नागरिकता दुरुपयोग गरेर वैदेशिक रोजगारीको ठगीको आरोपमा धादिङका इश्वर खतिवडा पक्राउ

167 पटक पढिएको

१५ आश्विन २०८३, बिहीबार ०७:१३ सम्पादक: धादिङ न्यूज

धादिङ- धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको तारकेश्वर क्षेत्रमा बस्दै आएका ईश्वर खतिवडाले आफ्नो नागरिकताको प्रतिलिपि दुरुपयोग गरी वैदेशिक रोजगारीका नाममा ठगी गरेको भन्दै हरि तिमल्सेनाले प्रहरी तथा सम्बन्धित निकायमा उजुरी दिएका छन्।

तिमल्सेनाका अनुसार खतिवडाले उनको नागरिकताको फोटोकपी प्रयोग गरी आफूलाई ‘हरि तिमल्सेना’को परिचयमा काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, साततलेमा ‘व्लु डायमण्ड एचआर सर्भिस प्रा.लि.’ नामको कम्पनी सञ्चालन गरेको र विभिन्न देशमा रोजगारी पठाइदिने भन्दै रकम उठाएको तिमल्सेनाको आरोप छ।

उक्त घटनाका कारण पीडितहरूले मेनपावर संचालक व्यक्ति भएको ठानी आफूलाई वैदेशिक रोजगार विभाग, अपराध अनुसन्धान कार्यालय टेकु तथा काठमाडौं जिल्ला प्रहरी परिसरमा उजुरी गरेपछि आफू समस्यामा परेको तिमल्सेनाले बताएका छन्।

पीडितहरू आफ्नो ठेगाना खोज्दै सम्पर्कमा आएपछि उनीहरूले देखाएको फोटोका आधारमा वास्तविक व्यक्ति आफू नभएको स्पष्ट भएको तिमल्सेनाको भनाइ छ। त्यसपछि उनले आफ्नो नागरिकताको दुरुपयोग भएको भन्दै काठमाडौं प्रहरी परिसर, अपराध अनुसन्धान कार्यालय टेकु र वैदेशिक रोजगार विभागमा छुट्टाछुट्टै निवेदन दिएका थिए।

तिमल्सेनाको निवेदनपछि गरिएको अनुसन्धानका क्रममा खतिवडालाई पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाइएको र उनको नागरिकताको प्रतिलिपि कहाँबाट प्राप्त भयो तथा घटनामा अन्य व्यक्तिहरूको संलग्नता छ कि छैन भन्ने विषयमा समेत अनुसन्धान भइरहेको जानकारी प्राप्त भएको तिमल्सेनाले बताएका छन्।

तिमल्सेनाले आफू वैदेशिक रोजगारीसम्बन्धी कुनै पनि काममा संलग्न नरहेको र आफ्नो नाम तथा नागरिकताको प्रतिलिपि प्रयोग गरी कसैले वैदेशिक रोजगारीमा पठाउने वा रकम मागेमा त्यसमा आफू जिम्मेवार नरहेको बताएका छन्। उनले आफ्नो नाममा हुने सम्भावित ठगीबाट सचेत रहन सर्वसाधारणलाई आग्रह गरेका छन्।