मानवीय सेवामा समर्पित हुनुपर्नेमा जोड

539 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

prakashman ssinghधादिङ, – उपप्रधानमन्त्री एवम् सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले महाविपत्तिको वर्तमान घडीमा राजनीतिमा नभई मानवीय सेवामा सबै समर्पित हुनुपर्नेमा जोड दिनुभएको छ ।

धादिङको साङकोसमा विद्यालय भवन निर्माणमा खटिएका कञ्चनपुर काँग्रेसका स्वयम्सेवकहरूलाई सम्मान तथा बिदाई गर्दै उहाँले दुःख र पीडाले मुलुक मर्माहत भएका बेला राजनीतिबाट माथि उठेर मानव सेवामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

“दुःखमा परेकाहरूलाई साथ र सहयोग दिने बेला हो यो, सवै दल, सङ्घ संस्था तथा निकायले राजनीतिक स्वार्थबाट मुक्त भएर सेवा गर्नुपर्छ,” उपप्रधानमन्त्री सिंहले भन्नु भयो।

सिँचाइ मन्त्री तथा काँग्रेस केन्द्रीय सदस्य नारायणप्रसाद साउदले सीमित स्रोत र साधनबाट हालसम्म भएका कामप्रति सरकार सन्तुष्ट नभएको बताउँदै भन्नुभयो,–“ जनचाहनाअनुसार सरकारले गर्न सकेको छैन तर हामी जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ, राहत तथा उद्धार हाम्रो पहिलो प्राथमिकता हो । ”

सरकारको बाध्यता बुझन आग्रह गर्दै मन्त्री साउदले भूकम्पपीडितका लागि घोषित सहायताका कार्यक्रम शीघ्र जनताका घरदैलोमा आउने बताउनुभयो ।

नेपाली काँग्रेसका आमन्त्रित केन्द्रीय सदस्य यज्ञराज जोशी र जिल्ला सभापति तथा सभासद् बहादुरसिं थापाको नेतृत्वमा स्वयम्सेवामा खटिएको ४० जनाको टोलीले विद्यालयका टहरा, पीडितका लागि अस्थायी बास निर्माण, चर्केका घर भत्काउने तथा भग्नावशेष व्यवस्थापन गरेको थियो ।