बेलायतका वरिष्ठ प्राध्यापक सिम्खडा रिसर्च विद्यालयको निर्देशकमा नियुक्त

641 पटक पढिएको

सम्पादक: Dhadingnews.com

Padam

लन्डन /बेलायतको प्रतिष्ठित एउटा विश्वविद्यालयका वरिष्ठ प्राध्यापक डा. पदम सिंखडाले बेलायतस्थित एक रिसर्च बिद्यालयको निर्देशक पदमा नियुक्ति पाएका छन् । यूकेस्थित सेफिल्ड विश्वविद्यालयले उनलाई हालै स्वास्थ्य तथा सम्बन्धित रिसर्च विद्यालयको इन्टर्नलाइजेसन कमिटीमा निर्देशक पदमा नियुक्त गरेको हो ।

सिम्खडालाई विश्व विद्यालय र शिक्षाको विश्वव्यापी सम्बन्ध विस्तार, पहिचान र निर्माण साथै प्रतिनिधित्व गर्दै ज्ञानको आदान प्रदान गर्न मुख्य जिम्मेवारी दिइएको छ । उक्त कमिटीले विश्व विद्यालय अन्तर्गत विश्वभर रहेका सम्वन्धन प्राप्त संघ संस्था तथा स्कुलहरुसँग नियमित परामर्श, सूचना आदान प्रदान र उचित परीक्षण व्यवस्था मिलाउने छ ।

हाल उनी सेफिल्ड विश्वविद्यालयमा वरिष्ठ प्राध्यापकका रुपमा अन्तर्राष्ट्रिय हेल्थ स्कूल तथा हेल्थ रिसर्च सम्बन्धि काममा व्यस्त छन् । यसअघि सेफ द चिल्ड्रेन र नेपालको स्वास्थ्य मन्त्रालयमा काम गरिसकेका उनी एकताका पोखरा विश्वविद्यालयको नोवेल कलेज र त्रिभुवन विश्वविद्यालय अन्तर्गत मनमोहन मेमोरियल इन्स्टिच्युटमा भिजिटिङ्ग प्रोफेसरका रुपमा कार्यरत थिए ।

डा. सिम्खडा विश्व स्वास्थ्य क्षेत्रमा स्थापित रिसर्चरका रुपमा चिनिन्छन् । उनका ६० भन्दा बढि स्वास्थ्य सम्बन्धि अनुसन्धानात्मक लेख स्वदेश तथा विदेशका विज्ञान सम्बन्धि जर्नलमा प्रकाशित भइसकेको छ । झण्डै ५० वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा सम्मेलनमा भाग लिइसकेका सिम्खडाकै निरीक्षणमा हाल कयौं नेपाली तथा विदेशी विद्यार्थी विद्यावारिधी गरिरहेका छन् भने आधा दर्जन विद्यार्थीले यसअघि उनकै प्रशिक्षणमा विद्यावारिधी गरिसकेका छन् ।

सेफिल्ड विश्वविद्यालयमा एक सय १७ मुलुकका करिव २५ हजार विद्यार्थीले अध्ययन गरि सकेका तथ्यांक छ । यी विद्यार्थीहरु विश्वका एक हजार दुई सय ९ वटा उत्कृष्ट शिक्षा केन्द्रबाट सेफिल्डमा अध्ययनका लागि आएका हुन् । सेफिल्ड यूकेस्थित एक नेतृत्वदायी विश्वविद्यालय हो । शिक्षा क्षेत्रमा विश्वमाझ महत्त्वपूर्ण पहिचान बनाई सकेको यस विश्वविद्यालयमा विश्वस्तरिय प्राविधि र अनुसन्धानबीच महत्पूर्ण विषयमा विभिन्न रिसर्च सम्पन्न भइसकेको छ । फलस्वरुप यस विश्वविद्यालय २०११ को ‘टाइम्स हायर एजुकेसन अवार्ड’ बाट सम्मान भइसकेको छ ।

राम्रो अध्यापन, सफल रिसर्च र व्यवसायिक सफलताका कारण सेफिल्डका भूतपूर्व ५ कर्मचारी र विद्यार्थीले नोवेल पुरस्कार जितिसकेका छन् ।