प्रभु बैंकका अध्यक्षको जग्गा विप्लब माओबादीले कब्जा गर्‍यो – 

1525 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

Netra-Bikram-Chand

नेत्र विक्रम चन्द (बिप्लब) नेतृत्वको नेकपा माओवादी कार्यकर्ताले प्रभु बैंकका अध्यक्ष देवी भट्टचनको बागलुङ ढोरपाटन स्थित जग्गा कब्जा गरेका छन् ।

नेकपा माओवादी बागलुङ सेक्रेटरी विकिरण नेतृत्वको टोलीले बिहीबार ढोरपाटनको बोबाङ—९ मा रहेको भट्टचनको ८४ रोपनी जग्गामा पार्टीको झण्डा गाडेर कब्जा गरेको घोषणा गरेका हुन् ।

शक्तिको प्रयोग गरेर सर्वसाधारण र सरकारी जग्गालाई भट्टचनले आफ्नो नाममा दर्ता गरेकोले जग्गा कब्जा गरेको सेक्रेटरी विकिरणले बताए । विस २०३९ सालमा होमबहादुर भट्चन गाविस अध्यक्ष भएको बेलामा देवीले त्यहाँका दलित र तिब्बती शरणार्थी बसेको जग्गा आफ्नो नाममा पास गररेकोले कब्जा गर्नु परेको उनले उल्लेख गरे ।

कब्जा गरेको जग्गा जनताले भोगचलन गर्ने माओवादी निटकको राष्ट्रिय युवा जनस्वयंसेवक बागलुङका अध्यक्ष राम बहादुर कुँवरले बताए । जग्गाको मूल्य करिब ८४ लाख रुपैयाँ पर्छ ।

भट्टचनको जग्गामा जीर्ण अवस्थामा रहेको एक घर र स्याउको बोट छन् । भट्टचन बागलुङको तमानका बासिन्दा हुन् । जग्गामा पार्टीको झण्डा गाडेपछि माओवादीका जिल्ला नेताले स्थानीय ढोरपाटन सामुदायिक लजुमा कार्यक्रमको आयोजना गरी ढोरपाटनबासीलाई जग्गा कब्जा गर्नुको कारण बारेमा जानकारी गराएका थिए ।