गुरु सभासद बनेपछि कल्पना धमलाबाट दोसल्ला ओढार सम्मान

873 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ, /आफूलाई अक्षरसँगै राजनीतिको कखरा सिकाउने गुरु सभासदमा निर्वाचित भएको खबरबाट निकै खुसी बनेकी कल्पना धमलाले शनिबार धादिङबाट निर्वाचित सभासदहरुलाई दोसल्ला ओढार सम्मान गर्नुभयो ।

९ कक्षामा पढ्दा पढ्दै राजकाज मुद्दा लागेपछि पढाई छाड्न वाध्य भएकी कल्पना शनिबार निकै प्रफुल्लित देखिनुभएको थियो । २०४२ सालमा धादिङको चैनपुरमा रहेको सालवास माविमा अन्तर्राष्ट्रिय महिला दिवस मनाईरहँदा राजतन्त्रविरुद्ध भाषण गरेको आरोपमा पञ्चायती शासकले धमलालाई राजकाज मुद्दा लगाएर पक्राउ आदेश जारी गरेका थिए ।

धमलालाई राजकाज मुद्दा लाग्दा उहाँलाई बचाउन साथ दिने दुई जना यतिबेला धादिङबाट सभासदमा निर्वाचित भएका छन् । धादिङ २ बाट निर्वाचित सभासद गुरुप्रसाद बुर्लाकोटी सालवास माविको शिक्षक हुनुहुन्थ्यो भने धादिङ ३ का सभासद राजेन्द्र पाण्डे गजुरीका शिक्षक एवं तत्कालिन नेकपा मालेका जिल्ला प्रमुख । बुर्लाकोटी र पाण्डेको सल्लाहमा धमलालाई त्यतिबेला धादिङबाट रातारात काभ्रे जिल्ला पुर्‍याएर पार्टीका नेताको जिम्मामा विद्यालय भर्ना गराइएको थियो । पञ्चायती शासकले धमलालाई पक्राउका लागि विद्यालयमा प्रहरी परिचालन गरेपछि शिक्षकहरुको मिलेमतोमा धमलालाई भूमिगत शैलीमा काभ्रे पुर्‍याएर पक्राउ पर्नबाट जोगाईएको सभासद एवम एमाले धादिङका संस्थापक बुर्लाकोटीले बताउनुभयो । आफूलाई जोगाउने तत्कालिन शिक्षक गुरुप्रसाद बुर्लाकोटी र राजेन्द्र पाण्डे सभासदमा निर्वाचित भएको खबर सुनेको दिनदेखि आफूलाई निकै हर्ष लागेको बताउने धमला खुसी साट्न शनिबार काठमाडौंबाट सल्यानटार पुग्नुभयो ।

उहाँले ठट्यौली पारामा भन्नुभयो, ‘मेरो नाम एकीकृत नेकपा माओवादीका उम्मेदवार कल्पना धमलासँग मिलेपनि म अर्कै कल्पना हुँ ।’ संविधान सभा निर्वाचनमा धादिङ जिल्लाको तीनवटै क्षेत्रमा एमालेले विजयी भएपछि सभासदहरु यतिबेला गाउँ गाउँमा पुगेर मतदातालाई धन्यवाद दिन व्यस्त छन् । शनिबार सल्यानटार गाविसमा तीनै जना सभासदलाई सामूहिक रुपमा सम्मान गरिएको छ । नेकपा एमाले सल्यानटार गाउँ कमिटीको आयोजनामा भएको सभासद सम्मान कार्यक्रममा धादिङ १ का धनबहादुर घले, २ का गुरुप्रसाद बुर्लाकोटी र ३ का राजेन्द्रप्रसाद पाण्डेलाई सम्मान गरिएको उज्यालो अनलाइनले खबर लेखेको छ । हो ।