धाङबाङमा रहेको नोक गुफा ओझेलमा

726 पटक पढिएको

सम्पादक: Dhadingnews.com

धाङबाङ -प्रचार प्रसारको अभावले गर्दा धादिङ जिल्लाको धुषा गाउं विकास समितिको  धाङबाङमा  रहेको  नोक गुफा ओझेलमा पर्दै गएको छ । पृथ्वीराजमार्गको चरौदी वजारवाट दश घण्टाको उकालो हिडेपछि पुग्न सकिने नोक गुफा भित्र प्रवेश गरेपछि त्यहां विभिन्न खाले  प्राकृतिक सौन्दर्य  देख्न सकिन्छ । गुफा सुरुङ जस्तो भएकाले  चेपाङ भाषामा नोक गुफा भनिएको हो ।
धादिङको धुषा गाविसको चरौदीवाट चांपटार विधाङ सजकभन्ज्याङ दुमवाङ हुंदै पुग्न सकिने धामवाङ समुदि्र सतहवाट २ हजार मिटर भन्दा माथि रहेको छ । प्राकृतिक सौन्दर्यले भरिपुर्ण रहेको  नोक गुफाले उचित प्रचार प्रसार र संरक्षण  पाउने हो भने यस ठांउलाई  धार्मिक तथा वाह्य पर्यटनको केन्द्र वनाउन सकिने नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष जितेन्द्र चेपाङले वताउनुभयो ।
पर्यटकिय विकासको प्रशस्त सम्भावना वोकेर पनि ओझेलमा परिरहेको नोक गुफाको प्रचार प्रसार गर्न सहयोग पुर् याउनेलक्ष्यका साथ  गुफा संरक्षण गर्दै आईरहेको शान्ति सामुदायिक विकास समुह दुमवाङको पहलमा जेठ २३ गते संचारकर्मि र सामाजिक कार्यकर्ताहरुको संयुक्त टोलीले गुफाको अवलोकन गरेको थियो ।
गुफाको प्रवेशद्धार खुल्ला भएपनि  भित्रको भाग केहि सांघुरो रहेको छ । विजुली वत्तिको अभावले गर्दा गुफामा प्रवेश गर्दा वढि उज्यालो दिने टर्चलाइटको सहायता लिएर मात्र गुफाको भित्रि भागमा प्रवेश गर्न सकिन्छ । गुफा प्रवेश गरेको आधा घण्टा पछि  दुई सय जना जति मानिस अटाउने  फराकिलो चौर जस्तो ढुङगा  भेटिन्छ भने ठाउं ठाउंमा रहेका विभिन्न्ा आकृतिले गुफाको महत्व वढाएको शान्ति नेपालका कार्यक्रम संयोजक इन्द्रमान शाक्यले वताउनुभयो ।
गुफा भित्र देखिने विभिन्न खाले आकृत्ति र गल्छिमा वगिरहेको पानीको आवाजले यहां भित्र प्रवेश गर्ने जो कोहि लाई पनि आकर्षित गर्ने गरेको छ । गैर सरकारी संस्था शान्ति नेपालको सहयोगमा स्थापना भएको शान्ति सामुदायिक विकास समुहले गुफाको व्यवस्थापनका लागि मुख्य प्रवेशद्धार निर्माण गरेको छ भने गुफाको प्रवेशद्धार वाहिर शौचालयको निर्माण गर्न लागिएकॊ समुहका अगुवा सिताराम चेपाङले  वताउनुभयो ।
गुफाको मुख्य प्रवेशद्धार एउटामात्र भएपनि गुफा भित्र भने अनगिन्ती सुरुङहरु रहेका छन । दुई घण्टाको यात्रा पछि गुफा भित्रखुल्ला हल जस्तो ठाउंमा पुग्न सकिन्छ । चुच्चो परेको तिखा सिसा जस्ता ढुङगालाई छल्दै केहि ठाउंहरुमा अत्यन्तै सावधानी अपनाएर गुफा प्रवेश गर्नुपर्ने अवस्था यहां रहेको छ । गुफामा रहेका सहायक मार्ग र सवै   सुरुङ भित्र पसेर घुम्ने हो एक दिन भरिमा पनि घुम्न नसकिने स्थानीयवासीको भनाई छ । चेपाङ वस्तिको नजिक रहेको  नोक गुफा प्राकृतिक सौन्दर्यले भरिपूर्ण भएर पनि विकटमा रहेका कारण ओझेलमा परिरहेकोले  गुफाको प्रचार प्रसार र पुर्वाधार विकासका लागि पर्यटन वोर्ड र सरकारी निकायले तत्काल  पहल गर्नुपर्ने  नेपाल चेपाङ संघका केन्द्रिय अध्यक्ष  जितेन्द्र चेपाङले  वताउनुभयो ।
चेपाङ समुदायको जिविकोपार्जन सुधारका लागि विभिन्न कार्यक्रम संचालन गरिरहेको संस्था शान्ति नेपालका  कार्यक्रम संयोजक इन्द्रमान शाक्य पनि नोक गुफालाई पर्यटकिय आकर्षणको केन्द्र वनाउन सकिने वताउनुहुन्छ । नोक गुफालाई व्यवस्थित गरि पर्यटकिय केन्द्र वनाउन सके विकटमा रहेका चेपाङ समुदायको आर्थिक विकासमा योगदान पुग्ने उहांको भनाई छ ।