धादिङमा एम्बुलेन्स अनुगमन तिव्र, एम्बुलेन्सको भाडादर सार्वजनिक
1642 पटक पढिएको

धादिङ- धादिङस्थित जिल्ला एम्बुलेन्स सेवा सञ्चालन समितिले एम्बुलेन्सको अनुगमनलाई तिव्रता दिएको छ। जिल्लामा रहेका एम्बुलेन्सहरुलाई नियमन गर्न र भाडादरमा एकरुपता ल्याउन समितिले अनुगमन अगाडि बढाएको हो।
समितिले किलोमिटरका आधारमा एम्बुलेन्सको भाडादर समेत तोकेको छ। तोकिएको भाडादार सबैले देख्नेगरि जिल्लाका प्रत्येक स्वास्थ्य संस्थामा सबैले देख्नेगरी राखिएको छ। समितिले कच्ची सडकमा प्रतिकिलोमिटर १ सय ७५ रुपैयाँ, ग्राभेल सडकमा प्रतिकिलोमिटर १ सय ५० रुपैयाँ र पक्की सडकमा प्रतिकिलोमिटर ५० रुपैयाँ भाडादार तोकेको छ।
यस्तै, धादिङबेसीदेखि १ किलोमिटर चक्रमा पर्ने स्थानका लागि २ सय भाडादर तोकिएको छ भने एम्बुलेन्स भित्र रहेको अक्सिजन ग्याँस प्रयोग गरेबापत प्रति सिलिन्डर १ सय रुपैयाँ समेत तोकिएको छ।
समितिका सदस्य सचिव तथा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश्वर श्रेष्ठका अनुसार समितिले धादिङका विभिन्न ५३ स्थानबाट काठमाडौं, भरतपुर, पोखरा र धादिङबेसीका लागि पनि भाडादर तोकेको छ।
समितिले ‘एम्बुलेन्स सेवा सञ्चालन निर्देशिका २०७३’ अनुसार एम्बुलेन्स दर्ता गर्ने, नविकरण गर्ने, एम्बुलेन्समा हुनुपर्ने उपकरण तथा सामाग्री भए÷नभएको अनुगमन गर्ने, निर्धारित भाडादर अनुसार बिरामीसँग भाडा लिए÷नलिएको अनुगमनलाई तिव्रता दिएको श्रेष्ठले जानकारी दिए।
मेडिकल टिम्स इन्टरनेसनलका प्रोजेक्ट म्यानेजर हिरा ताम्राकारका अनुसार समितिले हालसम्म १७ वटा एम्बुलेन्स दर्ता गरिसकेको र उनीहरुको नाम, चालकको नाम र मोवाइल नम्बर समेत सार्वजनिक स्थानमा सबैले पढ्न मिल्नेगरी टाँसिएको छ।
समितिले दर्ता प्रक्रियामा नआएका एम्बुलेन्सलाई प्रक्रियामा आउन पटक पटक सार्वजनिक सुचना समेत जारी गरिसकेको छ। ‘यसरी सार्वजनिक सुचना जारी गर्दासमेत प्रक्रियामा नआएका एम्बुलेन्सलाई कारबाही प्रक्रिया अगाडि बढाउन लागिएको छ,’ स्वास्थ्य कार्यालयका प्रमुख श्रेष्ठले भने।
निर्देशिका अनुसार जिल्लामा एम्बुलेन्सको अनुगमन, नियमन, दर्ता लगायतका कामका लागि प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा समिति गठन गरिएको हुन्छ। समितिमा जिल्ला प्रहरी कार्यालयका प्रमुख, डाक्टर, रेडक्रसका प्रतिनिधि, जिल्ला समन्वय समितिका कर्मचारी, एम्बुलेन्स सञ्चालन गरिरहेका संस्थामध्येबाट एक जना प्रतिनिधि सदस्य रहने व्यवस्था छ।
–
- स्वास्थ्य खबरपत्रिकाबाट
धादिङ जिल्लाको पहिलो अनलाइन खबर पत्रिका धादिङ न्यूज डट कम बिक्रम सम्वत २०७० साल जेठ २ गते तदनुसार सन २०१३ मे १६ देखि सञ्चालनमा आएको हो ।
२०७४, २२ फाल्गुन मंगलवार २२:०२ मा प्रकाशित