धादिङ–त्रिपुरा बाराही महिला समूहमा पुनः सापकोटा

1189 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

पोखरा, २० भदौ –  धादिङ–त्रिपुरा बाराही महिला समूहको अध्यक्षमा पुनः हीराकुमारी सापकोटा चयन भएकी छन् । समूहको प्रथम अधिवेशनबाट अध्यक्षमा चयन भएकी सापकोटा धादिङ ज्यामरुङ निवासी हुन् ।

यस्तै समूहको प्रथम उपाध्यक्षमा यसअघि सचिवको भूमिका निर्वाह गरेकी ववीता मल्ल, द्वितीय उपाध्यक्षमा यसअघि कोषाध्यक्षको भूमिका निर्वाह गरेकी लक्ष्मीमाया थापा चयन भएकी छन् । प्रथम उपाध्यक्ष मल्ल ज्यामरुङ तथा द्वितीय उपाध्यक्ष थापा त्रिपुरासुन्दरी गाउँपालिका निवासी हुन् । यसैगरी समूहको सचिवमा यसअघिकी सहसचिव वृन्दा धरेल, सह–सचिवमा यसअघिकी सहकोषाध्यक्ष बुद्धलक्ष्मी श्रेष्ठ, कोषाध्यक्षमा अम्विका थपलिया पाण्डे र सहकोषाध्यक्षमा जुना श्रेष्ठ चयन भएका छन् । वृन्दा त्रिपुरासुन्दरी गाउँपालिका, बुद्धलक्ष्मी मुरलीभञ्ज्याङ, अम्विका धार्के तथा जुना मुरलीमञ्ज्याङ निवासी हुन् । यसैगरी समूहको सदस्यमा धादिङ ज्यामरुङ निवासी निर्मला पाठक, मीरा पाठक, मुरलीभञ्ज्याङ निवासी सावित्री लम्साल, नीलकण्ठ निवासी अनिता ढकाल, त्रिपुरासुन्दरी गाउँपालिका निवासी रेञ्जु थापा तथा बुढाथुम निवासी पार्वती न्यौपाने चयन भएका छन् ।

समूहका सल्लाहकार कृष्णकुमार श्रेष्ठ संयोजक तथा कृष्णबहादुर लम्साल र माधव लसाल सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयन गरेको हो । अधिवेशनको उद्घाटन गर्दै पोखरा–६ का वडाध्यक्ष जगतबहादुर पहारीले समूहले महिला सशक्तिकरणका लागि निकै प्रशंसनीय कार्य गरेको भन्दै समूहले गर्ने प्रत्येक गतिविधिले वडाले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । उनले वडामा बसोबास गर्ने सबै नागरिक समान भएकाले कसैलाई पनि काखा र पाखा नगरिने समेत स्पष्ट पारे ।

धादिङ–पोखरा सम्पर्क समाजका अध्यक्ष युवराज खतिवडाले धादिङका महिलाहरू आफ्ना श्रीमानको सहयोगीको रुपमा पोखरा आएको भए पनि सामाजिक क्षेत्रमा सक्रिय भएकोमा निकै खुशी लागेको बताए । उनले समूहलाई ५ हजार १ सय रुपैयाँ सहयोग गर्दै आगामी दिनमा पनि सहयोग जारी राख्ने बताए । समूहकी अध्यक्ष हीराकुमारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा सचिव ववीता मल्ल, सहसचिव बृन्दा धरेल, सहकोषाध्यक्ष बुद्धलक्ष्मी श्रेष्ठ, सल्लाहकार कृष्णकुमाार श्रेष्ठ, कृष्णबहादुर लम्साल, धादिङ–लेकसाइड पारिवारिक समाजका अध्यक्ष ईश्वर कुमार श्रेष्ठ लगायतले बोलेका थिए । विकृति विसंगति न्यूनीकरण गरी समुन्नत र सभ्य समाज निर्माण गर्ने उद्देश्यले १ वर्ष अघि गठित समूहमा हाल ७२ जना आवद्ध छन् । समूहले वृक्षरोपण तथा सरसफाइ गर्ने, मेला महोत्सवमा समूहगतरुपमा सहभागी हुने, भाइाचरा र सद्भाव कायम गर्न भ्रमण, भेला, वनभोज गर्ने, विभिन्न धार्मिक मेला तथा कार्यक्रममा सहभागी हुने, कानुनी साक्षरता, नेतृत्व विकास, घरेलु हिंसा, महिला हिंसा सम्बन्धी प्रशिक्षण सञ्चालन गर्ने लगायत भावी रणनीति अवलम्वन गरेको छ । यसैगरी वडाभित्रका आमा समूह, टोल विकास संस्था, युवा क्लव लगायत स्थानीय संघसंस्थासंग समन्वय गरी अघि बढ्ने, धादिङवासी महिलाको दुःख, पीर मर्कामा साथ दिने लगायतका काम अबको दिनमा गर्ने रणनीति समूहको छ ।