बाढीले फुर्केखोला पुल बगाएपछि रोकिएको धादिङको यातायात सेवा १५ दिनपछि सञ्चालनमा आउँदै

208 पटक पढिएको

२४ भाद्र २०८३, बुधबार ०८:३७ सम्पादक: धादिङ न्यूज

धादिङ, २४ भदौ – भोटेकोशीमा आएको विनाशकारी बाढीले धादिङ सदरमुकाम जोड्ने कालुपाण्डे मार्गस्थित फुर्केखोलाको पक्की पुल बगाएपछि गत भदौ १० गतेदेखि ठप्प रहेको धादिङ-काठमाडौँ तथा ग्रामीण भेगको यातायात सेवा  भदौ २५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ।

मुख्य सडक खण्ड अवरुद्ध भएपछि सदरमुकाम धादिङबेसीसहित उत्तरी र मध्य धादिङका ८ स्थानीय तह र गोरखाका केही भागमा यातायात तथा खाद्यान्न ढुवानी पूर्ण रूपमा प्रभावित भएको थियो। सडक अवरुद्ध भएपछि वैकल्पिक सडकका रूपमा प्रयोग गरिएको परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टार खण्डको स्तरोन्नति र मर्मत सम्भार सकिएकाले भोलिदेखि रोकिएका सवारी साधन सञ्चालन गर्न लागिएको धादिङ मण्डली यातायात प्रा.लि.का व्यवस्थापक जय भट्ट (सिताराम) ले जानकारी दिनुभयो।

बाढी तथा पहिरोका कारण उत्पन्न समस्यालाई सम्बोधन गर्न तथा सर्वसाधारणको आवतजावत सहज बनाउन जिल्ला विपद व्यवस्थापन समितिको सिफारिसमा  चार वटा वैकल्पिक सडकमार्ग सञ्चालनमा ल्याइएको छ। जसअन्तर्गत मास्टार (पृथ्वी राजमार्ग) बाट त्रिशूली पुल पार गर्दै केउरिनीटार, बेलिनटार, आदमटार, पिपलटार, गजुरीटार, नेपालटार र परेवाटार हुँदै धादिङबेसीसम्म वैकल्पिक मार्गबाट यात्रुवाहक सवारी साधन संचालन गर्न लागिएको हो ।

व्यवसायीहरूका अनुसार भोलिदेखि नियमित रूपमा सेवा सुरु हुने भए पनि वैकल्पिक बाटो हिलो, चिप्लो र साँघुरो रहेकाले यात्रा गर्दा उच्च सतर्कता अपनाउनुपर्नेछ। यातायात व्यवसायी तथा चालकहरूलाई सवारीको अवस्था जाँच गरेर मात्र चलाउन र यात्रुहरूलाई मौसम तथा सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अपिल गरिएको छ। आपत्कालीन आवतजावतलाई थप सहज बनाउन सरकारले यी मार्गहरूको मर्मत र स्तरोन्नतिको कामलाई निरन्तरता दिएको छ।