पत्रकार महासंघ धादिङको २० औं बार्षिक साधारण सभा,धादिङका तीन पत्रकार पुरस्कृत,

1864 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ,२५ मंसीर – धादिङ जिल्लामा लामो समय देखि पत्रकारितामा कृयाशिल तीन जना सक्रिय पत्रकारहरु पुरस्कृत भएका छन । नेपाल पत्रकार महासंघ जिल्ला शाखा धादिङको मंगलवार धादिङबेसीमा सम्पन्न २० औं बार्षिक साधारण सभाको अवसर पारेर तीन जना पत्रकारलाई पुरस्कृत गरिएको हो ।
नेपाल पत्रकार महासंघ धादिङद्धारा स्थापना गरिएको विकास पत्रकारिता पुरस्कारबाट राष्ट्रिय समाचार समिति तथा नेपाल समाचार पत्रका धादिङ समाचारदाता सीताराम अधिकारी, कान्तिपुर टेलिभिजनका समाचारदाता पोषनाथ अधिकारीलाई पुरस्कृत गरिएको हो । यो पुरस्कारबाट यस अघि सीताराम वर्मा, शिव सिलवाल, केशव अधिकारी र मुरारी अधिकारी पुरस्कृत भईसकेका छन । यो पुरस्कार हरेक बर्ष प्रदान गरिने गरिएको छ । यसै गरी यहि बर्ष देखि स्थापना गरिएको पत्रकार शालिकराम वर्मा पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ धादिङ शाखाका संस्थापक सचिव एवम पुर्व अध्यक्ष राजेन्द्रप्रताप शाहलाई प्रदान गरिएको छ । महास्ंघ धादिङका संस्थापक सदस्य वर्माको स्मृतिमा उनको श्रीमती भवानी वर्मा र महासंघ जिल्ला शाखाले संयुक्त रुपमा सो पुरस्कार स्थापना गरेको हो । विकास पत्रकारिता पुरस्कारको राशी १० हजार  र शालिग्राम बर्मा स्मृती पुरस्कारको राशी ५ हजार रहेको छ ।
नेपाल सरकारका सूचना, संचार तथा प्रविधि मन्त्री गोकु्ल बाँस्कोटा,धादिङबाट संघीय सांसदद्धय भूमिप्रसाद त्रिपाठी,खेमप्रसाद लोहनी र नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेलले पुरस्कृत पत्रकारलाई दोसल्ला ओढाउनुको साथै,सम्मान पत्र र नगद दिएका थिए ।यसै गरी सामुदायिक रेडियो प्रसारकहरुको अन्र्तराष्ट्रिय संस्था अमार्कको एसिया प्यासिफिक उपाध्यक्षमा निर्वाचित सुवाष खतिवडालाई पनि दोसल्ला र कदर पत्रका साथ कार्यक्रममा सम्मान गरिएको थियो ।
नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष नवराज छतकुलीको अध्यक्षतामा भएको साधारण सभालाई सम्वोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि बाँस्कोटाले पत्रकारहरुले समाचार लेख्दा पुर्वाग्राही भएर होइन प्रभावकारी हुने गरी लेख्नु पर्ने वताएका थिए । सरकारले नेपाली मिडियाको विकास र पत्रकारहरुको हकहितका लागि केही काम शुरु गरेको र आगामी दिनमा अझै धेरै कार्यक्रमहरु ल्याउने तयारीमा रहेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए । सरकारको आलोचना गर्दा तथ्यपरक भएर समाचार लेखिदिन मन्त्री बाँस्कोटोको आग्रह थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ धादिङको संस्थागत विकासका निम्ति सहयोग गर्ने  जिल्ला समन्वय समिति धादिङका साथै १३ वटै स्थानीय तहरुलाई कदर पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभाका सांसदहरु डाक्टर रामकुमार अधिकारी,जगत सिम्खडा, पुर्व सांसद गुरुप्रसाद वुर्लाकोटी, जिल्ला समन्वय समिति धादिङका प्रमुख जगन्नाथ नेपाल, नेकपाका जिल्ला नेता विजय वुर्लाकोटी,नेपाली काँग्रेसका सभापति रमेश धमला , प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डे, नीलकण्ठ नगरपालिकाका प्रमुख भिमप्रसाद ढुंगाना,धुनिवेसी नगरपालिकाका प्रमुख बालकृष्ण आचार्य,गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्रबिक्रम बस्नेत,नेत्रावती गाउँपालिकाका अध्यक्ष दुर्गावहादुर शाक्य, गंगाजमुना गाउँपालिकाका अध्यक्ष वलवहादुर अधिकारीका साथै जिल्ला स्थित विभिन्न सरकारी कार्यालयका प्रमुख एवम प्रतिनिधि, संघ संस्थाका प्रतिनिधिहरुको लगायतको आतिथ्य रहेको थियो ।

यसै गरी  धादिङ जिल्लामा कृयाशिल पत्रकारहरुको सक्रियतामा स्थापना भएको धादिङ संचार सहकारी संस्था लि.को आठौं बार्षिक साधारण सभा पनि सम्पन्न भएको छ ।