ताल्तीमा प्रथम पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

1162 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

वेनिघाटरोराङ – धादिङ जिल्लाको दक्षिणी भेगमा पर्ने वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर २ ताल्तीमा पहिलो पटक ताल्ती पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ । यहि कात्तिक २९ गते देखि मंसिर ३ गते सम्म ताल्तीको गौरीशंकर महादेव मन्दिरको प्राङ्गणमा ‘ताल्तीको दिगो विकास र अर्थतन्त्रको आधार, कृषि,जलश्रोत,संस्कृति, पर्यटन तथा उद्योगको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सवको आयोजना हुन लागेको हो ।

जनप्रिय इभेण्ट प्रा.लि.को आयोजना तथा वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ को सह आयोजनामा हुन लागेको महोत्सवलाई वेनिघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग रहने भएको छ । ताल्तीलाई पर्यटन र व्यापारिक केन्द्रको रूपमा विकास गर्ने यस क्षेत्रको मौलिक कला संस्कृतिको जर्गेना गर्ने, लोपोन्मुख अवस्थामा पुगेका चेपाङ समुदायको सांस्कृतिक पहिचानको खोजी गर्दै स्थानीय कला, संस्कृति र उत्पादनको प्रचार प्रसार गर्न महोत्सवको आयोजना हुन लागेको प्रथम ताल्ती पर्यटन तथा सांस्कृतिक महोत्सव मुल आयोजक समितिले जनाएको नेत्रावती अनलाइन डट कमले खबर लेखेको छ ।बेनिघाट गाउँपालिकाको ताल्ती, खैराङ,ब्रुसबाङ,कान्द्राङगढी,सुन्दरनाङ्गी, जरुङसिमटार, जस्ता क्षेत्रहरुमा पर्यटनको सम्भावना रहेकाले यसको पहिचानको प्रचार प्रसार गर्ने उद्धेश्यका साथ महोत्सव आयोजना गरिएको वेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ का अध्यक्ष टंकबहादुर थापाले वताउनु भयो ।
ताल्तीबाट बैकुण्ठ कैलाश हुंदै मकवानपुर जिल्लाको पर्यटकीय क्षेत्र पालुङ सम्म पुग्ने सडक सञ्जाल बिस्तार भएकाले यहि सडक मार्ग प्रयोग गरेर यस क्षेत्रको विविध कला, संस्कार, संस्कृति र लोकसंस्कृतिको अध्ययन गर्न सकिने आयोजकले जनाएको छ । पृथ्वीराजमार्गको मलेखुबाट एक घण्टाको यात्रा पछि पुग्न सकिने ताल्ती साविकको महादेवस्थान गाविसको केन्द्र समेत हो । धानखेतीका लागि प्रख्यात रहेको ताल्ती र यस आसपासका गाउँबस्तीमा व्यवसायिक सुन्तला खेती हुने गरेको छ । महोत्सवमा चित्राफुङ्गा, चेपाङ समुदायको खाद्यान्नका रुपमा रहेको गिठ्ठा, भ्याकुर, तरुल लगायतका कन्दमुल,स्थानीय उत्पादनको प्रदर्शनी, चेपाङ,तामाङ,मगर तथा क्षेत्री वाहुनहरुको विविध सांस्कृतिक झाँकी, राष्ट्रिय कलाकारको साथमा सांस्कृतिक कार्यक्रम,साना तथा घरेलु उत्पादनको प्रदर्शनी बिक्री वितरण, पर्यटन प्रवद्र्धन सम्वन्धि विविध कार्यक्रमहरु, स्थानीय, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय औद्योगिक बस्तुहरुको प्रदर्शनी तथा बिक्री पनि गरिने भएको छ । यसै गरी महोत्सवमा जिल्ला स्तरीय नृत्य प्रतियोगिता,स्थानीय जडिबुटीको प्रदर्शनी,बिक्री तथा जानकारी,आदिवासीहरुको भेषभुषा, रहन सहनको प्रदर्शनी,रमाईलो मेला वाल उद्यान र स्थानीय मौलिक खाना समेत आकर्षणको रुपमा रहने वताईएको छ । त्यसै गरी राष्ट्रिय तथा स्थानीय ख्याती प्राप्त कलाकारहरुबाट दैनिक सांस्कृतिक प्रस्तुति, लोपउन्मुख संस्कृतिको उजागर तथा जनचेतनामूलक कार्यक्रमको पनि आयोजना गरिने भएको छ ।
महोत्सवलाई बेनिघाट रोराङ गाउँपालिकाका साथै शान्ति नेपाल,फोकस नेपाल,प्रयास नेपाल,रिम्स नेपाल, उज्यालो यूवा समाज, ज्ञानज्योती युवा समाज, गौरीशंकर युवा क्लव, दियालो साना किसान कृषि सहकारी संस्था र गौरीशंकर सहकारी संस्था लगायतका संघ संस्थाहरुको सहयोग रहने वताईएको छ ।