दुर्गा प्रसाईंविरुद्ध सात वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

12 पटक पढिएको

सम्पादक: Dhading News

काठमाडौं- दुर्गा प्रसाईंविरुद्ध बुधबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ।

विद्युतीय कारोबार ऐन–२०६३ अन्तर्गतको कसुरमा उनीविरुद्ध अभियोग दर्ता भएको काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार रामु शर्माले जानकारी दिएका छन् ।

साइबर ब्यूरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरुद्ध अभियोगपत्र दर्ता गरेको हो ।

सरकारी वकिलले उनीविरुद्ध विद्युतीय कारोबार ऐन–२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी लिएको छ

दफा (४७)को (२) अनुसार उनलाई थप सजाय हुन मागदाबी गरिएको श्रेस्तेदार शर्माले जानकारी दिएका छन् ।

‘कुनै व्यक्तिले उपदफा (१) बमोजिमको कसुर पटक-पटक गरेमा त्यस्तो कसुरवापत अघिल्लो पटक भएको सजायको डेढी सजाय हुनेछ,’ उपदफा २ मा भनिएको छ।

डेढी सजाय भन्नाले पूरा सजायमा फेरि आधा सजाय थप हुनु हो । पाँच वर्ष कैद तोकिए डेढी सजाय लागू हुँदा थप साढे २ वर्ष हुन सक्छ। यसो हुँदा प्रसाईंलाई सात वर्षसम्म सजाय तोकिने सम्भावना छ।

मंसिर ४ मा पक्राउ परेका व्यवसायी प्रसाईंमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले आपराधिक लाभ लिन नहुने कसुरमासमेत अनुसन्धान गरिरहेको छ ।

फर्जी कागजात बनाएर प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियामा अर्बौँ लगानी गरेको भन्दै सामाजिक सञ्जालमा अपलोड गरेपछि प्रहरीले सुरुमा उनलाई साइबरसम्बन्धी कसुरमा पक्राउ गरी अनुसन्धान थालेको थियो ।

भारतीय गुन्डा नाइके लरेन्स विश्नोइको नाममा नेपालका व्यवसायीलाई प्रसाईंले नै धम्क्याउन लगाएको निष्कर्ष प्रहरीको प्रारम्भिक अनुसन्धानले निकालेको छ।

व्यवसायीलाई धम्क्याएको आरोपमा पक्राउ परेका प्रसाईंनिकट हरिचन्द्र फुँयालले उक्त कामका लागि आफूले ५ लाख रुपैयाँ लिएको पनि बयान दिएका छन्।

‘धम्क्याउने प्रयोजनको लागि मलाई दुर्गा प्रसाईंले ५ लाख दिएका हुन्’, उनले भने । तर, प्रसाईंले बयानमा उक्त कुरा अस्वीकार गरेको अनुसन्धान अधिकृतहरू बताउँछन् ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *