जसले धादिङलाई अदुवामय बनाए……….

781 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धादिङ,– चाउरी परेका गाला । सेतै फुलेका दाह्री । मुजा परेको निधार । कम्मरमा पटुकी बाँधेर फलैंचामा बसिरहेका थिए, केवलपुर–४, पौडेल गाउँका ६६ वर्षीय कुलप्रसाद पौडेल । जसले छिमेकी कृषकलाई अदुवाखेती गर्न प्रेरित गरेका थिए । तर, सोचेका थिएनन्, धादिङ जिल्लै अदुवामय बन्छ भनेर ।1229863_10152188682644908_221779384_n
हाल केवलपुर, जीवनपुर, थाक्रे, तर्सपु, भुभेस्थान, वैरेनी, किराञ्चोक, पिडाँ, सुनौलाबजार, खाल्टेलगायत गाविसका करिब ३ हजार १ सय ३ कृषक परिवार अदुवाखेतीमा आबद्ध छन् । कृषि विकास कार्यालयका वागवानी विकास अधिकृत केशव घिमिरेका अनुसार गत वर्ष धादिङमा ५ सय ११ हेक्टरमा खेती गरिएको थियो भने ६ हजार ८ सय १३ टन उत्पादन भएको थियो ।
“तर व्यावसायिक अदुवाखेती कसले सुरु गरेको भन्नेबारेमा कार्यालयमा कुनै तथ्यांक छैन,” उनले भने । अगुवा कृषक एवं कृषि वन तथा वातावरण समितिका सदस्य श्यामचन्द्र आचार्यले भने जिल्लामा अदुवाखेती भित्र्याउने कुलप्रसाद नै रहेको ठोकुवा गरे ।
नुवाकोट र मकवानपुरमा पनि उनकै कारण अदुवाखेती विस्तार भएको बताइन्छ । अहिले कुलप्रसाद पौडेल ‘अदुवा बाजे’का नामले परिचित छन् । यो नामले परिचित हुनुमा पत्नी विष्णुकुमारीको ठूलो सहयोग रहेको उनी बताउँछन् ।
धादिङले अदुवाबाट मात्र गत वर्ष करिब ३० करोड आम्दानी गरेको व्यापारी बद्री बाँस्कोटाले दाबी गरे । उनी २० वर्षदेखि अदुवा व्यापार गर्दै आएका छन् ।
कसरी सुरु गरे ?
कुलप्रसाद ०३६ सालमा परिवारबाट छुट्टिएका थिए । तर, उनलाई घरपरिवार चलाउने चिन्ता प¥यो । अधिकांश लामीडाँडावासी नगदेबालीका रूपमा उखुखेतीमात्र गर्थे । त्यसको खुदो बेचेर उनीहरू घर परिवार चलाउँथे । लामीडाँडाको खुदो कालीमाटी भीमसेनस्थानसम्म बोकेर पु¥याउनु पनि कम चुनौतीपूर्ण थिएन । “त्यही चिन्ताले निकै पिरोलिएको थिएँ,” उनले भने, “तर खुदो बोकेर कालीमाटी पुगिरहनुको विकल्प थिएन ।”
सोही साल एकदिन काठमाडौंको कालीमाटीमा ‘अदुवाखेतीलाई पानी चाहिँदैन’ भन्दै धरान घर बताउने एक अपरिचित मानिस अरूसँगै कुरा गरेको उनले सुनेका थिए । “मैले उनैसँग अदुवाखेतीबारे बुझें,” उनले विगत सम्झिए । अपरिचत मानिसले ‘दुःखमा खर्च पनि टर्छ खेती गर्न पानी पनि चाहिँदैन’ भनेपछि हौसिएका पौडेलले घर फर्किंदा ५ धार्नी अदुवा किनेर ल्याएछन् ।
लामीडाँडामा एकाएक ५ धार्नी बीउ अदुवा भित्रिँदा हलचल नै मच्चियो । “धार्नीको २२ रुपैयाँका दरले किनेर अदुवा लगाएको देख्नेहरूले ‘कुले बहुलायो’ पनि भने,” उनले सम्झिए, “उखु र मकै फल्ने बारीमा अदुवा लगाएछ भनेर गाउँभरि अनाहकमा हल्ला पिटियो ।”
५ धार्नी बीउबाट २० धार्नी अदुवा फल्यो । “छिमेकीलाई लैजाऊ भन्दा पनि लगेनन् । अर्को साल सबै रोपें । ८० धार्नी फलेछ । गाउँमा हल्ला पनि फैलिँदै थियो,” उनले भने । त्यसपटक भने नुवाकोट जलजलाका कृषकले ११ रुपैयाँ धार्नीका दरले २० धार्नी अदुवा किनेको उनले सम्झिए ।
अर्को वर्ष छिमेकी र अन्यले पनि किनेर लगे । “त्यसपछिका ५ वर्षसम्म बीउ बेचेर पु¥याउन सकिएन, गाउँभरि खेती फैलियो, पुस्तौंदेखि गरिँदै आएको उखुखेती भित्र्याउनै गाह्रो हुन्थ्यो, अदुवा भित्रिएपछि उखु मासिँदै गयो,” यसो भनिरहँदा अदुवा बाजे निकै हौसिएका देखिन्थे । उनको अनुहार निकै उज्यालो भयो । थपे, “मैले अदुवाखेती सुरु गर्नुअघि सम्म सुत्केरीलाई ज्वानुको झोल खुवाउन मसलासँगै अदुवा पनि कालीमाटीबाटै किनेर ल्याउने चलन थियो ।”
खेती गरेको १० वर्षसम्म रोग नलागेको अनुभव अदुवा बाजेसँग छ । अदुवाखेतीमा गाईभैसीको मात्र मल हालेर लगाए धेरै फल्ने, रोग नलाग्ने र एक वर्षसम्म भण्डार गरेर राख्न सकिने उनी बताउँछन् । “अदुवाखेती फैलिएसँगै लोभिएका कृषकले धेरै फाउने आशामा ‘देशीमल’ हाल्न थाले,” उनले भने, “देशिमल हालेको १–२ वर्षमै गानो कुहिने रोग देखा प¥यो ।”
बुढ्यौलीका कारण उनी अदुवा बजारका रूपमा ख्याती कमाएको धार्के नझरेको पनि ३ वर्ष भइसकेको छ । भन्छन्, “सक्ने भए माटोको संरक्षण गर्दै उत्पादन गर्न सल्लाह दिने थिएँ ।”

-कारोबार दैनिक