जेठ २५ र २६ गते थाक्रेमा राष्ट्रिय क्यानोनिङ्ग महोत्सव हुँदै

1294 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

नेपाल क्यानोनिङ एसोसियसनले आगामी जेठ २५ र २६ गते क्यानोनिङ महोत्सव आयोजना गर्ने भएको छ ।

धादिङको थाक्रे गाउँपालिका वडा नम्बर ६ स्थित रानी झरनामा छाँगा महोत्सव गर्न लागेको हो।

उक्त छाँगा महोत्सवका लागि जेठ २० देखि २४ गतेसम्म क्यानोनिङ गाइड तालिम हुने संघले जनाएको छ।

एसोसियसनले यसअघि सन् २०११ मा पहिलोपटक क्यानोनिङ महोत्सव आयोजना गरेको थियो ।

संघले पर्वतीय साहसिक पर्यटनको विकास र प्रवद्र्धन गर्ने उदेश्यले हरेक वर्ष छाँगावरोहण कार्यक्रम गर्दै आएको छ ।

सन् २०१३ देखि २०१७ सम्म प्रत्येक वर्ष भोटेकोशी, नुवाकोटको थानापाती र ककनीमा महोत्सव आयोजना गरिएको थियो ।

विश्वको साहसिक पर्यटक जमातलाई नेपालमा आकर्षित गर्न हरेक वर्ष छाँगावरोहण कार्यक्रम गर्ने गरेको अध्यक्ष राजेन्द्रबहादुर लामाले बताए।

उनले यस्तो कार्यक्रम आयोजना गर्दा क्यानोनिङ प्रोफेसनलहरुले एक आपसमा प्राविधिक ज्ञान साटासाट गरेर दक्षता हासिल गर्न पाउने बताए।

वार्षिक कार्यक्रम अनुसार यस वर्ष महोत्सव आयोजना गरिएको आयोजक लामाले जानकारी गराए।

महोत्सवमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्यानोन, पर्यटन व्यवसायी लगायतको सहभागीता रहनेछ । पाँच सय भन्दा बढी व्यक्ति महोत्सवमा सहभागी हुने दावी संस्थाको छ ।

नेपाल पर्यटन बोर्डको आर्थिक सहयोग र प्रर्वद्धनमा उक्त महोत्सव आयोजना हुन लागेको हो ।

महोत्सवको सम्पूर्ण तयारी पूरा भएको एसोसियसनले बताएको छ ।