मै हुँ मौरीबाजे

797 पटक पढिएको

सम्पादक: Dhadingnews.com

केशव अर्याल

धादिङ, नलाङ गाबिस –७ का केशव अर्याल मौरीपालक किसान हुन् । ०४९ देखि मौरीपालनमा लागेका उनी आमकिसानको परिचयमा मात्रै सीमित भने छैनन् । उनी घारमा मात्र होइन, शरीरमा समेत मौरी राखेर चर्चामा छन् । मौरीकै दाह्री बनाउने, टाउकामा टोपीजस्तो बनाउने, मफलर बनाउनेजस्ता कामले उनलाई चर्चामा ल्याइरहेको छ । मौरीपालनमै जीवन बिताउने सोचका साथ समर्पित अर्यालको मौरी अनुभव यस्तो छ :

मौरीपालन व्यवसायमा ०४९ सालदेखि लागिरहेको छु । न्युजिल्यान्ड र तत्कालीन सरकारले संयुक्त रूपमा आयोजना गरेको एकमहिने मौरीपालनको व्यावसायिक तालिम लिएर यो क्षेत्रमा लागेको हुँ । तालिमका वेला देखाइएको एउटा भिडियोले मलाई शरीरमा मौरी राख्ने इच्छा जागेको हो । भिडियोमा एक भियतनामी मौरीपालक पुरुषले मौरीको दाह्री बनाएर निकै समयसम्म राखेको दृश्य देखाइएको थियो । त्यो भिडियो हेरेपछि मैले पनि शरीरमा मौरी राख्न सक्छु भन्ने लाग्यो ।

०००

तालिम लिएलगत्तै मैले ०५२ सालमा करिब १५ घारजति मौरी राखिसकेको थिएँ । राम्रो काम देखेर होला, सरकारले विदेशी दातासँग मिलेर पहाडी क्षेत्रमा मौरीको खाना, आवास, रोग, मह उत्पादन आदिका बारेमा परीक्षण गर्ने काम मेरै घर आएर एक वर्षसम्म गर्‍यो । मौरी घारमै पुगेर परीक्षण गर्नुपर्ने भएकाले सानो–तिनो अफिस पनि मेरै घरमा राखिएको थियो । एकवर्षे परीक्षण कालकै अवधिमा एकपटक मेरो घरभन्दा करिब १० मिनेटको दूरीमा रहेको जंगलबाट मौरी ल्याउने कुरा भयो । जंगलको एउटा रुखको टोड्कामा मौरीको घार थियो । मैले त्यही समयमा पहिलोपटक मौरीलाई शरीरमा राखेर आफ्नो घरको घारसम्म ल्याउने जमर्को गरँे ।
मैले त्यसअघि मौरीलाई कहिल्यै शरीरमा राखेको थिइनँ । भिडियोमा देखेबाहेक अन्यत्र देखेको पनि थिइनँ । तैपनि जंगलबाट दाह्री बनाएर मौरी घरसम्म ल्याउँछु भन्ने आँट गरेँ । मौरी परीक्षण गर्न आएका विदेशीले त ‘त्यसो नगर’ भनेर साथ दिएनन् । ‘मौरीले टोक्छ’ भनेर उनीहरू डराए । तर, मैले आफ्नो निर्णय बदलिनँ । मौरीले टोकेरै मरियो भने पनि देशभर नाम चल्छ । बाँचे त झन् नाम चल्छ भन्दै जंगलबाट दाह्री बनाएर मौरीलाई घारसम्म ल्याउने निधो गरेँ । अन्तिममा विदेशीले पनि साथ दिए र गाउँमा समेत हल्ला फैलियो ।
त्यसपछि करिब डेढ सयको हुल लिएर जंगलको टोड्कामा बसेको मौरीको घारसम्म पुगियो । मौरीलाई शरीरमा ल्याउन पहिला रानो टिपेर शरीरमा राख्नु जरुरी हुन्छ । मैले बाहिरका मौरीलाई बिस्तारै धपाएर रानो पिटेर शरीरमा राखेँ । रानोलाइ शरीरमा अडाउन सानो पिँजडा नै बनाएको थिएँ । अन्य मौरीभन्दा रानो ठूलो, लाम्चो, चिल्लो र हल्का पहेँलो रङको हुन्छ, त्यसैले छुट्याउन समस्या भएन । मैले रानोलाई घाँटीमा राखेँ ।
त्यसपछि बिस्तारै अन्य मौरी मुखवरिपरि आउन थाले । जिउ, चिउँडो र ढाडतिर मौरी बसेका थिए । टोड्काबाट सबै मौरी आएपछि घरतिर लागेँ । तर, पहिलोपटक केही सावधानी अपनाउन नसक्दा धेरै मौरीले टोकेका छन् । खासगरी कान र नाकका प्वाल रुवाले टाल्न बिर्सेको रहेछु । जसले गर्दा नाक र कानमा मौरीहरू छिरे । त्यस्तै, घाँटीमा कसिलो हुने गरी कपडा नलगाउँदा शरीरभित्र पनि मौरीहरू पसेर टोके । तर पनि, म अत्तालिइनँ । अत्तालिएको भए त झन् धेरैले टोक्ने थिए । त्यसैले सहेरै बसेँ ।
पहिलोपटक धेरै मौरीले टोक्दा त निकै पोल्यो । र्‍यालसिँगान भयो । तर पनि, घरसम्म मौरी ल्याएर घारमा राखिछाडेँ । जंगलबाट घर फर्कन १० मिनेटको दूरी थियो । तर, गाउँले र इष्टमित्रको घुइँचो लागेकाले झन्डै आधा घन्टा लाग्यो । र, शरीरमा पहिलोपटक मौरीलाई राख्न सफल भएँ ।
पछि पनि मैले सावधानीपूर्वक यो कार्य दोहोर्‍याएँ । अहिलेसम्म देशका विभिन्न २६ स्थानमा मौरी शरीरमा राखेर प्रदर्शनी गरिसकेको छु । कहिले मुखमा मौरीको दाह्री बनाउने, कहिले टाउकोमा टोपी बनाउने, कहिले घाँटीमा मफलर बनाउने गर्दै आएको छु । यस्तो गर्दा मौरीले टोक्छ, तर सहेर नै प्रदर्शनी गर्दै आएको छु । आजभोलि त एक/दुई मौरीले टोक्दा दुखाइको अनुभव हुन छाडिसकेको छ ।

०००

मौरीले मानिसलाई हत्तपत्त टोक्दैन । किनकि, टोकिसकेपछि मौरी मर्छ । अर्को कुरा, मौरीलाई सामान्य रूपमा चलायो भने भाग्दैन, उड्दैन । मौरीको रानो त झन् सोझो हुन्छ । जहाँ राखिदियो त्यहीँ चुपचाप बस्छ । जसले गर्दा सजिलै घारबाट उठाएर रानोलाई शरीरमा ल्याएर राख्न सकिन्छ । रानोमा थेरोमिन नामक गन्ध हुन्छ । यो गन्ध मौरीलाई औधी मनपर्छ । त्यसैले उनीहरू रानोको छेउमै झुम्मिरहन्छन् । मौरीको यही विशेषताका कारण शरीरमा राख्न सम्भव भएको हो । तथापि, मौरीलाई शरीरमा राख्नु चुनौतीपूर्ण काम हो । घारबाट मौरीलाई निकाल्न उचित समय पर्खनुपर्छ । खासगरी बाहिरको मौसम बढी चिसो र तातो भएको वेला मौरीलाई घारबाट झिक्यो भने बढी चिल्छ । बढी चिसो र बढी तातोमा मौरीहरू रिसाउँछन् र चिल्छन् । त्यसैले सकेसम्म बिहान– बेलुकाको चिसो मौसम र दिउँसोको चर्को घाममा मौरीलाई शरीरमा राख्ने काम गर्दिनँ । बिहान आठदेखि नौ बजे र दिउँसो दुईदेखि चार बजेको समय उत्तम हुन्छ । यो वेलाको तापक्रम घारभित्रको तापक्रमसँग मिल्दोजुल्दो हुन्छ ।

०००

घारमा रहेका मौरी शरीरमा ल्याउन पहिलो धुवाँ लगाएर सासले बिस्तारै फुकेर हटाउनुपर्छ । त्यसपछि रानो टिपेर शरीरमा राख्नुपर्छ । त्यसपछि पनि मौरी सजिलै त आउँदैनन्, पुरानै घारमा फर्किन्छन् । त्यसैले रानो लिएर घारकै नजिक गएर बस्नुपर्छ र घार फर्केका मौरीलाई धपाउँदै बिस्तारै रानो भएको शरीरतिर आकर्षण गर्नुपर्छ । पुरानो घारबाट मौरीलाई धपाउने र शरीरमा तान्ने काम गर्न आधा घन्टासम्म लाग्न सक्छ । शरीरमा करिब ६/७ हजार मौरी आएपछि मात्रै घार छाडेरे हिँड्नुपर्छ अनि बाँकी रहेका मौरी पनि शरीरतिरै आउँछन् । शरीरबाट मौरीलाई घारमा राख्न भने सजिलो छ । हातले बिस्तारै सोहोर्दै घारमा मौरीलाई राख्ने हो । करिब पाँच मिनेटभित्र शरीरमा रहेका मौरीलाई घारमा राख्न सकिन्छ ।

०००

मौरीलाई शरीरमा राखेर म तीन घन्टासम्म बसेको छु । गत वर्ष काठमाडौंको भृकुटीमण्डपमा घरेलु उद्योग महासंघले गरेको प्रदर्शनीमा सबै स्टल चहार्दै, सबैसँग फोटो खिच्दै हिँड्दा तीन घन्टा बितेको थियो । मानिसको कोलाहलबीच संयमतापूर्वक मैले मौरीलाई दाह्री बनाएर राखेको थिएँ । त्यस्तै, दसैँअघि आयोजना गरिएको मह महोत्सवको वेला पनि एक घन्टा मौरीको दाह्री बनाएर बसेको थिएँ । अन्य समयमा भने आधा घन्टासम्म राख्ने गरेको छु । प्रतिस्पर्धा नै भयो भने त धेरै सकिएला, तर अहिले पनि ६/७ घन्टासम्म मौरीलाई आरामले शरीरमा राख्न सक्छु जस्तो लाग्छ ।

अविस्मरणीय घटना

०६२/६३ तिर हुनुपर्छ । जेठ महिनामा ठूलो हावाहुरी आएको थियो । जसले धादिङको कोष तथा नियन्त्रण कार्यालयको माथिल्लो भागमा राखेका मौरीको घार तल झारिदिएको रहेछ । घार नै तल झरेपछि मौरीहरू त बिच्किने भई नै हाले । अर्कातिर हावाहुरीका कारण मौसम चिसो भयो । त्यसकारण मौरीले काम गरिरहेका कर्मचारीलाई चिल्न थाले । सुरक्षाकर्मी तैनाथ हुँदासमेत केही लागेन । सुरक्षाकर्मी पनि चारवटा राइफल घारकै छेउमा छाडेर भागेछन् । अन्य कर्मचारीलाई सुरक्षित पारेपछि पनि राइफल झिक्न सकेनछन् । त्यसवेला कता बाट हो, मेरो कुरो सिडिओ र डिएसपीसम्म पुगेछ । त्यसपछि उहाँहरू मेरो सहयोग लिन आउनुभयो । मैले पनि सहर्ष स्वीकार गरँे ।
कोष कार्यालयछेउ पुग्दा सबै जना पर–पर थिए । मौरीले चिल्ने डरले कोही नजिक जान सकिरहेका थिएनन् । म भने सुरिएर गएँ र राइफल टिपेँ । जीवनमा पहिलोपटक मैले राइफल छोएको थिएँ । राइफल टिप्न जाँदा मौरीले मलाई पनि चिले, तर मौरीको चिलाइ धेरै खपिसकेकाले धेरै अत्तालिइनँ । मलाई लाग्छ, झन्डै हजार मौरीले मलाई चिलेका थिए होलान् । एउटै घारमा २० हजारभन्दा बढी मौरी हुन्छन्, त्यसैले एक हजारले टोके होलान् भन्ने मेरो अनुमान हो ।
मलाई मौरीले चिलेको देखेर सिडिओ र डिएसपी अत्तालिसकेका थिए । सिडिओले त अस्पताल जान कर गरिरहनुभएको थियो । तर, मैले आवश्यक ठानिनँ र तल झरेको मौरीको घारलाई अफिसको माथिल्लो भागमै लगेर राखिदिएँ । त्यसपछि सिडिओ कार्यालय गएँ । त्यहीँ खानासमेत खाएँ । तर, दुई घन्टाजतिचाहिँ चटपटाउन पनि सकिनँ । पछि बिस्तारै हिँडेँ । शरीरमा रहेका मौरीका खिललाई पछि चक्कुले तासेर (दाह्री काटेजस्तै) निकालेको थिएँ ।

प्रस्तुति : अजित अधिकारी / नयाँ पत्रिका दैनिक बाट