पृथ्वीराजमार्गबाट धादिङबेसी जोड्ने वैकल्पिक सडक , एम्बुलेन्ससमेत चल्न मुस्किल
95 पटक पढिएको
धादिङ – त्रिशूली नदीस्थित फुर्केखोलाको पक्की पुल बाढीले बगाएपछि जिल्ला सदरमुकाम धादिङबेसी र पृथ्वीराजमार्ग जोड्ने मुख्य सडक सञ्जाल विच्छेद बनेको छ। मुख्य सडक अवरुद्ध भएपछि सञ्चालनमा ल्याइएको वैकल्पिक मार्गको दुरावस्थाका कारण अहिले नागरिकले सास्ती खेप्नुपरेको छ।
राजमार्गबाट सदरमुकाम पुग्न र बाहिरिनका लागि कालुपाण्डे मार्गको परेवाटारबाट गजुरीटार, पिपलटार, आदमटार हुँदै मास्टार निस्कने बाटोलाई वैकल्पिक मार्गका रूपमा प्रयोग गरिएको छ। तर, साँघुरो सडक र जताततै जमेको हिलोका कारण उक्त सडकमा साना सवारीसाधन र एम्बुलेन्ससमेत सहजै गुड्न सक्ने अवस्था छैन।
फुर्केखोला पुल बगेपछि राजमार्ग निस्कने वैकल्पिक मार्गको रूपमा प्रयोगमा ल्याउन भन्दै सडक विभागले केही स्तरोन्नतिको काम गरे पनि लगातारको वर्षापछि अधिकांश ठाउँमा हिलो जमेर सवारी गुड्नै नसक्ने अवस्था भएको सर्वसाधारण बताउँछन्। अहिले सो सडकखण्डमा ठूला बस र मालवाहक सवारीसाधन मात्र जेनतेन जोखिम मोलेर चलिरहेका छन्।
वैकल्पिक सडकको अधिकांश भाग सिद्धलेक गाउँपालिकामा पर्छ, जहाँ सडकको अवस्था सबैभन्दा दयनीय रहेको छ। सडकको बिजोगका कारण धादिङका आठ स्थानीय तहका साथै छिमेकी जिल्ला गोरखाका तीन गाउँपालिकाका बासिन्दासमेत प्रभावित बनेका छन्। पटकपटक गुनासो गर्दा पनि सम्बन्धित निकायबाट सुनुवाइ नभएको स्थानीयको गुनासो छ।
सिद्धलेक–७ र गल्छी–२ को सिमानामा पर्ने आदमखोलामा खोलाको बहावका कारण पटक–पटक सवारीसाधन फस्ने गरेका छन्। शुक्रवार पनि सोही घटना दोहोरिन पुग्यो। बिरामी लिएर गुडेको एम्बुलेन्स नै खोलामा फसेपछि स्थानीयवासीको सहयोगमा उद्धार गर्नुपर्ने अवस्था सिर्जना भएको हो।
अत्यावश्यक सेवाका सवारीसाधनसमेत रोकिने अवस्था आएपछि स्थानीयवासीले आदमखोलामा तत्काल अस्थायी रूपमा हिमपाइप (कल्भर्ट) राखेर बाटो सहज बनाउन र दीर्घकालीन रूपमा पक्की पुल निर्माण गरी समस्याको दिगो समाधान गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।
यसैबीच, संयुक्त एम्बुलेन्स चालक समाज धादिङका अध्यक्ष भेषराज ठकुरी एम्बुलेन्स चालकहरूले भोग्नुपरेको जोखिम र दुखेसो पोख्नुहुन्छ। उहाँ भन्नुहुन्छ, “सबै सवारीसाधनलाई विपत् हुन्छ, एम्बुलेन्सलाई कहिले विपत् हुँदैन? एम्बुलेन्स चालकलाई न राज्यले इन्स्योरेन्स गरिदिएको हुन्छ, न कुनै बेला बिरामी हुँदा उपचार समेत हुन्छ।”
दिनरात, अविरल भदौरे झरी, हुरीबतास नभनी मृत्युको दोसाँधमा परेका मानिसहरूको उद्धारमा खटिनुपर्ने चालकहरूको व्यथा सुनाउँदै अध्यक्ष ठकुरी थप्नुहुन्छ, “न दिन, न रात, न चाडबाड; आफू बिरामी हुँदा समेत सेवा दिनुपर्छ। एम्बुलेन्स चालक पनि बिरामी हुन्छ भनेर बेलाबेलामा थर्काउने गर्छन्। के गर्ने, खोलाले अवरोध बनाए पनि, रुखले अवरोध बनाए पनि जिन्दगीलाई मृत्युको धारमा राखेर हिँडनै पर्ने एम्बुलेन्स चालकको कर्म नै यस्तै छ।”







