मृगौला पीडित आशिषलाई माथिल्लो बेलुङ्ग समाजद्वारा ३० हजार रुपैयाँ आर्थिक सहयोग

10 पटक पढिएको

२४ आश्विन २०८३, शनिबार २२:४८ सम्पादक: धादिङ न्यूज

धादिङ, २४ असोज । दुवै मृगौला फेल भई उपचाररत धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नम्बर ४ का २६ वर्षीय आशिष थापा मगरलाई आर्थिक सहयोग प्रदान गरिएको छ।

माथिल्लो बेलुङ्ग समाज, त्रिपुरासुन्दरी–४ धादिङले पीडितको उपचारका लागि राहत स्वरूप नगद ३० हजार रुपैयाँ आर्थिक सहयोग गरेको हो।

काठमाडौँस्थित मनमोहन अस्पतालमा हाल नियमित डाइलाइसिस गराइरहेका थापाको तत्कालै मृगौला प्रत्यारोपण गर्नुपर्ने चिकित्सकहरूले जनाएका छन्। उपचारका लागि आर्थिक संकट झेलिरहेको थापा परिवारलाई सघाउने उद्देश्यले समाजका ज्येष्ठ सदस्य ताराबहादुर खत्रीले आज सो रकम पीडितका अभिभावक (आमा) हिरा थापा मगरलाई हस्तान्तरण गर्नुभयो।

सहयोग रकम हस्तान्तरण गर्दै समाजका प्रतिनिधिहरूले मृगौला प्रत्यारोपणका लागि ठूलो रकम आवश्यक पर्ने भएकाले देश-विदेशमा रहेका सम्पूर्ण मनकारी महानुभावहरूलाई आर्थिक सहयोगका लागि अपिल समेत गरेका छन्।