काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यमीलाई लक्षित गर्दै विशेष कर्जा सुविधासहित ‘एसएमई महोत्सव’ सुरु गरेको छ। लक्ष्मी पूजाको अवसर पारेर कात्तिक २२ गतेदेखि सुरु गरिएको यो योजना आगामी पुस मसान्तसम्म सञ्चालन हुनेछ।
उद्यमशीलता प्रवर्द्धन तथा व्यवसाय विस्तारका लागि सहज वित्तीय पहुँच उपलब्ध गराउने उद्देश्यले बैंकले विशेष अभियान सञ्चालनमा ल्याएको हो।
महोत्सवअन्तर्गत अन्य बैंक तथा वित्तीय संस्थाबाट लिएको व्यवसाय कर्जा मुक्तिनाथ विकास बैंकमा सार्दा (लोन स्वाप) आधार दरमै कर्जा सुविधा प्राप्त गर्न सकिनेछ। बैंकका अनुसार यस योजनामा आधार दरमा शून्य प्रतिशत प्रिमियम अर्थात् ‘बेस रेट प्लस शून्य प्रतिशत’ ब्याजदर लागू हुनेछ।
बैंकले विशेष गरी साना तथा मझौला व्यवसाय सञ्चालन गरिरहेका उद्यमीलाई प्रतिस्पर्धी ब्याजदरमा कर्जा उपलब्ध गराई वित्तीय भार कम गर्न र व्यवसाय विस्तारमा सहयोग पुर्याउने लक्ष्य लिएको जनाएको छ।
व्यवसायीको वित्तीय व्यवस्थापन सहज बनाउनुका साथै उद्यमशीलताको विकास र व्यावसायिक गतिविधि विस्तारमा यो अभियान सहयोगी हुने बैंकको विश्वास छ।
ग्राहकको आवश्यकता र व्यवसायको सम्भावनालाई प्राथमिकतामा राख्दै विभिन्न वित्तीय सेवा प्रदान गर्दै आएको बैंकले ‘एसएमई महोत्सव’ लाई उद्यमी तथा व्यवसायीसँगको सम्बन्ध थप सुदृढ बनाउने अवसरका रूपमा समेत लिएको छ।
बैंकले योजनाको लाभ लिन इच्छुक व्यवसायी तथा उद्यमीलाई नजिकको शाखा कार्यालयमा सम्पर्क गरी विस्तृत जानकारी लिन आग्रह गरेको छ।