खण्डहर बन्दै गएकाछन् धादिङका पौवाहरु

864 पटक पढिएको

प्रकाशित मिति: २०७१, ७ असार शनिबार ०१:२०

सम्पादक: Dhadingnews.com

 

 

केशव अधिकारी
DSC01866धादिङ – ऐतिहासिक र सामाजिक महत्व बोकेका धादिङका एक दर्जन भन्दा बढी पौवाघरहरु बर्षौदेखि मर्मत सम्भार र संरक्षणको अभावमा खण्डहर बन्दै गएकाछन् । सामाजिक महत्वका ऐतिहासिक धरोहर पौवा घरको खोजीनीति र संरक्षणमा कसैको चासो देखिएको छैन । यस्ता धरोहरहरु बुढापाकाको सम्झनामा मात्र सीमित रहन थालेका छन् ।
यसरी खण्डहर बन्न लागिसकेको पौवाघरमा कटुन्जे बजारको पौवाघरलाई लिन सकिन्छ । यो पौवाघर लमजुङ जिल्ला कुन्छाका एक व्यक्तिले निर्माण गरेको भन्ने भनाई रहेको कटुन्जे गाविसका वुढापाकाहरु बताँउछन् । उनिहरुका अनुसार पौवाघरको संरक्षणको लागि सात रोपनी जग्गाको गुठी राखिएको थियो । अहिले पौवाघर अधिकांशजग्गा रैकरमा परिणत भइसकेको छ ।
राजमार्ग निर्माण हुनु अगाडि सुदुर पश्चिमका डोटी, डडेल्धुरा देखि गोरखा लमजुङका मानिसहरु राजधानी काठमाडौ जाने आउने मुख्य पैदल मार्ग रहेको ठांउमा यो पौवाघर रहेको छ । तत्कालिन समयमा पौवाघरमा वास वस्ने बटुवाहरुको घुईचो हुनेहुँदा खाने पानी र सरसफाई लागि छुट्टाछुट्टै मान्छेको व्यवस्था भएको स्थानीय जेष्ठ नागरिकहरु वताउंछन ।
बटुवामात्र होइन पौवाघरमा त्यतिबेला कैदी बोकाएर आएका सरकारी कर्मचारीहरु समेत बास बस्ने गर्दथे । नोट को चलन नभएकाले तत्कालिन समयमा दामको प्रयोग गरिन्थ्यो । कर्मचारीलाई तलब वितरण गर्न र राजश्वबाट उठेका पैसाको भारी बोकेका भरिया सहित आएका सरकारी कारिन्दा पौवाघरमा बास बस्न आउदा स्थानीय बासि भागा भाग हुने गरेको वुढापाकाको भनाई छ । पैसाको भारी र हतकडी लगाएको कैदीहरुलाई स्थानीय बासिन्दाले सरकारी कर्मचारीको उर्दिमा निश्चित ठाँउसम्म निःशुल्क बोकेर पुर्याउनु पर्ने तत्कालीन चलन रहेको कारण स्थानीयवासिमा भागाभाग हुने गरेको वुढापाकाहरु वताउंछन ।
अहिले कटुन्जे बजारको पौवाघर दिउसै हेर्दापनि डरलाग्दो मात्र नभई छिमेकी विष्णुदास श्रेष्ठ, गंगादास श्रेष्ठ र पञ्चमान बाँडाको घरलाई समेत खतरा बनाएर अडिएको छ । कटुन्जे बजारको जस्तै ऐतिहासिक र सामाजिक महत्व बोकेको नीलकण्ठ गाविसको पौवा गाँउस्थित रहेको पौवाघरको पनि उचित संरक्षण हुन सकेको छैन । पौवाघरको संरक्षणको लागि तत्कालिन राजा गिर्वाणयुद्ध विक्रम शाहले २ सय मुरी धान फल्ने खेत गुठीको रुपमा राखेको पुराना कागज पत्रमा उल्लेख गरिएको पाइन्छ ।
राजा गिर्वाणयुद्ध विक्रम शाहले तत्कालीन प्रधानमन्त्री भिमसेन थापाको रोहवरमा स्थानीय चन्द्रवीर थापालाई लालमोहर लगाई बहुमूल्य जग्गा सहित युद्ध सामग्री ढाल तरबार, खुँडा लगायतका सामग्री प्रदान गरिएको पुराना कागज पत्रमा देखिन्छ । पौवाघरको संरक्षणको लागि दिइएको २ सयमुरी धान फल्ने खेतमा अहिले धादिङको जिल्ला सदरमुकाम रहेको छ । पौवाको बिर्तामा सयौ घर, पसल, कार्यालय रहेका छन् । बिर्ताको जग्गामा बसेर कैयौ व्यक्तिले करौडौ आम्दानी गरेको भएपनि पौवा घर संरक्षणको लागि भने कसैले चासो नदेखाएको नीलकण्ठ क्याम्पसका उप–प्राध्यापक नबीनबन्धु पहाडीको गुनाँसो छ । गुठिबाट पौवाघरलाई ५ दशकदेखि केही सहयोग भएको छैन । बरु दुइवर्षदेखि स्थानीय उज्जवल सामुदायिक विकास केन्द्रले पौवाघर संरक्षणको एउटा अभियान चलाएको छ ।
जिल्लाको थर्पुमा जिल्लाकै सबैभन्दा ठूलो पौवा रहेको थियो । २०४१ सालमा उक्त पौवा भत्किएपछि त्यसमा रहेको बहुमुल्य झ्यालहरु स्थानीय बिन्दुकेशर प्राविमा राखिएको छ । अहिले हेर्दा अचम्म लाग्ने परम्परागत शैलीमा निर्माण गरिएका झ्यालहरु संरक्षणको पर्खाइमा रहेका छन् ।
कटुन्जे, नीलकण्ठको पौवाघरहरुमात्र होइन खहरे, सल्यान्टार, भोगटेनी, लगायतका जिल्लाका ऐतिहासिक र सामाजिक महत्व बोकेका पौवाघरहरुको उचित संरक्षण हुनुपर्ने वुढापाकाहरु बताउछन् ।
यस्ता ऐतिहासिक धरोहर बोकेका पौवाघरहरुको उचित संरक्षण हुन नसक्दा सल्यान्टारको रानीपौवा, मैदीको पौवा, खत्री पौवा भग्नावशेषमा मात्र सिमित रहेका छन् । तिनका अस्तित्व मेटिइसकेका छन् । अहिले बाँकी रहेका पौवाघरको बेलैमा उचित संरक्षण गर्ने तर्फ नलाग्ने हो भने भोलीका पुस्तालाई पौवाघर एउटा दन्ते कथामा सिमित नरहला भन्न सकिन्न ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७१, ७ असार शनिबार ०१:२० मा प्रकाशित