मङ्सिरको पहिलो हप्ताभित्रै निर्वाचन गर्न सरकार प्रतिबद्ध – रेग्मी

685 पटक पढिएको

सम्पादक: Dhadingnews.com

काठमाडौँ, १५ जेठ । मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीले संविधानसभाको निर्वाचन आगामी मङ्सिरको पहिलो हप्ताभित्रै गर्ने कुरामा सरकार प्रतिबद्ध भएर लागेको बताउनुभएको छ ।

गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज सैनिक मञ्च टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै अध्यक्ष रेग्मीले निर्वाचनका लागि सरकारले आफ्ना कामहरु केन्द्रित गरेको बताउनुभयो ।

“हामीलाई सुम्पिएको ऐतिहासिक दायित्वलाई सम्पन्न गर्न हामीले कुनै कसर बाँकी राख्ने छैनौं, छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्ने कार्यका लागि राजनीतिक दलहरुसँगको परामर्शलाई तिव्रता दिएका छौं”–अध्यक्ष रेग्मीले भन्नुभयो ।

सरकार बनेपछि निर्वाचन आयोग गठनको पूर्णतासँगै मतदाता नामावली र निर्वाचन आयोगसम्बन्धी अध्यादेशहरु जारी भएको, नागरिकता वितरण एवम् मतदाता नामावली सङ्कलन कार्य मुलुकमा उत्साहपूर्व भइरहेको र निर्वाचनमा शान्ति सुरक्षाको प्रत्याभूतिका लागि आवश्यक तयारी भइरहेको अध्यक्ष रेग्मीले बताउनुभयो ।

अध्यक्ष रेग्मीले निर्वाचनका लागि आवश्यक पर्ने व्यापक राजनीतिक आधार सिर्जना गर्ने कार्यका लागि राजनीतिक दलहरुसँग द्विपक्षीय, बहुपक्षीय र सर्वदलीय औपचारिक, अनौपचारिक परामर्श भइरहेको बताउँदै निर्वाचन मूलतः राजनीतिक प्रक्रिया भएकाले यस प्रक्रियामा सबैले भाग लिन सक्ने वातावरण बनाउन संविधानसभा निर्वाचनसम्बन्धी कानुनलाई अन्तिम रुप दिन सरकारले सघन अन्तक्र्रिया जारी राखेको छ भन्नुभयो ।

“निर्दिष्ट समयभित्रै संविधानसभाको निर्वाचन गर्नुपर्ने अपरिहार्यतालाई दृष्टिगत गर्दै निर्वाचन क्षेत्र निर्धारण आयोग तत्काल गठन गर्ने तथा छिटोभन्दा छिटो निर्वाचनको मिति तोक्न दलहरुसँगको परामर्शलाई तिव्रता दिइएको छ, आवश्यकताअनुसार यस कार्यमा सरकार उपयुक्त निर्णय लिई अगाडि बढ्न दृढ छ”–अध्यक्ष रेग्मीले भन्नुभयो ।

उहाँले राजनीतिक स्थायित्व कायम गर्न र सङ्क्रमणकालको शान्तिपूर्ण अवतरणका लागि एकमात्र उपाय भनेको संविधान निर्माण हो भन्दै अहिले संविधान निर्माणको सर्वस्वीकार्य माध्यम संविधानसभाको गठनका लागि स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र समावेशी ढाँचाको निर्वाचन प्रक्रियामा सक्रियताका साथ लाग्नुको विकल्प छैन भन्नुभयो ।

अध्यक्ष रेग्मीले निर्वाचन सम्पूर्ण नेपालीहरुका लागि भएको तथा राजनीतिक दलहरुलाई जनताबाट अनुमोदित हुने एकमात्र लोकतान्त्रिक र विधिसम्मत अवसर पनि हो भन्दै स्वतन्त्र, सार्वभौम, सुदृढ लोकतान्त्रिक राष्ट्र निर्माणका लागि संविधान निर्माणमा देशका सबै नागरिकको एकताबद्ध सहभागिता र उत्साहप्रद सहयोग आवश्यक भएको बताउनुभयो ।

“वास्तवमा ठूला राजनीतिक आन्दोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न नसक्नु हाम्रा लागि दुःखद स्मरण भए पनि वर्तमान समयमा आशावादी भई संविधानसभा र संविधासभामार्पmत संविधान निर्माण गर्ने दिशामा सक्रियतापूर्वक लाग्नुनै आजको महत्वपूर्ण आवश्यकता हो” –अध्यक्ष रेग्मीले भन्नुभयो ।

निर्वाचन गर्ने गुरुत्तर दायित्वका सँगसँगै सुशासन, शान्ति, स्थायित्व र विकासका लागि राज्यका तर्फबाट समुचित प्रयास गरिने बताउँदै अध्यक्ष रेग्मीले नेपालीका लागि आवश्यक पर्ने उपयुक्त सामाजिक तथा रानजीतिक वातावरण सिर्जना गरी शान्तिपूर्ण जीवनयापन गर्ने र विकासको चाहनालाई साकार तुल्याउने कार्यमा राज्यले हरसम्भव सक्रियता देखाउनै पर्दछ भन्नुभयो । रासस