डिल्लीराजसहित एमाओवादीका सयौँ एमालेमा, वैद्यका जिल्ला अध्यक्ष पनि एमालेमा

713 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Dilliraj-khanal-300x300काठमाडौँ, १४ चैत । अर्थविद डा. डिल्लीराज खनालले नेतृत्व गरेको राष्ट्रिय प्रगतिशील एकता मञ्चमा आबद्ध सयौँ नेता-कार्यकर्ता शनिबार एमालेमा प्रवेश गरेका छन् ।

शनिबार एमाले मुख्यालय बल्खुमा विशेष समारोहका बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले डा. खनालसहितका नेता कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य एवं प्रचार विभागका उपप्रमुख सूर्य थापाका अनुसार, एमाले फर्कनेमा अनेरास्ववियूका पूर्व केन्द्रीय उपाध्यक्ष नवराज पौडेल समेत हुनुहुन्छ । उहाँ अहिले एमाओवादी निकट अखिल क्रान्तिकारीका बहालवाला उपाध्यक्ष पनि हुनुहुन्छ ।

यसैगरी, एमाओवादीका केन्द्रीय सल्लाहकार बलराम सुवेदी पनि एमालेमै फर्किनु भएको छ । उहाँ एमाओवादीमा जानु अघि एमाले जिल्ला कमिटी धनुषाको उपसचिव हुनुहुन्थ्यो ।

यसैगरी, एमाओवादीका पुराना कार्यकर्ता हरिहर लामिछाने एमाले प्रवेश गर्नुभएको छ । उहाँका काठमाडौँ कलंकीका बासिन्दा हुनुहुन्छ ।

यसैगरी, वातावरणविद् मुरली गोपाल रञ्जितकार र डा सुशील श्रेष्ठ पनि एमालेमा प्रवेश गर्नुभएको छ । युद्धकालमा माओवादीका नेता तथा कार्यकर्ताको उपचारमा खटिएका डा. श्रेष्ठ अहिले एमाओवादीको राष्ट्रिय स्वास्थ्य संघका केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

यसैगरी, एमाओवादीको केन्द्रीय सहकारी फाँटका केन्द्रीय सदस्य राजेन्द्र बस्नेत र बुद्धिजीवि नानीराम केसी पनि शनिबारै एमाले फर्किनु भयो ।

मोहन वैद्य नेतृत्वको नेकपा–माओवादी अर्घाखाँचीका जिल्ला अध्यक्ष बाबुराम घिमिरे पनि शनिबार एमाले प्रवेश गर्नुभएको छ । उहाँसँगै एमाओवादी अर्घाखाँची जिल्ला सचिवालय सदस्य अमर न्यौपाने पनि एमाले प्रवेश गर्नुभयो ।

यसैगरी, चुरेभावर राष्ट्रिय एकता पार्टीका केन्द्रीय सदस्य कमलबहादुर खड्का पनि शनिबार एमाले प्रवेश गर्नुभएको छ ।

पार्टी प्रवेश कार्यक्रममा बोल्दै डा. डिल्लीराज खनालले आफ्नो नेतृत्वमा २० जिल्लाका ७ हजार नेता, कार्यकर्ता तथा समर्थक एमालेमा एकताबद्ध भएको बताउनुभयो । केन्द्रबाट एकताको सुरुवात भएकाले जिल्ला जिल्लामा पनि मञ्चलाई एकीकरण सुरु गर्ने उहाँले बताउनुभयो ।

एमाओवादीमा ठूलै आश्वासनका साथ लगिए पनि धोका दिएको भन्दै उहाँ गतबर्ष विराटनगरमा भएको एमाओवादीको राष्ट्रिय सम्मेलनपछि निस्क्रिय हुनुभएको थियो । त्यसलगत्तै उहाँले गएको भदौ २१ गते एमाओवादीभित्र एमालेको जनताको बहुदलीय जनवादलाई मान्नेहरुको विचार समूह बनाएर राष्ट्रिय प्रगतिशील एकता मञ्च खडा गर्नुभएको थियो । त्यतिबेला मञ्चको राष्ट्रिय सम्मेलनका लागि १ सय १ सदस्यीय आयोजक कमिटी बनाइएको थियो । मञ्चका अहिले २० जिल्लामा सञ्जाल छन् । यी सबै क्रमशः एमालेमा प्रवेश गर्ने सहमति भएको डा. खनालले जानकारी दिनुभयो । खनालसँगै निस्क्रिय बनेका एमालेका तत्कालिन केन्द्रीय सदस्य जितवीर लामा पनि केही दिनमै एमाले फर्कने तयारीमा हुनुहुन्छ । उहाँ पनि डा. खनालकै टिममा हुनुहुन्छ ।

नेकपा एमालेको अर्थ विभागमा लामो समय काम गरेका खनाल पूर्व सांसद एवं योजना आयोगका पूर्व सदस्य पनि हुनुहुन्छ । नेकपा एमालेमा रहँदा उहाँलाई भावी अर्थमन्त्रीका रुपमा प्रशंसा गरिन्थ्यो ।

एमाले प्रवेशपछि बोल्दै एमाओवादीका युवा नेता हरिहर लामिछानेले आफूहरु थोरैसंख्यामा एमाओवादीमा गए पनि अहिले ब्याजसहित फर्किएको बताउनुभयो । ‘हामी थोरै साँवासहित एमाओवादीबाट गएका थियौँ, धेरै ब्याजसहित आएका छौँ ।– उहाँले भन्नुभयो ।

नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भन्नुभयो, – ‘अब देश बनाउन सबै एमालेमा आउनुस्, यो व्यक्ति बनाउने बेला होइन्, देश र जनता बनाउने बेला हो, जसले जहाँबाट सकिन्छ देश बनाउन रथको डोरी तानौँ ।’ एमालेमा प्रवेश गर्नेहरुलाई पार्टीले उचित जिम्मेवारी दिने उहाँले बताउनुभयो ।

एमाले नेता माधवकुमार नेपालले डा. खनाल एमालेमै फर्किएकोमा आफूलाई खुसी लागेको बताउनुभयो । उहाँ ढिलो–चाँडो एमालेमै फर्किनेमा आफू पहिल्यैदेखि आशावादी रहेको उहाँले बताउनुभयो दैनिक नेपाल डट कमले खबर लेखको छ ।