छठ पर्वको मुख्य दिन: अस्ताउँदो सूर्यलाई अर्घ्य दिँदै हर्षोल्लासपूर्वक मनाइँदै

30 पटक पढिएको

३० कार्तिक २०८३, आईतवार ०६:४१ सम्पादक: धादिङ न्यूज

काठमाडौं, २९ कात्तिक  – सूर्यदेवको आराधना, उपासना र पूजाको महान् पर्व छठ आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ्य दिइँदै भव्य रूपमा मनाइँदैछ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन विधिपूर्वक मनाइने यो पर्व शुक्रबारदेखि सुरु भएको हो। तराईको सीमित क्षेत्रमा मात्रै सीमित रहेको यो पर्वले पछिल्लो समय राष्ट्रिय स्वरूप ग्रहण गरेको छ र सरकारले यस अवसरमा सार्वजनिक बिदासमेत दिँदै आएको छ।
पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार, द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवको आराधना गरिएको थियो। पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको सोही समयदेखि नै लोककथनबमोजिम छठ मनाउने परम्पराको थालनी भएको मानिन्छ। त्यस्तै, सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले यो व्रत गरेर अटल सौभाग्य र पतिप्रेम प्राप्त गरेकी थिइन्। साम्ब पुराणमा पनि श्रीकृष्ण पुत्र साम्बले सूर्यको आराधना गरेरै महर्षि दुर्वासाको सरापबाट उत्पन्न कुष्ठरोगबाट मुक्ति पाएको चर्चा पाइन्छ।
वैज्ञानिक तथा व्यावहारिक दृष्टिले पनि संसारका सम्पूर्ण भौतिक विकास र जीवजन्तुको अस्तित्व सूर्यमाथि नै आधारित छन्। सूर्यको शक्तिबिना रुख, बिरुवा, वनस्पति र प्राणीको जीवन सम्भव छैन। सूर्य किरणको चिकित्सामाथि कैयौँ चिकित्सकले ग्रन्थहरू लेखेका छन् भने सूर्यको किरणबाट असाध्य तथा अक्षय रोगको आश्चर्यजनक उपचारसमेत खोजिएको छ। धार्मिक विश्वासअनुसार छठ व्रत गर्नाले दुःख र दरिद्रताबाट मुक्ति पाइन्छ। यस पर्वमा झुप्पा–झुप्पा फलहरू चढाउँदा सूर्य देवता प्रसन्न भई व्रतालुका कुटुम्बसहित सबै सन्तानको भलो हुने मान्यता रहिआएको छ। यस पर्वमा आर्थिक अभाव भएका मानिसहरूले समेत भिक्षा मागेर विधिपूर्वक यो पर्व मनाउने परम्परा छ।
चार दिनसम्म चल्ने यस पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चतुर्थीका दिन व्रतालुले स्नान गरी एक छाक मात्र खाने गर्दछन्। दोस्रो दिन पञ्चमीमा सख्खर हालेर बनाइएको खीर (खरना) षष्ठी मातालाई चढाई प्रसादस्वरूप ग्रहण गर्ने र नुन नखाई फलाहार बस्ने चलन छ। पर्वको मुख्य दिन अर्थात् आज कात्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत बसी बेलुकी अस्ताउँदो सूर्यलाई विधिपूर्वक पूजाआराधना गरी अर्घ दिइन्छ। षष्ठीका दिन रातभर जाग्राम बसेर भोली पल्ट कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो पर्व विधिविधानपूर्वक समापन हुन्छ। कात्तिक शुक्लपक्षमा विधिपूर्वक सूर्यको पूजा गरी अर्घ अर्पण गर्दा चर्मरोगसमेत नलाग्ने धार्मिक विश्वास रहिआएको छ।
विसं २०४६ अघिसम्म तराईको सीमित क्षेत्रमा मात्र सीमित रहेको छठ पर्वले अहिले देशैभर राष्ट्रिय रूप लिइसकेको छ। सरकारले यस पर्वको गरिमालाई उच्च मूल्याङ्कन गर्दै सार्वजनिक बिदा दिने गरेको छ भने यस पटक छठको मुख्य दिनको अर्को दिनसमेत बिदा दिइएको छ। राजधानी काठमाडौं उपत्यकामा पनि यसको रौनक व्यापक देखिएको छ। गुह्येश्वरी, गहनापोखरी, कमलपोखरी, तथा वाग्मती, बल्खु, नख्खु र विष्णुमतीलगायतका नदी किनारहरूलाई सिंगारेर झकिझकाउ बनाइएको छ भने व्रतालुहरू शुद्धता र निष्ठापूर्वक पूजाको तयारीमा जुटेका छन्।