ज्वालामुखीको सुख्खा डाँडामा पानी आएपछि गाउँले भए खुसी

1312 पटक पढिएको

१३ असार २०७४, मंगलवार १७:४९ सम्पादक: धादिङ न्यूज

19396849_1411795092235243_7997025362674561707_nधादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–५, खरीको रानीपोखरीमा जमिनमुनिबाट पानी निकालिएपछि गाउँले खुसी भएका छन्।

पानीको अभावले बिहानभरि पानी बोक्नुपर्ने बाध्यता आएको अवस्थामा सुक्खा डाँडामा पानीको धारा नै आएपछि गाउँलेमा खुसी छाएको खरी गाविसका पूर्वअध्यक्ष रामहरि पोखरेलले बताए।

लामो समयदेखि खरीमा पानीको समस्या भएपनि डिप बोरिङ गरी पानी निकालिएको थियो। डिटिएच रक डिलिङ कम्पनी र गाविस पूर्वअध्यक्ष पोखरेलले गाउँमा पानीको समस्या आएपछि चार लाख रुपैयाँ खर्च गरेर यन्त्र ल्याई पानी निकालिएको हो।

सुख्खा डाँडामा यन्त्रले डिप बोरिङका लागि खनेपछि १२० मिटर तल पानी भेटिएको थियो । पानी दीर्घकालीन रुपमा निकालेर गाउँवासीले प्रयोग गर्न सकून् भनेर २०५ मिटर तलबाट पानी निकालिएको छ। यसो गर्दा पानीको गुणस्तर राम्रो हुने र दीर्घकालीन रुपमा पानी पुग्ने कम्पनीले जिकिर गरेको छ।

हाल साढे ३ इन्च मोटो पाइपमा पानी निस्किएको छ। यसरी हेर्दा प्रतिघण्टा ३० हजार लिटर सफा पानी खानयोग्य हुने गरी बाहिर निकालिएकाले गाउँमा पानीको समस्या समाधान हुने पोखरेलको भनाइ छ।

रानीपोखरी, धुसेनीलगायत स्थानमा ५२० घरले सो पानी उपभोग गर्ने गरी ४० लाख रुपैयाँको लागतमा योजना निर्माण गर्ने योजना छ।

भूकम्पपछि गाउँमा पानीको हाहाकार भइरहेकाले धुसेनी कामीडाँडामा २५०, अम्बोटे पोखरीमा २००, भत्केको पौवामा २०० र अन्नपूर्ण घलेडाँडामा ३०० घरका लागि यसरी नै डिप बोरिङ गरेर पानी निकाली गाउँमा वितरण गर्ने योजना छ।

एक हप्ताको अनुभव हेरी कम्पनी र पूर्वगाविस अध्यक्ष पोखरेलले पानी ननिस्केमा व्यक्तिगत खर्च गर्ने र योजना सञ्चालन गर्ने गरी काम सुरु गरिएको छ। रासस