ठाकुरप्रसाद शर्मा प्रतिष्ठानद्वारा धादिङका प्रथम सरकारी शिक्षक स्व. पूर्णानन्द भट्टलाई ‘आदर्श शिक्षक पुरस्कार’ प्रदान गरिने

128 पटक पढिएको

२१ कार्तिक २०८३, शुक्रबार २०:५७ सम्पादक: धादिङ न्यूज

धादिङ –ठाकुरप्रसाद शर्मा प्रतिष्ठान, गजुरी-१, धादिङको आयोजनामा यस वर्षको प्रतिष्ठित ‘आदर्श शिक्षक पुरस्कार-२०८३’ धादिङ जिल्लाका प्रथम सरकारी शिक्षक स्व. पूर्णानन्द भट्टलाई मरणोपरान्त अर्पण गर्ने निर्णय गरिएको छ।
प्रतिष्ठानका १८३ जना आजीवन सदस्यहरू, पूर्व विद्यार्थीहरू तथा शुभेच्छुकहरूद्वारा अक्षय कोष खडा गरी धादिङ जिल्लाको पहिलो हाईस्कूल ‘आदर्श मा.वि.’ का संस्थापक शिक्षकहरू प्रा. कृष्णप्रसाद गौतम, सुमनदास श्रेष्ठ, हेमराज कँडेल, विष्णुकुमार श्रेष्ठ, खेमराज उप्रेती, टीकाबहादुर उप्रेती, स्व. गोपीनाथ रिजाल र स्व. कृष्णप्रसाद खरेलको सम्मानमा यो पुरस्कार स्थापना गरिएको हो। २५ हजार रुपैयाँ राशि रहेको यो पुरस्कार सरस्वती क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा धादिङका विद्वान व्यक्तित्व सहप्राध्यापक डा. रामहरि लम्सालको संयोजकत्वमा गठित सिफारिस समितिको निर्णयका आधारमा प्रदान गर्न लागिएको हो।
ज्वालामुखी-३, उखुबारी, धादिङ निवासी स्व. पूर्णानन्द भट्टले वि.सं. १९२४ देखि १९९९ सम्मको जीवनकालमा उखुबारीस्थित गुरुकुलको संस्थापक गुरु, धादिङ जिल्लाकै पहिलो सरकारी शिक्षक अर्थात् भाषा पाठशाला नेवारपानीका संस्थापक पण्डित, ज्योतिषी, शिक्षक, पुरोहित तथा प्रधान पण्डितका रूपमा धादिङ जिल्लाको शैक्षिक विकासमा अतुलनीय योगदान पुर्‍याउनुभएको थियो। उहाँले काशी, वनारसमा आठ वर्षसम्म बसेर संस्कृत व्याकरण, ज्योतिष, कर्मकाण्ड, भागवत र तर्कशास्त्र जस्ता विषयहरूको उच्च अध्ययन गर्नुभएको थियो र उहाँ एक मूर्धन्य विद्वान् हुनुहुन्थ्यो।
आदर्श शिक्षक पुरस्कार अर्पण समारोह आगामी २०८३ मंसीर ४ गते शुक्रबार दिउँसो १४:३० बजे आदर्श माध्यमिक विद्यालय, गजुरी-१, गजुरी बजार, धादिङको प्राङ्गणमा आयोजना हुनेछ। धादिङ जिल्लाका पहिलो हाईस्कूलका संस्थापक प्रधानाध्यापक, धादिङका उज्ज्वल शैक्षिक नक्षत्र तथा पूर्व राज्यमन्त्री ठाकुरप्रसाद शर्माको प्रमुख आतिथ्यमा उक्त समारोह सम्पन्न हुन गइरहेको छ। कार्यक्रममा सहभागी भई कार्यक्रमलाई भव्य रूपमा सफल बनाइदिनुहुन सम्पूर्ण स्थानीय अभिभावक, शिक्षासेवी, समाजसेवी, शिक्षक, विद्यार्थी, पूर्व विद्यार्थी, प्रतिष्ठानका आजीवन सदस्यहरू तथा शुभेच्छुक जनसमुदायमा ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले हार्दिक अनुरोध गरेको छ।