धादिङका दुई बिद्यालय भवन बनाउन रोटरी क्लबको सहयोग

1359 पटक पढिएको

सम्पादक: धादिङ न्यूज

धादिङ, ३ फागुन – सामाजिक उत्तरदायित्व कार्यक्रम अन्र्तगत धादिङ जिल्लाका २ वटा बिद्यालय भवन निर्माणका लागि रोटरी क्लव अफ धादिङले आर्थिक सहयोग गर्ने भएको छ ।
रोटरी क्लवको सहयोगमा भवन निर्माण हुन लागेका बिद्यालयहरुमा जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा रहेको इजारा आधारभूत बिद्यालय र थांक्रे गाउँपालिका वडा नम्बर ६ मा रहेको जनजागृति माध्यमिक बिद्यालय रहेको छ । दुई बिद्यालयको भवन निर्माण गर्न रोटरीले प्रति बिद्यालय १६ लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ । भवन निर्माणका लागि दिईने रकम तीन किस्तामा उपलव्ध गराईने क्लवका धादिङ अध्यक्ष गोविन्द बुढाथोकीले जानकारी दिए ।
बुधवार धादिङबेसीमा एक कार्यक्रमका बिच भवन निर्माणका बिषयमा सम्झौता भई पहिलो किस्ता वापतको रकम ६ लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ । भवन निर्माणका लागि भएको दुई पक्षिय सम्झौता पत्रमा बिद्यालयको तर्फबाट इजारा आधारभूत बिद्यालयका व्यवस्थापन समितिका अध्यक्ष इन्द्रकुमार श्रेष्ठ र प्रधानाध्यापक अम्विका अधिकारीका साथै जनजागृति माविका अध्यक्ष गोकर्ण रुपाखेती र प्रधानाध्यापक लावणप्रसाद फुयाँलले हस्ताक्षर गरेका छन ।
स्थापना काल देखि विभिन्न जनचेतनामूलक कार्य गर्दै आएको रोटरीले सामाजिक उत्तरदायित्व निर्वाह गर्नेक्रममा रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ नेपाल भुटान इआरआरआरपि कार्यक्रम संग सहकार्य गरेर दुई वटा बिद्यालय भवन निर्माणमा सहयोग गरिएको क्लवका धादिङ अध्यक्ष गोविन्द बुढाथोकीले जानकारी दिए ।
योजना सम्झौता तथा पहिलो किस्ताको चेक हस्तान्तरण कार्यक्रममा क्लवका संस्थापक अध्यक्ष ध्रुववहादुर थापा, नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष होमनाथ रिजालका साथै क्लवका पदाधिकारीहरुको उपस्थिती रहेको थियो ।