बूढीगण्डकी बाढी प्रभावित आरुघाटका ६५ परिवारलाई प्रयास नेपालको आपत्कालीन राहत सामग्री हस्तान्तरण
37 पटक पढिएको
धादिङ, असोज २६ गते। कारितास नेपालको सहयोग तथा स्थानीय तहको समन्वयमा प्रयास नेपाल, धादिङले बूढीगण्डकी नदीमा आएको बाढीबाट प्रभावित त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. २, आरुघाटका ६५ परिवारलाई आपत्कालीन राहत सामग्री हस्तान्तरण गरेको छ।
गाउँपालिका उपाध्यक्ष देवराज धरेलको रोहबरमा प्रयास नेपालका अध्यक्ष वीरबहादुर श्रेष्ठ तथा कार्यकारी निर्देशक दामोदर अर्यालसहितको टोलीले आरुघाट क्षेत्रका प्रभावित परिवारलाई असोज २५ गते राती सो सहायता प्रदान गरेको हो।
बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता परिपूर्ति गर्दै दैनिक जीवनयापन सहज बनाउने उद्देश्यले ६ लाख रुपैयाँ बराबरका खाद्यान्न तथा गैर-खाद्यान्न सामग्री वितरण गरिएको छ। राहत स्वरूप चामल, दाल, खाने तेल, नुन, चिउरा, बिस्कुट, चाउचाउ, आलु, प्याज, हरियो तरकारी र खानेपानी जस्ता दैनिक उपभोग्य खाद्यान्न उपलब्ध गराइएको छ। त्यसैगरी आधारभूत आवश्यकता पूरा गर्न कम्बल, फोम, त्रिपाल, नुहाउने तथा लुगा धुने साबुन, भाँडा माझ्ने सामग्री, मञ्जन-ब्रस र साना बालबालिकाका लागि ल्याक्टोजेन समेत प्रदान गरिएको छ।

राहत सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिका उपाध्यक्ष देवराज धरेलले स्थानीय सरकार र सामाजिक संस्थाबीचको प्रभावकारी समन्वय तथा सहकार्यका कारण विपद् प्रभावित परिवारलाई घटनाकै दिन तत्काल सहयोग पुर्याउन सम्भव भएको बताउनुभयो। प्राकृतिक विपत्तिबाट प्रभावित समुदायको जीवनयापनलाई सहज बनाउन र संकटको घडीमा आवश्यक सहायता उपलब्ध गराउन दुवै संस्थाले सहकार्य गरेको प्रयास नेपाल, धादिङका फिल्ड संयोजक ईश्वरी कोइरालाले जानकारी दिनुभयो।







