आज हरिबोधिनी एकादशी, यस्तो छ महत्त्व

1010 पटक पढिएको

प्रकाशित मिति: २०७४, १४ कार्तिक मंगलवार ०६:५५

सम्पादक: धादिङ न्यूज

tulsi123_g7rQnrcylQकात्तिक १४, २०७४ काठमाडौं : हरिबोधिनी एकादशी अर्थात् ठूलो एकादशी। चार महिनाअघि अर्थात् आषाढ शुक्ल एकादशी (हरिशयनी)को दिन आँगनमा रोपिएको तुलसीको विवाह गर्ने पर्वको रूपमा यस दिनको महत्त्व छ। विशेषगरी वैष्णवहरूले यो पर्व धुमधामका साथ मनाउँछन्। भोलिपल्ट द्वादशीको दिन तुलसीको विशेष पूजनसँगै नवान्न (नयाँ अन्न) को हवन गरी चतुर्मासभरि विष्णु वा विष्णुप्रियाको रूपमा पूजा गरिएको तुलसीको पूजा विसर्जन गरिन्छ। पौराणिक मान्यताअनुसार आषाढ शुक्ल एकादशीको दिन क्षीर सागरमा सुतेका भगवान् विष्णु यसैदिन उठ्छन्। त्यसैले यो दिनलाई हरिबोधिनी एकादशी भनिएको पं.बालमुकुन्द देवकोटा बताउँछन्। ‘विष्णुको अर्को नाम हरि हो। शयनी अर्थात् सुत्ने। बोधिनीको अर्थ हुन्छ उठ्ने’, उनी भन्छन्, यसैले यी दुई एकादशीको महत्त्व विशेष छ।’विष्णुको सुत्ने दिन’ भविष्योत्तर पुराणमा अन्य एकादशीमा भन्दा यो दिन गरिने भगवान् विष्णुको उपासना बढी फलदायी हुने उल्लेख छ। भगवान् कृष्णले युधिष्ठिरलाई यो दिन गरिने स्नान, दान, तप आदि सबै कार्य अक्षय फलदायी हुने बताएका छन्। कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्मको अवधिलाई भीष्मपञ्चक पनि भनिन्छ। यो अवधिभर नेपालको प्रसिद्ध तीर्थस्थल वराहक्षेत्रमा मेला लाग्छ। भीष्मपञ्चकभरि भगवान् विष्णुको आराधना गर्नाले मनोकांक्षा पूर्ण हुने विश्वासका साथ काठमाडौं उपत्यकाका चार नारायण (चाँगु, विशंखु, इचंगु र शेष) लगायत बुढानीलकण्ठमा समेत भक्तजनको मेला लाग्छ। यस्तो महत्त्व छ, तुलसीको सनातन हिन्दु धर्मावलम्वीहरूको लागि तुलसी ज्यादै महत्त्वपूर्ण वनस्पति हो। वेददेखि पौराणिक ग्रन्थहरूमा तुलसीको महिमा बताइएको छ। हिन्दूहरुको देवकार्य एवं पितृकार्यका समेत तुलसीको प्रयोग अनिवार्य मानिन्छ। मानिसको अन्तिम अवस्था हुँदा पनि तुलसीको मठमा लगेर सुताउने चलन छ। पौराणिक ग्रन्थहरूमा कतै तुलसीलाई विष्णुको स्वरूप मानिएको छ भने कतै विष्णुप्रियाको रूपमा लिइएको छ। जेष्ठशुक्ल एकादशीको दिन तुलसीको बीजारोपण गरी आषाढशुक्ल पूर्णिमा अर्थात् हरिशयनी एकादशीको दिन आ–आफ्नो आँगनमा रहेको मठमा तुलसी विधिपूर्वक रोपण गरिन्छ। चतुमासभरि अर्थात् कार्तिक शुक्ल एकादशीसम्म पूजा गरी सोही दिन तुलसी विवाह गरी विसर्जन गरिन्छ। धार्मिक रूपले मात्र नभई तुलसीको आयुर्वेदिक दृष्टिले पनि उत्तिकै महत्त्व रहेको छ। हाम्रा आयुर्वैदिक ग्रन्थहरूमा तुलसीबाट गर्न सकिने उपचारहरूको बारेमा व्यापक रूपले उल्लेख गरिएको पाइन्छ। धन्वन्तरि, सुश्रुत, चरक आदि महान् आयुर्वेदका ज्ञाताहरूले तुलसीलाई बहुपयोगी औषधीको रूपमा प्रस्तुत गरेका छन्। सुरसा अर्थात् श्रेष्ठ रस भएको तुलसीको रस सौन्दर्यवर्धक हुन्छ। तुलसी उत्तम पित्तनाशक, कफनाशक, विषहर, वीर्यवर्धक, स्मृतिवर्धक औषधी हो। मुखगन्ध, गर्भरोग, अतिसार, कर्ण–दन्त–उदरशूल, वमन, मूत्ररोग, श्वासरोग, चर्मरोग, रक्तरोग, मुर्छालगायत सयौं रोगको लागि पनि अत्यन्त सरल किसिमबाट प्राप्त हुने तुलसीबाट गर्न सकिन्छ। आधुनिक विज्ञानले पनि अत्यधिक अक्सिजन फ्याँक्ने र अत्याधिक मात्रामै विद्युत् शक्ति भएको विरुवा भन्ने पत्ता लगाएको छ। तुलसीको मठ रहेको चारैतिरको हावा शुद्ध एवं स्वास्थ्यवर्धक हुने विज्ञानले पत्ता लगाएको छ। साथै तुलसीको विरुवाबाट निस्कने ग्यासका कारण आँखाले नदेखिने विषालु किटाणु दूर हुने तथ्य विज्ञानले प्रमाणित गरेको छ यो सामाग्री थाहा खबरबाट लिईएको हो ।



धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।

२०७४, १४ कार्तिक मंगलवार ०६:५५ मा प्रकाशित