रुवीभ्यालीमा ९० प्रतिशत काम सम्पन्न

684 पटक पढिएको

सम्पादक: Dhading News

ruby valley पर्यटन व्यवसायीहरू माझ चर्चा र चासोको विषय बनिरहेको धादिङ जिल्लाको गणेश हिमाल क्षेत्रमा रहेको नयाँ पर्यटकीय गन्तव्य रुवीभ्याली क्षेत्रको औपचारिक शुभारम्भको तयारी भइरहेको छ । गणेश हिमाल पर्यटन विकास समितिको अगुवाइमा रुवी भ्यालीलाई नयाँ गन्तव्यको रूपमा शुभारम्भ गर्ने तयारी भएको हो ।

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) र नेपाल मार्केट डेभलपमेन्ट प्रोग्राम (एनएमडीपी) अर्थात सामर्थ नेपालबीच भएको रुवीभ्याली क्षेत्रको पर्यटन प्रबद्र्धन गर्ने सहमतिअनुसार न्यूनतम पूर्वाधार विकासका काम भएका छन् । रुवीभ्यालीमा आवश्यक पूर्वाधार निर्माण गरेर यो गन्तव्यलाई आगामी अक्टोबर १ देखि खुला गर्ने तयारी भइरहेको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कूलबहादुर गुरुङले बताए ।

७ रात ८ दिनको पदयात्रा मार्गसहितका नयाँ पर्यटकीय गन्तव्यको प्रवद्र्धन गर्न आवश्यक गृहकार्य भइरहेको छ । यो क्षेत्रमा सामर्थकै सहयोगमा करिब ३ करोड २० लाख रूपैयाँ प्राप्त भएको थियो । ६ महिना अगाडि प्राप्त सोही रकमबाट यो क्षेत्रमा पर्यटकीय पूर्वाधार बनाउने काम भइरहेको छ । पूर्वाधार निर्माणका लागि भएको पहिलो चरणको कामअन्तर्गत ९० प्रतिशत काम सकिएको पनि गुरुङले जानकारी दिए ।

काठमाडौंबाट स्याफ्रुबेसी–गत्लाङ–सोमलाङमा हुँदै जाने यो पदयात्रा मार्गमा टि हाउस तथा कम्युनिटी लज बनेको उनले बताए । पाल्दोर पीक बेसक्याम्प, पाङसाङ पास, सोमदाङ, तिप्लिङसहित गन्तव्यमा पूर्वाधार बनेको छ । यो पूर्वाधारबाट रुवीभ्याली क्षेत्रमा पर्यटन प्रवद्र्धन गर्न सहज हुने समितिको भनाइ छ । रुवीभ्याली क्षेत्र प्रवेश रसुवाको स्याफ्रुबेसीबाट गत्लाङ, सोमलाङ हुँदै पाङसाङपास भएर गर्न सकिन्छ । तिप्लिङ, चालिस तातो पानी, बोराङ, झार्लाङ, सत्यदेवी, धादिङबेंसीसम्मको पदयात्रा मार्ग सकाएर काठमाडौं आउन सकिने गरी प्याकेज नै बनेको समितिको भनाइ छ । विभिन्न प्याकेज बनाएर यो क्षेत्रको प्रवद्र्धन गर्न सकिने भए पनि अहिलेलाई भने ७ रात ८ दिनको पदयात्रा मार्गको प्याकेज प्रवद्र्धनमा विशेष जोड दिइएको टानले जानकारी दिएको छ ।

औपचारिक शुभारम्भको तयारीमा छौं– अध्यक्ष

भर्जिन गन्तव्यको रूपमा परिचित रुवीभ्याली क्षेत्रमा पर्यटक पठाउनको लागि योग्य भएको भन्दै औपचारिक शुभारम्भको तयारीमा रहेको गणेश हिमाल पर्यटन विकास समितिका अध्यक्ष कुलबहादुर गुरुङले बताउनु भयो । यस ट्रेकिङ रुट धादिङ तथा छिमेकी जिल्ला रसुवा र गोरखा जिल्लाको पर्यटन प्रवद्र्धन गर्न सहज हुने पदयात्रा मार्गको रूपमा चिनिदै आएको छ । यो पदयात्रा मार्गमा जान चाहने पर्यटकले दैनिक ३५ देखि ५० डलरसम्म खर्च गरेर यात्रा गर्न सक्छन् । टान, समिति, सामथ्र्यसहितका पर्यटकीय संघ–संस्थाको एउटै मात्र उद्देश्य रुवी भ्यालीको प्रबद्र्धन गर्ने र नयाँ गन्तव्यका रूपमा प्रचारप्रचार गर्ने नै हो । रुवी भ्यालीमा न्यूनतम पूर्वाधार विकासका काम भएकाले अब यो क्षेत्रको यात्रामा पर्यटक जान सक्छन् । टानकै नेतृत्वमा यो गन्तव्यको पहिचान गर्ने काम भएको हो । सामथ्र्यको आर्थिक सहयोगबाट गन्तव्य प्रवद्र्धन तथा पूर्वाधार विकासमा उल्लेख्य सहयोग मिलेको छ ।

कहाँ के बन्यो ?

टेन्ग्रो खोला पुल – काम हुँदै

पाङसाङपासमा पोर्टर सेल्टर – ९० प्रतिशत सकियो

पाङसाङपास भ्यू प्वाइन्ट – काम पूरा

पाल्दोर पीक पोर्टर सेल्टर – ९० प्रति सकियो

लाप्दुङ खोला पुल – काम हुँदै

सोमदाङ–पाङसाङपास सिग्नेज – सुरु भएको छैन

हिन्दुङ–सेतो कुण्ड पदमार्ग निर्माण ¬– काम पूरा

लाप्चेत–खादिङ पदमार्ग निर्माण – काम पूरा

खादिङ–यार्सा–खादिङ पदमार्ग निर्माण – काम पूरा

लापा–माग्नेडाँडा पदमार्ग निर्माण – काम पूरा

लापा क्लिफकट तथा पदमार्ग निर्माण – काम पूरा

माग्ने डाँडा–बसेरी पदमार्ग – काम हुँदै

झार्लाङ पदमार्ग निर्माण – काम पूरा

दार्खा पदमार्ग निर्माण – काम पूरा

सत्तेदेवी पदमार्ग निर्माण – काम पूरा

मार्पाक पदमार्ग निर्माण – काम पूरा

बरुन्चेत पदमार्ग निर्माण – काम पूरा

कटुञ्जे पदमार्ग निर्माण – काम पूरा

सेम्जोङ पदमार्ग निर्माण – काम पूरा

साङ्कोष पदमार्ग निर्माण – काम पूरा

जुम्रेडाँडा भ्यूप्वाइन्ट निर्माण – सुरु भएको छैन

बसेरी तीनसुरे भ्यूवाइन्ट निर्माण – ८५ प्रतिशत सकियो

धुसा गुफा व्यवस्थापन – काम सुरु भएको छैन

(श्रोतः पर्यटन न्युज डट कम / गणेश हिमाल पर्यटन विकास समिति)