दी स्वीकृत भई नआएकाले थपिएका सेवा दिन नसकिने स्पष्ट पारिएको छ। कार्यालयले आवश्यक सङ्गठन संरचना, दरबन्दी तथा कर्मचारी व्यवस्थापनसम्बन्धी लिखित आदेश प्राप्त नभएसम्म पर्यटन तथा यातायाततर्फका नयाँ सेवा सञ्चालन गर्न नसकिने जनाएको हो।
कार्यालयद्वारा जारी सूचनामा भनिएको छ, “बागमती प्रदेश उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालय हेटौँडाबाट सङ्गठन संरचना र दरबन्दी स्वीकृत भई नआएकोले मन्त्रालयले सबै व्यवस्था गरी लिखित आदेश नआएसम्म यस कार्यालयबाट साविक उद्योग तथा वाणिज्य कार्यालयको कार्य नियमित सञ्चालन हुने र थप भएको पर्यटन र यातायात कार्यालयको कार्य अर्को सूचना नभएसम्म सञ्चालन नहुने व्यहोरा अनुरोध गरिन्छ।”
कार्यालय प्रमुखद्वारा हस्ताक्षरित सूचनाअनुसार बागमती प्रदेश मन्त्रिपरिषद्को निर्णयपछि साउन १ गतेदेखि कार्यालयको नाम परिवर्तन त गरियो, तर थपिएका क्षेत्रका लागि आवश्यक जनशक्ति र प्रशासनिक व्यवस्था अझै पूरा हुन सकेको छैन। मन्त्रालयबाट संगठन संरचना र दरबन्दी स्वीकृत भई नआएसम्म र लिखित आदेश प्राप्त नभएसम्म साविकको उद्योग तथा वाणिज्यसम्बन्धी सेवा मात्र नियमित रूपमा सञ्चालन हुने र थपिएका सेवाहरू अर्को सूचना नभएसम्म सञ्चालन नहुने सूचनामा स्पष्ट पारिएको छ।
प्रदेश सरकारको निर्णयअनुसार यातायात कार्यालय नरहेका बागमती प्रदेशका ६ जिल्लाहरू धादिङ, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट र रसुवाका उद्योग कार्यालयहरूबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स), ब्लुबुक नवीकरण र पर्यटनसम्बन्धी काम सञ्चालन गर्ने घोषणा गरिएको थियो।
तर, सफ्टवेयर प्रणाली, प्राविधिक जनशक्ति र आवश्यक पूर्वाधारको व्यवस्था नै नगरी हतारमा निर्णय कार्यान्वयन गर्न खोज्दा अहिले यी जिल्लामा कार्यालयको बोर्ड मात्र फेरिएर सेवा नपाइने स्थिति बनेपछि स्थानीयले प्रदेश सरकारको फितलो व्यवस्थापनप्रति आक्रोश व्यक्त गरेका छन्।
कार्यालयले भने मन्त्रालयबाट आवश्यक निर्देशन, दरबन्दी र जनशक्तिको व्यवस्था भएपछि मात्रै पर्यटन तथा यातायातसम्बन्धी सेवा सुचारु गरिने जनाएको छ।








https://shorturl.fm/pQUQ1
https://shorturl.fm/YXd57