रोल्पामा लगाएको गुन कांग्रेसले बिर्सियो : विप्लव चिहानबाट अर्को माओवादी उठेर आउने चेतावनी

734 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

जंगल पसेर हतियार उठाउने चर्चा चलिरहेका बेला नवगठित नेकपा माओवादीका संयोजक नेकविक्रम चन्द सोमबार दिउँसो नाटक देखाउने जमलस्थित राष्ट्रिय नाचघरमा देखा परे ।

नयाँ पार्टी गठनबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै विप्लवले नेपाली कांग्रेसले रोल्पामा माओवादीद्वारा लगाइएको ‘गुन’ बिर्सिएको आरोप लगाए ।

नाच हेर्न भीड भएजस्तै राष्ट्रिय नाचघरमा विप्लवको भाषण सुन्न मानिसहरुको खचाखच उपस्थिति थियो । भीडलाई सम्बोधन गर्दै विप्लवले पत्रकारसँग प्रश्नोत्तर गर्नुपूर्व २३ मिनेट निकै उत्तेजक भाषण गरे ।

बहुमतको डंका ठोक्नेलाई इतिहासले छुट दिनेवाला छैन, जनयुद्ध र क्रान्तिका एजेन्डालाई लत्याएर अघि बढ्ने कांग्रेसको इच्छा पूरा हुनेवाला छैन

‘अहिले कांग्रेस एक्लै हिँड्न खोज्दैछ, मन्तव्यका क्रममा विप्लवले भने,’जतिबेला राजतन्त्रले क्याप्चर गरेर कांग्रेस एमालेका नेताहरु माओवादीको सहयोग माग्न रोल्पा पुग्नुभएको थियो, तर अहिले कांग्रेसले त्यो गुन बिर्सियो ।’

एमाओवादी नेता प्रचण्ड र बाबुरामलाई कांग्रेस र एमालेले झुक्याएको बताउँदै विप्लवले दुईचार जना नेतालाई किन्दैमा माओवादी आन्दोलनलाई भ्रममा राख्न नसकिने दाबी गरे ।

‘बहुमतको डंका ठोक्नेलाई इतिहासले छुट दिनेवाला छैन, जनयुद्ध र क्रान्तिका एजेन्डालाई लत्याएर अघि बढ्ने कांग्रेसको इच्छा पूरा हुनेवाला छैन,’ विप्लवले भने,’नोट गरेर राखिराख्नोस्, काठमाडौं आइपुगेपछि एक दुईजनालाई किनेर सिंगै माओवादीलाई किन्छु भन्ने कसैले ठानेको छ भने कार्यकर्ता र जनताले होइन, कांग्रेस र एमालेले नै धोका पाउनेछन् ।… दुईचार जनालाई किने पनि अर्को माओवादी चिहानबाट उठेर आउँछ ।’

सहमति तोडिएको आरोप

बाह्रबुँदे समझदारी र त्यसअघि रोप्लामा भएको वार्ता अनुसार संक्रमणकाल र सत्ता साझेदारीका आधारमा अघि बढ्नुपर्नेमा कांग्रेस र एमालेका केही नेताले माओवादीसँग गरिएको सहमति तोडेको विप्लवले आरोप लगाए ।

जनयुद्धका बेला उठेका नाराहरु जनताको माग भएकाले त्यसलाई सम्वोधन नगरी माओवादीलाई पेल्न खोजिए आफूहरु अर्को बलिदानीका लागि तयार रहेको विप्लवले बताए ।

कांग्रेस र एमालेभित्रका विदेशीद्वारा उक्साइएका दलालहरुले देशलाई उल्टो दिशातिर हिँडाउन खोजिरहेका छन्,’ विप्लवले भने-‘जनताका समस्या समाधान गरिन्छ र उनीहरु सच्चिएर आउँछन् भने हामी अझै पनि हात मिलाउन तयार छौं, वार्ता गर्न तयार छौं ।’

इतिहासको अप्रि निर्णय

विप्लवले नयाँ पार्टी बनाउन रहर नभएर इतिहासको जिम्मेवारी भएको बताए् । प्रचण्ड, मोहन बैद्य किरण र रामबहादुर थापा बादलले जनयुद्धका मुद्दाहरुको नेतृत्व गर्न नसकेपछि आफूहरु अगाडि आएको उनले बताए ।

‘प्रचण्ड छुटे पनि आज यो मञ्चमा किरण र बादलजीहरु हुनुपथ्र्यो, आज हामी सामान्य खालका मान्छे यो मञ्चमा उभिएका छौं,’ राष्ट्रिय नाचघरमा उभिएर विप्लवले भने,’यो वास्तवमै हामीले नसोचेको भयो । इतिहासको यो अप्रिय निर्णय हो । आफ्ना नायकलाई, आफ्ना आदर्श पात्रलाई छाड्नु अपि्रय निर्णय हो ।’ उनले थपे- तर, यो इतिहासले माग गरेको अपि्रय निर्णय हो ।

प्रचण्ड र वैद्यलाई छुट छैन

प्रचण्ड र वैद्य लगायतका नेताहरुले आह्वान गरेका कारण १० हजार मानिसको मृत्यु भएको भन्दै विप्लवले अब प्रचण्ड र वैद्यलाई व्यक्तिगत तरिकाको जीवन बिताउने छुट नभएको तर्क गरे ।

‘नेताहरुले चाहेर मात्रै हुँदैन, नेताहरु आफ्नो निर्णयमा बाँधिएका हुन्छन् । हाम्रो अपीलमा जनयुद्धमा मानिसहरुले जुन बलिदान गरे, त्यो कार्यभारबाट कोही पनि फुत्कन पाउँदैन’ विप्लवले कडा शब्दमा भने- ‘प्रचण्ड र किरणजीहरुले जुन निर्णय लिनुभयो, त्यसबाट १० हजार मानिस मरेका छन्, त्यसको जवाफ उहाँहरुले दिनुपर्छ । सहिद परिवार, बेपत्ता, घाइते र जनताको स्वीकृतिबिना कोही पनि नेता निजी जीवनतिर र्फकन पाउँदैन ।’

मृत्युको डर नदेखाउन आग्रह

विप्लव समूह मृत्युको बाटचोतिर लागेको भन्ने चर्चाप्रति आपत्ति जनाउँदै उनले अजम्बरी कोही पनि नरहेको बताए । ‘तुच्छ जीवनका लागि विदेशीको खुट्टामा नाक रगड्नेहरुले मृत्यु र जीवनबारे उल्टै हामीलाई व्याख्या गर्न खोजिरहेका छन्, विप्लवले भने,’ अजम्बरी कोही पनि छैन, कसैले हामीलाई दमन गर्न खोज्छ भने जनताको अधिकारका लागि हामी बलिदानी दिन तयार छौं ।’

पार्टी गठनको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा विप्लवले भने, ‘सकौंला नसकौंला, केहीले मर्ने बाटोतिर लागे पनि भनेको सुनियो, तर, बाँच्ने पनि के का लागि भन्ने हुन्छ ।’ उनले अघि भने, हामीले युद्ध चाहँदैनौं, स्वाधीनता चाहेका छौं ।’

संघर्षको सीमा नहुने भन्दै उनले दमन भएमा वा अदालतबाट अपराधी घोषणा गर्न खोजिन्छ भने बदला लिन तयार भएको बताए । उनले भने- ‘रत्नपार्कमा मसाल बालेर घर गएर सुत्ने मात्र हुन्छ कि हुँदैन अहिले भन्न सकिँदैन । संघर्षको स्वरुप राज्यले लिने कदममा निर्धारित हुन्छ ।
उनले आवश्यक परे बन्दुक तत्कालै निकाल्न सक्ने बताए । विगतका बन्दूक तपाईसँग छन् कि भन्ने पत्रकारको प्रश्नमा यो प्रश्न प्रचण्डलाई सोध्न आग्रह गरे ।

कोको लागे विप्लवतिर ?

नेपाल कम्युनिष्ट पार्टी माओवादीको ब्यानरमा आयोजित पत्रकार सम्मेलनमा विप्लव स्वयमं उपस्थित थिए । विप्लव समूहमा पूर्वसभासद पदम राई पनि उपस्थित भए । उनी कपिलवस्तु भेलामा सहभागी थिएनन् ।

पत्रकार सम्मेलनमा खड्गबहादुर विश्वकर्माले प्रेस वक्तव्य वाचन गरेका थिए । विप्लव समूहका ज्येष्ठ सदस्य ईश्वरी दहाल पनि कार्यक्रममा उपस्थित थिए ।

कार्यक्रममा उदघोषक धर्मेन्द्र बास्तोलाले नेपाली कांग्रेसलाई प्रधान शत्रु घोषणा गरेका थिए । तर, प्रश्नोत्तरका बेला विप्लवले त्यसलाई सच्याउँदै मध्यम वर्ग र राष्ट्रिय पुँजीपतिलाई पनि मिलाएर एकीकृत क्रान्ति गर्ने बताए । कांग्रेस अझै सच्चिएर आए वार्ता हुन सक्नेमा उव्लिपको जोड थियो ।

कार्यक्रममा सहभागी । हलको पहिलो र दोस्रो रोमा भने पत्रकारहरू छन्

पत्रकार सम्मेलनमा माओवादी नेता तिलक परियार, पूर्वसभासद शरतसिंह भण्डारी पनि सहभागी थिए । मञ्चमा अनिल शर्मा, पूर्वमसाल नेता चिरन पुन, काभ्रेली नेता कृष्ण अधिकारी, तेजबहादुर मिजार र बाबुराम मिजार पनि देखिएका थिए ।

पुसमा सम्मेलन, प्रवक्तामा बिक

विप्लवको नयाँ पार्टीको नाम नेकपा माओवादी राखिएको छ । पुस २३ देखि २६ गतेसम्म राष्ट्रिय सम्मेलन बोलाइएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । विप्लवको संयोजकत्वमा गठित सम्मेलन आयोजक समितिको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई घोषणा गरिएको छ ।

अन्य माओवादीसँग सहकार्य हुने

विप्लवको पार्टीले अब देशको नेतृत्व कम्युनिष्टहरुले गर्नु पर्ने बताएको छ । देशको मुख्य समस्या ‘दलाल पुँजीवाद’ भएको भन्दै प्रचण्ड, मोहन वैद्य, मातृका यादव र मणि थापालाई सहयोगी भएर अघि बढ्न विप्लव समूहले आग्रह गरेको छ ।

विप्लव समूहले जंगल जाने, हतियार उठाउने र युद्ध गर्ने भन्दै आफूहरु विरुद्ध भ्रम फैलाइएको भन्दै विप्लव समूहले गुनासो पोखेको छ । पार्टीले त्यस्ता भ्रमहरु खारेज गरेको विज्ञप्तिमा जनाइएको छ । ‘हामी शान्ति चाहन्छौं, परिर्वतन र सम्वृद्धि चाहन्छौं । राष्ट्रिय स्वाधीनताको अधिकारबाहेक अरु कुनै स्वार्थ छैन ।’ विज्ञप्तिमा भनिएको छ ।