दोस्रो विश्वयुद्ध लडेका शुकदेव सय वर्षमा

844 पटक पढिएको

सम्पादक: Dhadingnews.com

निबुवाटार (धादिङ) : झट्ट हेर्दा ८० वर्ष उमेरको जस्तो देखिए पनि सुकदेव घिमिरेले एक सय वसन्त पार गरिसके। एक सय वर्ष उमेर कटिसक्दा पनि घिमिरेका आँखा तेजिला छन्, शरिर फुर्तिलो छ। केही वर्षदेखि कान भने कम सुन्न थालेका छन्। साह्रो खानेकुरा निल्न कठिन हुन थालेपछि झोलिलो र नरम खानेकुरा मात्रै खान थालेका छन्। घिमिरे अहिले पनि लौरोको सहारामा एक्लै घरबाहिर निस्कने गर्छन्। १९७० साल पुस ७ मा गोरखाको मकैसिंहमा घिमिरेको जन्म भएको हो।

घिमिरे परिवार मकैसिंह गाउँबाट छिमेकी गाविस घ्यालचोक गाविसको वडा नम्बर ९ मा बसाइँ सरेको पनि बर्सौं भइसक्यो। घ्यालचोक गाविसबाटै २०५२ साल साउन २९ गते नेपाली नागरिकताको प्रमाणपत्र लिएका थिए शुकदेवले। ३० वर्षको उमेरमा भारतको गोरखपुर पुनाघाटमा पुगेर ब्रिटिस सेनामा भर्ती भई ६ वर्ष काम गरेको घिमिरे बताउँछन्। सन् १९४० देखि १९४६ सम्म ब्रिटिस सेनामा काम गर्दा क्याप्टेनको अर्दली भएर बेलायत र अमेरिकासमेत पुगेको उनले बताए।

दोस्रो विश्वयुद्धमा जापानी सेनाविरुद्ध आफूले ब्रिटिस सेनाको तर्फबाट लडाइँ लडेका दिन सम्झन्छन् उनी। आँफूसँगै भर्ती भएका साथी दुस्मनको गोली लागेर ढलेको सम्झँदा अहिले पनि पीडा हुने घिमिरेको भनाइ छ। लडाइँका क्रममा घिमिरेका छिमेकी अमरबहादुर गुरुङ दुस्मनको गोली लागेर आफ्नै आँखाअगाडि ढलेको दृष्य अहिले पनि ताजा रहेको उनले बताए।

दोस्रो विश्वयुद्ध सकिएपछि ब्रिटिसले राजीखुसी जागिर छाड्न भनेकाले आफू त्यतिबेला घर फर्किएको उनले बताए। फर्कंदा बेलायत सरकारले प्रमाणपत्र र सैनिक परिचयपत्र तथा तक्मा पनि दिएको थियो। त्यो सबै घरबाटै हराएपछि पुराना प्रमाण जुटाउन नसक्दा आफ्नो रगतपसिना त्यसै खेर गएकोमा भने घिमिरे चिन्तित छन्।

दुईपटकसम्म ब्रिटिस सेनामा भर्ना भएका घिमिरे आफ्नो पहिलो भर्ती नम्बर २८३८६ र दोस्रो भर्ती नम्बर ५२३२५७९ भएको बताउँछन्। आफूले १८ रुपैयाँ आठ आना भारु मा जागिर थालेको र छाड्ने बेलासम्म पनि त्यही तलब कायम रहेको उनी बताउँछन्। बेलायत सरकारले जागिर छाडेकालाई सुविधा दिने बताएपछि आफ्नो प्रमाण जुटाउन काठमाडौं र भारतका सहरमा धेरैपटक चाहारे पनि गुमेको प्रमाण नभेटिएपछि दु:ख लागेको उनी बताउँछन्।

घिमिरे जीवित इतिहास भएकाले आफूले उनका लागि ब्रिटिस दूतावासदेखि अन्य निकायसम्म सम्पर्क गरेर सहयोगका लागि आग्रह गरेको जोगीमारा गाविसका वासुदेव डल्लाकोटीले बताए।

जीवनका एक सय वसन्त पार गरिसकेका घिमिरेलाई १९९० साल माघ २ गते गएको भुइँचालोको पनि याद छ। उनले भने, ‘दिउँसोको समय थियो, तोरीको पाँजा मिलाउँदै उखु खाँदै थिएँ, जमिन थर्कन थाल्यो, डाँडापाखा सबै हल्लिन थाले, जताततै गडडड गडडको आवाज आयो।’

‘गाउँको साहु बाहुनको छोरो भएकाले मलाई नौ वर्षकै उमेरमा छोरी दिनेको घरमा ताँती लाग्थ्यो। मैले पनि नौ वर्षकै उमेरमा बिहे गरेको हँु। पहिली पत्नी ३० वर्षपछि बितेकाले दोस्रो बिहे गरें। दोस्रीबाट सन्तान नै जन्मिएनन्, त्यसपछि तेस्रो बिहे गरें, त्यो पनि मलाई छाडेर हिँडेपछि अहिलेकी पत्नी २०१९ सालमा बिहे गरेको हुँ’, घिमिरेले आफ्नो वैवाहिक जीवनका बारेमा हौसिँदै बताउँदा छेउमै रहेकी उनकी कान्छी पत्नी डण्डकुमारी घिमिरे हाँसिरहेकी थिइन्।

चारवटी पत्नीबाट जन्मिएका पाँच भाइ छोरामध्ये जीवित रहेका एक भाइ गोरखा जिल्लाको घ्यालचोकमा र एक भाइ चितवनको माधवपुरमा बस्दै आएका छन्। छोरीहरू भने पाँचैजना जीवितै रहेको घिमिरे दम्पतीले बताए।

१३ नाति, १७ नातिनी, आठ पनातिका अभिभावक घिमिरे दम्पती एक वर्षअघिदेखि जेठी छोरी मिठु खतिवडाको घरमा बस्दै आएका छन्। खतिवडाको घर धादिङ जिल्लाको सलाङ गाविस निबुवाटार नजिकै थुम्कीमा रहेको छ। बुढेसकालमा छोराबुहारीले हेला गरेकाले आफूहरू छोरीको घरमा बस्न बाध्य हुनुपरेको घिमिरे दम्पतीको गुनासो छ।

देशविदेश घुमेको अनुभवमात्रै होइन, नेपाली कांग्रेसका नेता बीपी कोइराला र गणेशमान सिंहसँग पनि आफ्नो चिनजान भएकाले राजनीतिका बारेमा अहिले पनि चासो लागिरहने उनले बताए।

अन्नपूर्ण पोस्ट दैनिकबाट