देश विदेशका घलेहरु धादिङ जम्मा भएर मनाए ल्होसर

1408 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, १ माघ – देश विदेशका घलेहरु जम्मा भएर धादिङ जिल्लाको सदरमुकाम धादिडबेंसीमा घलेजातीको मौलिक सांस्कृतिक पर्व ल्होसर मनाएका छन् ।
पूर्व प्रधानमन्त्री एवम नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) को प्रमुख आतिथ्यमा भएको घले जातीको ल्होसर कार्यक्रममा ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जमकट्टेल, संघीय संसदका सांसदहरु खेमप्रसाद लोहनी,भूमीप्रसाद त्रिपाठी, पुर्वमन्त्री बुद्धिमान तामाङ, परशु्राम तामाङ,पुर्व सांसद गुरुप्रसाद वुर्लाकोटी,जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपालका साथै विभिन्न राजनैतिक दलका प्रतिनिधि,घले समुदायका अन्र्तराष्ट्रिय समितिका अध्यक्ष एवम प्रतिनिधिहरुसाथै विभिन्न क्षेत्रमा कार्यरत व्यक्तित्वहरुको आतिथ्य रहेको थियो ।
‘लिःल फङ् अभियान घले जातीको स्वाभिमान’ भन्ने मुल नाराका साथ धादिङ सहित देशका ३६ जिल्ला र मुलुक बाहिरका भारत,भुटान,युके,अमेरिका,युएई लगायत १६ वटा देशबाट आएका १० हजार घलेहरुको सहभागितामा धादिङबेसीमा ल्होसर मनाईएको आयोजकले जनाएको छ ।
घलेहरुले विभिन्न कार्यक्रमको आयोजना गरी (कुकुर वर्ग) को बिदाई गर्दै फाल्हो (मृग वर्ग) को स्वागत गर्दै घले जातिको ऐतिहासिक पर्व ल्होसर खि ल्हो मनाएका हुन । कार्यक्रममा घले जातिको जातिय चिनारी तथा पहिचान झल्काउने बिभिन्न नृत्य, झाँकीका साथै तथा गित संङ्गितहरु प्रस्तुत गरिएको थियो । धादिङवेसीमा जम्मा भएका घलेहरुले संस्कृति, पहिरन, तथा पहिचान झल्कने झाँकी,नृत्य र गित संगितका साथ सदरमुकाम धादिङबेसीमा प्रर्दशन गरेका थिए । ल्होसरको खुसीयालीमा घलेहरुले सोमबार गजुरीवजार देखि धादिङबेसी सम्म मोटर साईकल ¥याली निकालेका थिए ।
लिःल फङ (घले समाज)का केन्द्रिय अध्यक्ष दिनेश घलेले कार्यक्रममा ले देशका विभिन्न जिल्लामा छरिएर रहेका घलेहरुको आफ्नै जातीय भूगोल, भाषा, संस्कृति, पहिरन, तथा पहिचान हुँदा हुँदै पनि राज्यले आदिवासी जनजातीको समावेसी सूचीमा नराखेर अन्य आदिवासीका थर लेख्न बाध्य बनाएको भन्दै नेपाली घलेहरुले अन्य आदिवासी सरह समावेसी अधिकार पाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रमलाई सम्वोधन गर्दै नेकपाका अध्यक्ष दाहालले समावेसी संविधानले अझै पूर्णता नपाएकाले जनताको माग र समय सापेक्ष संविधान परिमार्जन र संशोधन हुँदै जाने बताए । अध्यक्ष दाहालले भने,‘अहिले मैले मात्रै भनेर सबै कुरा लागू हुने अवस्था छैन तर जातीय र सांस्कृतिक पहिचानका मुद्दा उठाई रहन भने पार्टी, सरकार, संसद र सरोकारवाला सवै पक्षलाई सल्लाह दिन म निरन्तर लागिरहनेछु ।’
आफ्नै जातीय र सांस्कृतिक पहिचान भएर पनि राज्यले कदर नगरेको र आदिवासी समावेसी सूचीमा नराखेको भन्दै सरकारको ध्यानर्षण गराउन घले समुदायले कार्यक्रमका प्रमुख अतिथी दाहाललाई ज्ञापन पत्र समेत बुझाएका छन् ।