धादिङका १३ वटै पालिकामा आज नेपाली कांग्रेसको अधिवेशन, नयाँ नेतृत्व चयन हुँदै

3 पटक पढिएको

८ आश्विन २०८३, बिहीबार ०७:१९ सम्पादक: धादिङ न्यूज

धादिङः नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज धादिङ जिल्लाका सबै १३ वटै स्थानीय तहमा पालिका अधिवेशन हुँदैछ।

 नेपाली कांग्रेस धादिङका सचिव विकास श्रेष्ठले दिएको जानकारी अनुसार, यसअघि नै जिल्लाका १०४ वटै वडामा अधिवेशन सम्पन्न भई वडा समिति तथा क्षेत्रीय प्रतिनिधिहरूको चयन भइसकेको छ। केन्द्रीय समितिको निर्णयअनुसार बाढीपहिरो प्रभावित क्षेत्रहरूमा अनुकूल समय मिलाएर अधिवेशन गर्ने भनिए पनि धादिङ र नुवाकोटका वडाहरूमा भने तोकिएको प्रक्रिया पूरा भइसकेको छ, यद्यपि रसुवामा भने विशेष कारणवश केही दिनपछि मात्र अधिवेशन गर्ने तयारी गरिएको छ।

पालिका अधिवेशनले जिल्लाका दुई नगरपालिका र ११ गाउँपालिकामा आगामी पाँच वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ। नेपाली कांग्रेस धादिङका सहसचिव नवराज तिमिल्सिनाका अनुसार नयाँ विधान तथा निर्वाचन निर्देशिकाबमोजिम प्रत्येक पालिकामा एक सभापति, महिलासहित दुई उपसभापति, एक सचिव र एक सहसचिव गरी पाँच जना पदाधिकारी निर्वाचित हुनेछन् भने कोषाध्यक्षको पद निर्वाचित कार्यसमिति सदस्यहरूमध्येबाट पालिका सभापतिले मनोनयन गर्ने विधानमा व्यवस्था रहेको छ। सचिव विकास श्रेष्ठका अनुसार पालिकाको जनसंख्या तथा सांगठनिक संरचनाको आधारमा कार्यसमिति सदस्यहरूको संख्या फरक–फरक तय गरिएको छ, जसअन्तर्गत नीलकण्ठ नगरपालिकामा ४७, धुनीबेंसी नगरपालिकामा ३९, बेनिघाट रोराङ र थाक्रे गाउँपालिकामा ३७–३७, गजुरी र गल्छी गाउँपालिकामा ३३–३३, गंगाजमुना, त्रिपुरासुन्दरी, ज्वालामुखी र सिद्धलेक गाउँपालिकामा ३१–३१, रुबीभ्याली गाउँपालिकामा २९ तथा खनियाबास र नेत्रावती डबजोङ गाउँपालिकामा २७–२७ सदस्यीय कार्यसमिति निर्वाचित हुनेछन्।

यसअघि जिल्ला कार्यसमितिले असोज ७ गतेका लागि पालिका अधिवेशनको मिति निर्धारण गरेको भए पनि प्राविधिक कारणले गर्दा यसलाई एक दिन पछाडि सारिएको हो। धादिङका लागि केन्द्रीय निर्वाचन अधिकृत तोिनुभएका सुवास आचार्यले बुधबार साँझ औपचारिक सूचना प्रकाशन गरी नयाँ मिति असोज ८ गते (आज) का लागि तय गर्नुभएको थियो। आज हुने यस अधिवेशनले धादिङमा पार्टीको स्थानीय संरचनालाई थप सुदृढ बनाउँदै आगामी महाधिवेशनका लागि आवश्यक प्रतिनिधि चयन प्रक्रियालाई मूर्तरूप दिने विश्वास गरिएको छ।

यसैबीच, १५औँ महाधिवेशनका लागि धादिङ जिल्लाका १०४ वटै वडाबाट निर्वाचित भई आएका क्षेत्रीय प्रतिनिधिहरूको आधिकारिक तथ्यांक प्रस्तुत गर्दै सहसचिव तिमिल्सिनाले प्रतिनिधि सभा क्षेत्र नं. १, धादिङमा १२४६ जना र ५३ वटा वडाका ५३ जना वडा सभापति पदेन प्रतिनिधि सहित जम्मा १२९९ जना तथा प्रतिनिधि सभा क्षेत्र नं. २, धादिङमा १५९४ जना र ५१ वटा वडाका ५१ जना वडा सभापति पदेन प्रतिनिधि सहित जम्मा १६४५ जना रहेको जानकारी दिनुभएको छ। यसरी जिल्लाभरिबाट कुल जम्मा २८४० जना क्षेत्रीय प्रतिनिधि र १०४ वटा वडाका १०४ जना वडा सभापति पदेन प्रतिनिधि सहित कुल २९४४ जना प्रतिनिधिहरू यस महाधिवेशनमा समेटिएका छन्।