यस्तो छ धादिङमा नयाँ निर्वाचन क्षेत्रको प्रस्तावित खाका

13256 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ-संसदीय निर्वाचनका लागि तीनवटा निर्वाचन क्षेत्र रहेको धादिङ जिल्लामा अव केन्द्रिय ( संघीय ) प्रतिनिधि सभाका लागि  निर्वाचन क्षेत्र २ वटा  मात्रै रहने भएको छ । यसै गरी प्रदेश सभाका लागि भने ४ क्षेत्रको प्रस्ताव गरिएको छ ।
नेपालको संविधान २०७२ अनुसार केन्द्रिय प्रतिनिधि सभाका लागि  एउटा निर्वाचन क्षेत्रमा १ लाख ६० हजार जनसंख्या हुनु पर्दछ । जस अनुसार धादिङ जिल्लाको ३ वटा निर्वाचन क्षेत्रलाई २ वटामा  कायम गर्दा अवको निर्वाचन क्षेत्र कस्तो वन्ला भन्ने सबैको चासोको बिषय वनेको छ ।
धादिङ जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद धनवहादुर घलेका अनुसार संघीय कानून अनुसारको संघीय निर्वाचन क्षेत्र अर्थात केन्द्रिय प्रतिनिधि सभाका लागि प्रस्तावित १ नम्बर क्षेत्रमा साविकको लापा,रि, गुम्दी,फुलखर्क, मुलपानी, बसेरी, बुढाथुम,सल्यानकोट,आगिञ्चोक,त्रिपुरेश्वर, सल्यानटार,ज्यामरुङ, चैनपुर, खरी,ढोला, मैदी,मुरलीभञ्ज्याङ,नलाङ,सलाङ,कुम्पुर,जोगिमारा, धुषा, वेनिघाट,गजुरी, महादेवस्थान, पिडा र किराञ्चोक गरी २७ गाविस लाई समेटिने प्रस्ताव गरिएको छ । यस क्षेत्रमा १ लाख ६९ हजार १ सय ४२ जनसंख्या रहने छ ।
यसै गरी प्रस्ताव गरिएको  २ नम्बर क्षेत्रमा जिल्लाको १३ स्थानीय तह  मध्ये रुवीभ्याली गाउँपालिकामा रहेको साविकको सेर्तुङ,तिप्लिङ गाविसका साथै झार्लाङ,दार्खा, सत्यदेवी, मार्पाक,सेमजोङ,कटुन्जे, धुंवाकोट,साङकोष,नीलकण्ठ, खाल्टे,सुनौलावजार, कल्लेरी,बैरेनी,गोगनपानी,भुमेस्थान,केवलपुर, थांक्रे, तसर्पु, जिवनपुर,  नौविसे, छत्रेदेउराली गाविसलाई समेटेर एउटा निर्वाचन क्षेत्रको प्रस्ताव गरिएको छ । यस क्षेत्रमा पुराना २३ गाविस समेटिने छ भने कुल जनसंख्या १ लाख ६७ हजार २ सय ७९ रहने छ ।
20799436_1964519890498778_7005519585143264730_nप्रदेश सभाका लागि भने धादिङ जिल्लालाई ४ वटा निर्वाचन क्षेत्रमा विभाजन गरिने प्रस्ताव गरिएको छ । प्रदेश सभाका लागि प्रस्तावित गरिएको निर्वाचन क्षेत्रमा ८० हजार जनसंख्या हुनुपर्ने संविधानमा व्यवस्था भएकाले १ नम्बर  क्षेत्रमा रुवीभ्याली,खनियावास,नेत्रावती,त्रिपुरासुन्दरी र गंगाजमुना गाउँपालिकालाई समेटिने भएको छ । यस क्षेत्रको जनसंख्या ७९ हजार ९ सय २५ रहेको छ ।
प्रदेश सभाको २ नम्बर क्षेत्रमा जिल्लाको नीलकण्ठ नगरपालिका र ज्वालामुखी गाउँपालिकालाई प्रस्ताव गरिएको छ यस क्षेत्रको जनसंख्या ८२ हजार ४ सय ८१ रहेको छ । त्यसै गरी ३ नम्बर क्षेत्रको रुपमा सिद्धलेक,वेनिघाट रोराङ र गजुरी गाउँपालिकालाई प्रस्ताव गरिएको छ जस्को जनसंख्या ८२ हजार २ सय ८८ रहेको छ । चार नम्बर क्षेत्रको रुपमा गल्छी र थांक्रे गाउँपालिकाको साथै धुनिवेसी नगरपालिकालाई प्रस्ताव गरिएको छ । यस क्षेत्रको जनसंख्या ९१ हजार ७ सय २७ रहेको छ । सांसद घलेले प्रस्ताव गर्नु भएको यो खाकालाई अन्तिम रुप दिन जिल्लाका मुख्यदलहरु समेत सहमत देखिएका छन ।