घोडा, घोडचढी नाच र तामाङ जाति

1524 पटक पढिएको

प्रकाशित मिति: २०७१, ४ जेष्ठ आईतवार ०३:५४

सम्पादक: Dhadingnews.com

 

 

गोपाल फ्युवा तामाङ
1098209_10201167019074195_839049309_n
तपु ठुङ्पे ठुङ्सा खनइ य्हुल्सा
तपु ठुङ्पे ठुङ्सा ग्यगरदेन्टी
(घोडाको उत्पत्ती कहाँ भएको ?
घोडाको उत्पत्ती ग्यगरदेनमा भएको हो । )
माथिको श्लोक म्हाने दोराको बेला गाइने उत्पत्ती गीत हो । यसमा क्रमशः घोडाको बारेमा सबालजबाफ गरिन्छ । नृत्यको तालमा पत्तै नपाई एउटा गहन मौखिक इतिहास गाइरहेको हुन्छ । नाच्नेलाई नाचको ताल, गाउनेलाई गानाको ताल बडो रोमाञ्चक हुने गरी व्हाइपोम्पो (गायक) ले दोरा सम्हाल्नु पर्छ । दोरामा सम्लग्नहरू गीतको सुरू देखि अन्त्यसम्म गाउदै नाच्दछन् ।
वर्षा याम पछिको समय नेपाली समाजमा खुसीको लहरहरू सञ्चार गर्न अनेक उत्सव तथा पर्वहरू आउने गर्दछन् । पौष पन्ध्रदेखि परम्परागत पात्रो अनुसार तामाङ नयाँ वर्ष सुरू हुन्छ । अहिले नामकरणमा तमु (तोला) ल्होछार भनिने गरिए तापनि परम्परादेखि नै यो पर्व मान्ने गरिन्थ्यो । लगत्तै माघे सक्रान्ति, त्यसमा झाँक्रीहरू कुङ्करमा गएर प्रार्थना गरिन्छ साथै यस पटकदेखि ल्हेकोर÷ल्होकोर (आफु जन्मेको ल्हो पुगेको यानेकी १२ वर्षको) पुगेका बालबालिकाहरूको फप्पा गरिन्छ । फप्पा भनेको वयस्क सरह सामाजिक तथा धार्मिक कार्यमा भाग लिन पाउन गरिने एक संस्कार हो । त्यसपछि सोनाम ल्होछारमा मात्र नभई ग्यल्बो ल्होछारमा समेत उत्तिकै रमाइलो गरिन्छ, ल्हाप्साङकार्पो क्षेत्रका तामाङ बस्तीहरूमा । जन्म संस्कार, विवाह संस्कार देखि मृत्यु संस्कार समेत हिउँदको यो समयमा गर्न रूचाउँछन् ।
तामाङहरूसँग घोडा र घोडचढीको अनेकौ आहानहरू जोडिएका छन् । तसिप (घोडाको मृत्यु भएको ठाउँ), तक्युप (घोडा ओहोरदोहोर गर्ने ठाउँ वा घोडा प्रजनन स्थान) लगायतका स्थान विशेषको नाम घोडासँग सम्बन्धित रहेको छ । बाह्रवटा ल्होमध्येमा त पनि एक हो । पौराणिक तामाङ बस्तिमा भेटिने शिलाहरूमा घोडाको चित्र कुदिएको पाइन्छ । त्यस्तै धार्मिक पुस्तकको परिच्छेद छुट्याउन पनि घोडाको चित्र प्रयोग गरिएको पाइन्छ । त्यसैले तामाङ जातिसँग कसै न कसै गरी घोडा र घोडचढी शब्द जोडिन आएको पाइन्छ ।
“भोटे भाषामा पैदल हिँड्ने पल्टन (फौज) लाई कमक र रिसल्ला (घोड सवार) पल्टनलाई तमक भन्दछन् । तमक अपभ्रंश भएर तामाङ भएको हो भन्ने भोटका विद्वान्हरूको धारणा भए तापनि तमकबाट तामाङ भएको होइन, तामाङ नेपाल देशकै आदिवासी हुन् (लामा, सन्तवीर ः ताम्बा काइतेन, २०६९) ।” कसै कसैले तामाङहरूलाई मुर्मी पनि भन्दछन् जसको अर्थ सिमानाका बासिन्दा हुन्छ । जर्ज एन रोरिकले “तामाङको अर्थ घोडचढी सैन्य हो” भनेका छन् ।
यसरी तम्बा काइतेन व्हाई रिमठिममा सन्तबीर लामाले तिब्बतबाट आएको घोडचढी समूह नै नेपालका तामाङ हुन् भन्ने स्वदेशी तथा विदेशी विद्वान्हरूको तर्कमा आशङ्का व्यक्त गरेको छ । तर तामाङ जातिसँग घोडा र घोडचढी जोडिएर चर्चा परिचर्चा गर्न भने अझै छोडेको छैन । वास्तवमा यो समुदायसँग गहिरो सम्बन्ध रहेको छ तपु यानेकी घोडा÷घोडचढी ।
घोडचढीको सन्दर्भलाई जोड्न घोडचढी नाचको प्रचलन पनि रहेको छ । खासगरी छेची पर्वमा देखाइने चेमा मध्ये एक तपु स्यप (घोडचढी नृत्य) एक हो । घोडचढी बनेर नाच्न मानिसको शरिरमा दुई तर्फबाट काठहरू बाँधी घोडाको आकृति बनाइन्छ । घोडचढी सैनिकको आकृति तथा स्वरूप दिन दाँया हातमा तरवार, बाँया हातमा ढाल र अनुहारमा रङ लगाइन्छ । अन्य सहायक सैनिकहरूको हातमा भाला तथा धनुष हुन्छ । मार्गदर्शकको रूपमा झ्याम्टा र ढ्याङ्ग्रोको तालमा दुबै तर्फबाट लामाहरू सामेल हुन्छन् । सङ्ख्याको निर्धारण आवश्यकता र उपलब्धता बमोजिम गरिन्छ । सेता वस्त्र धारण गरेकाहरूलाई गोर्खइ ग्यल्पो (गोरखाली राजा) र रातो वस्त्र धारण गरेकाहरूलाई ल्हसई देव (तिब्बती राजा) भनि नामकरण गरिएको हुन्छ ।
वीररसमा आधारित नृत्य भएको हुँदा युद्ध, लखेटालखेट, काटमार र लुकीछिपीको अभिनय गरिन्छ । गोर्खइग्यल्पोहरू डसङमा प्रवेश गर्नासाथ ल्हसइदेवहरू पनि युद्धमा होमिन्छन् । केही समयको युद्धपश्चात मध्यस्थकर्ता मार्फत युद्धविराम घोषणा गरिन्छ तर एक अर्काप्रति आरोप प्रत्यारोप गर्छन् र वार्ता भङ्ग हुन्छ । फेरि युद्ध हुन्छ । दोस्रो पटकको वार्ता क्षतिपूर्तिको विषयमा सहमती हुन नसक्दा पुनः युद्ध गर्छन् । कहिल्यै जीतहार नहुने युद्धबाट आजित भइ तेस्रो पटकको वार्ता गर्छन् । यस पटक भने कसैले पनि नहारेको बराबर भन्ने निष्कर्षमा सहमति हुन्छ । गोर्खइ ग्यल्पोहरूको चामलसँग ल्हसइदेवहरूको नुन साटेर मित्रवत ब्यबहार गर्दै संयुक्त विजय उत्सव मनाएर युद्ध नृत्य सकिन्छ ।
यसप्रकार नाचिने घोडचढी नृत्य आयोजना गर्दा सामाजिक, आर्थिक र धार्मिक उन्नति हासिल गर्न सकिन्छ भन्ने मान्यता रहेको छ । “तामाङ लोकसंस्कृति भित्र विकसित घोडचढी नाचको सामाजिक, सांस्कृतिक, ऐतिहासिक र धार्मिक महत्व रहेको छ । युद्ध तथा अन्य कारणले मृत्यु हुनगई दाहसंस्कार नपाएर भड्कीरहेका मृतात्माले चीर शान्ति पाउने र देवीदेउता खुशी भई समाजमा सुख शान्ति छाउछ भन्ने जनविश्वास पाइन्छ । नेपाल एकिकरण र एकिकरण पश्चातका विभिन्न युद्धहरूका बेनामी शहिदहरू, प्रजातन्त्र प्राप्तिका अनेक सङ्घर्षका शहिदहरू र जनयुद्धका शहिदहरूको समेत सम्मान दर्शाउन यो उचित अवसर र मौका हुनेछ (तामाङ, गोपाल फ्युबा ः घोडचढी नाचको परिचय, २०६४) ।”
तामाङ जातिले छेची, ल्होछार तथा अन्य औपचारिक कार्यक्रममा घोडचढी नाच नाच्ने चलन चलिरहेको छ । मृत्यु संस्कारको घेवा कार्य पाँच दिने गरी चेमा खेलाउने भएमा घोडचढी नाच अनिवार्य मानिन्छ । सन् १८३३ देखिको इतिहास भेटाए पनि त्यो भन्दा धेरै अघिदेखि तामाङ जातिले घोडा र घोडचढी नाचको चर्चा र संरक्षण गर्दै आइरहेको अनुमान सहज रूपमा गर्न सकिन्छ । गीतमा रोङ्गई ग्यल्बोको सन्दर्भ समेत आएको पाइन्छ ।
अहिले छेचीको खोज अनुसन्धानमा लाग्नेक्रममा म्हानेगङ, अम्बातङ, स्हङ्गम, किम्ताङ, गलाङ, ब्युर्चेत, गोल्जोङ, सेर्तुङ आदि स्थानहरूमा कही नियमित त कही कहिलेकाही गरेर जसोतसो छेची पर्वलाई बचाइ राखेको पाइन्छ । संस्कार र संस्कृति बचेमा मात्र पहिचान बच्नेमा सचेत हुनुपर्दछ । जहाँ जहाँ छेची मनाइन्छ त्यहाँ त्यहाँ घोडचढी नाच पनि नाचिन्छ ।
यसबाट के प्रष्ट हुन्छ भने तामाङ जाति र घोडा सम्बन्धित छन् । घोडासँगको सम्बन्धको कारण यससँग सम्बन्धित गीत र नृत्यको विकास भएको पाइन्छ । त्यसैले तामाङहरू सचेत बनेर यी इतिहासको खोज, संरक्षण र संवर्धन गरिनु जरूरी छ । घोडा धेरै जसो ठाउँमा भए झै तामाङ जाति विश्वका अनेक ठाउँमा रहेको छ भन्ने लाक्षणिक अर्थ लाग्ने एक गीत ः
तपु दिङ्पे दिङ्सा खनइ य्हुल्सा
तपु दिङ्पे दिङ्सा रेप्क्या लिम्बु
(घोडा डुल्ने स्थान कहाँ होला ?
घोडा डुल्ने स्थान जहाँ तही ।

(दार्खा—३, धादिङ निवासी गोपाल फ्युवा तामाङ विगत एक दसकदेखि तामाङ लोक साहित्य विषयमा खोज अनुसन्धान, संरक्षण, संबर्धन र प्रचारप्रसारमा सक्रिय एक अभियन्ता हुन् ।)



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ४ जेष्ठ आईतवार ०३:५४ मा प्रकाशित